काठमाडौं। विपक्षी दलहरुले सुनसरी घटनाको छानबिन गर्न न्यायिक समिति गठनको माग गरेका छन्।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपालि कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीका सांसदले न्यायिक समिति गठन गरेर छानबिन गर्न माग गरेका हुन्।
कांग्रेसका सचेतक निश्कल राईले घटनाको कारण, सुरक्षा कमजोरी, अफवाह लगायत विषयमा निष्पक्ष छानबिनका लागि न्यायिक समिति गठन गरिनुपर्ने बताए।

उनले प्रधानमन्त्रीको नेतृत्वमा स्थायी प्रकृतिको सर्वदलीय सर्वधार्मिक र नागरिक संवाद संयन्त्र गठन गर्न पनि माग गरे।

एमाले सांसद गुरु बरालले प्रधानमन्त्री र गृहमन्त्रीले घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठनको माग गरे।

नेकपाकी सांसद बलावती शर्माले सुनसरीको देवानगन्ज र त्यसपछि मधेसमा फैलिएको आन्दोलनको सत्यतथ्य पत्ता लगाउन विश्वसनीय आयोग गठन गर्न माग गरिन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि घटनाको सत्यतथ्य छानबिन गरिनुपर्ने बताए। उनले आइन्दा यस्ता घटना हुन नदिन सरकारले सजगतापूर्वक काम गर्नुपर्ने पनि बताए।

‘त्यस्तो घटना हुन नदिन सरकारले प्रोएक्टिम भएर काम गर्नुपर्छ। सरकारले बेलैमा ध्यान नदिएका कारण केही मानिसको ज्यान गयो,’ उनले भने।
साउन १० गते सुनसरीको देवानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको विवाद नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ। त्यस्तै सिरहामा पनि एक जनाको मृत्यु भएको थियो।










