राजु पाण्डेले ब्यारेकको पर्खाल भत्काउन लगाएपछि प्रधानमन्त्रीसँग समय लिएर भेट्न पुगे प्रधानसेनापति



बिजमाण्डू
२०८३ साउन १९ गते १३:०० | Aug 4, 2026
राजु पाण्डेले ब्यारेकको पर्खाल भत्काउन लगाएपछि प्रधानमन्त्रीसँग समय लिएर भेट्न पुगे प्रधानसेनापति


काठमाडौं । नेपाली सेनाका सेना प्रमुख अशोकराज सिग्देलले आज प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेका छन्। मंगलबार बिहान सेना प्रमुखले प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर शाहलाई भेटेको सैनिक मुख्यालय स्रोतले जानकारी दिएको छ।

Tata
GBIME

अन्य समयमा नेपाल प्रमुख र प्रधानमन्त्री भेट्नु सामान्य नै विषय हो। तर खासै भेटघाट नरुचाउने प्रधानमन्त्री शाह र सेना प्रमुखको भेटलाई विभिन्न कोणबाट हेरिएको छ।

सेनापति सिग्देलले आज प्रधानमन्त्रीसँग समय लिएर भेट्न पुगेका थिए। यसअघि पनि सिग्देलले शाहलाई भेट्न खोजेको तर समय नपाएको भन्ने विषय चर्चामा थियो।

तराईका जिल्लामा पछिल्लो समय देखिएको घटनाक्रम, लगायत समसामयिक विषयमा आज शाह र सिग्देलबीच छलफल भएको हुन सक्ने आंकलन गरिएको छ।

त्यस्तै, आज सिग्देलले शाहलाई भेट्न पुग्नुमा गोकर्णमा रहेको सैन्य ब्यारेकको पर्खाल भत्काइएको विषय पनि मुख्य कारण रहेको बताइन्छ।

गोकर्णमा रहेको सेनाको ब्यारेकसँगै जोडिएको पर्खाल रास्वपा सांसद राजु पाण्डेको उपस्थितिमा भत्काउन लगाइएको थियो। पाण्डेले त्यहाँ रहेका सैनिकसँग गरेको सवालजवाफ गरेको विषय अहिले सामाजिक संजालमा भाइरल छ।

क्याप्टेन अमिरमान श्रेष्ठले पर्खाल नभत्काउन आग्रह गर्दा पाण्डेले करिडोरको बाटो खोल्न कसैलाई सोध्न पर्दैन र ब्यारेकको सुरक्षाभन्दा जनता ठूलो भन्ने तर्क गरेका थिए।

पाण्डे एक्कासी डोजर लिएर पुगेको र सैनिकसँग सुरक्षाको विषयमा सवालजवाफ गरेको अहिले उनको आलोचना भइरहेको छ।

‘हामीले सम्बन्धित निकायमा यसबारेमा कुरा गरिरहेका छौं। उहाँहरुले किन एक्कासी आउनु भयो। यसले वन्यजन्तुदेखि अन्य विषयमा पनि केही असर गर्छ,’ नेपाली सेनाका एक अधिकृतले भने।