कृषकलाई विद्युत् निःशुल्क गर्नुपर्नेमा किन थपियो भ्याट? कुलमानले उठाए सरकारमाथि प्रश्न



बिजमाण्डू
२०८३ साउन २३ गते ०७:३९ | Aug 8, 2026
कृषकलाई विद्युत् निःशुल्क गर्नुपर्नेमा किन थपियो भ्याट? कुलमानले उठाए सरकारमाथि प्रश्न


काठमाडौँ । पूर्वऊर्जामन्त्री कुलमान घिसिङले कृषि सिँचाइ र खानेपानी लिफ्टिङमा प्रयोग हुने विद्युतमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णय फिर्ता लिन माग गरेका छन्।

Tata
GBIME

घिसिङले सामाजिक सञ्जालमार्फत गम्भीर प्रश्न उठाउँदै अत्यावश्यक क्षेत्रमा विद्युत्मा सहुलियत दिनुपर्नेमा उल्टै भ्याट लगाउने सरकारको निर्णय गलत भएको बताएका हुन्। उनले कृषि सिँचाइमा विद्युत् निःशुल्क गर्नसमेत सकिने धारणा राखेका छन्।

उनले अनुसार आफू प्राधिकरणको कार्यकारी निर्देशक हुँदा सिँचाइको डिमाण्ड शुल्क छुट गरेर विद्युत् महसुल प्रतियुनिट करिब ७ रुपैयाँबाट घटाएर करिब २ रुपैयाँ कायम गरिएको स्मरण गराएका छन्। यस्तै सामुदायिक खानेपानी लिफ्टिङको डिमाण्ड शुल्क छुट गरेर प्रतियुनिट करिब ९ रुपैयाँबाट ४ रुपैयाँ २० पैसा कायम गरिएको उनले बताएका छन्।

‘कृषि सिँचाइको लागि विद्युत् निःशुल्कै गर्दा पनि हुन्छ। यस्ता अत्यावश्यक क्षेत्रमा सहुलियत दिनुपर्नेमा उल्टै १३ प्रतिशत भ्याट लगाउने सरकारको कदम गलत छ,’ घिसिङले भनेका छन्।

कृषकले मल, बीउ, ज्याला तथा कृषि यन्त्रको भाडालगायत लागत निरन्तर बढिरहेको अवस्थामा विद्युतमा समेत भ्याट थपिँदा उत्पादन लागत बढ्ने उनको भनाइ छ। लिफ्ट सिँचाइबिना खेती गर्न नसकिने अवस्था रहेकाले यस्तो विद्युतमा कर लगाउँदा कृषक थप मारमा पर्ने उनले बताएका छन्।

सामुदायिक खानेपानीमा समेत विद्युत् प्रयोग हुने भएकाले लिफ्ट गरेर पानी वितरण गर्ने आयोजनाको लागत बढ्ने घिसिङको भनाइ छ। ‘कृषकले लिफ्ट सिँचाई नगरी खेती गर्न सकिँदैन । गाउँगाउँमा पानी लिफ्ट नगरी खानेपानी पिउन कठिन छ,’ उनले लेखेका छन्।

घिसिङले घरायसी विद्युत् खपतमा समेत भ्याट लगाउनुको सट्टा सरकारले विद्युत् प्रयोग बढाउन प्रोत्साहन गर्नुपर्ने बताएका छन्। पछिल्लो समय ग्यासको अभाव देखिएको उल्लेख गर्दै उनले विद्युतीय चुल्होको प्रयोग बढाउने योजना ल्याउन सरकारलाई सुझाव दिएका छन्।

‘ग्यास सिलिण्डर होइन अब इन्डक्सन चुल्हो बाँड्ने स्किम सरकारले ल्याउनु पर्छ। देशमा उत्पादित विद्युत् खेर फाल्ने अनि ग्यासमा लाइन लगाउने। यो कस्तो विडम्बना,’ उनले भनेका छन्।

नेपालको विद्युत् पूर्वाधारले इन्डक्सन चुल्होको प्रयोग र विद्युतीय सवारीसाधनको चार्जिङ बढे पनि धान्न सक्ने अवस्थामा रहेको घिसिङको दाबी छ। केही प्राविधिक समस्या आए पनि तत्काल समाधान गर्न सक्ने क्षमता प्राधिकरणले विकास गरिसकेको छ।

आफ्नो घरमा भान्सा र गाडी दुवै विद्युतबाट चल्ने उल्लेख गर्दै उनले विद्युतीय उपकरणको प्रयोग बढाउँदा देशलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ लैजान तथा विदेशी मुद्रा सञ्चिति बढाउन सहयोग पुग्ने बताएका छन्। घिसिङले सरकारलाई विद्युतमा लगाएको भ्याट तत्काल फिर्ता लिन माग गर्दै त्यसको सट्टा डेडिकेटेड तथा ट्रंक लाइनको अर्बौं रुपैयाँ बक्यौता उठाउन तत्काल कदम चाल्न आग्रह गरेका छन्।