काठमाडौं। सभापति गगन थापाले एकताको कुनै छनक नदिएको भन्दै नेपाली कांग्रेसको संस्थापनइतर समानान्तर समिति बनाउने तयारीमा जुटेको छ।
पूर्वसभापति शेरबहादुर देउवाको समूहका नेताहरुले काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा यसबारे छलफल तीब्र पारेका छन्।
विशेष महाधिवेशनबाट सभापति बनेका गगनलाई देउवा पक्षका नेताहरुले केन्द्रीय समितिमा अटाउन यसअघि पाँच बुँदे प्रस्ताव अघि सारेको थिए। तर थापाले इतरको मागबारे कुनै सुनुवाइ गरेका छैनन्।
थापाले एक कदम अघि बढेर विशेष महाधिवेशनलाई साथ दिएका गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता घोषणा गरिदिए। गगनको पछिल्लो गतिविधि हेर्दा एकताको सम्भावना निकै कमजोर बन्दै गएको संस्थापनइतरका नेताहरु बताउँछन्।
‘हामी सात महिनादेखि एकताको पर्खाइमा छौं। कुनै सुनुवाइ छैन। तैपनि हामी साउन २९ गतेसम्म पर्खन्छौं’ संस्थापनइतरका नेता मीन विश्वकर्माले भने।
गगन नेतृत्वको कांग्रेसले असोज १६ गते महाधिवेशन गर्ने तयारी गरेको छ। संस्थापनइतरले भने वृहत एकता खोजेको छ।
यस विषयमा सहमति नजुटे संस्थापनइतरले महाधिवेशन गर्ने र सभापतिमा डा. शशांक कोइरालालाई अघि सार्ने तयारी गरेको छ। राष्ट्रिय भेलाका लागि शनिबारमात्र शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय आयोजक समिति गठन गरिसकेको छ।

यसअघि इतर पक्षमा डा शेखर कोइरालालाई नेतृत्वमा अघि बढ्न आग्रह गरेको थियो। तर डा शेखर अहिले विराटनगरमा छन्। पार्टीको विषयमा मौन छन्। डा शेखरले भने शशांकलाई नै नेतृत्वमा अघि सार्ने तयारी गरेको बताइएको छ।
इतर पक्षले राष्ट्रिय भेला आयोजक समिति गठन गर्दा समेत शेखर उपस्थित भएनन्। शेखरको अनुपस्थितिबारे सोधिएको प्रश्नमा शशांकको जवाफ थियो, ‘शेखर दाइसँग मैले पटकपटक अनुरोध गरे। तर उहाँ व्यस्त भएकोले आउनुभएन। मेरो सहमति छ भन्नुभएको छ।’
यसअघि इतर पक्षमा सक्रिय रहेका शेखर मौन बस्नु डा शशांकलाई समर्थन रहेको बताइएको छ। शशांक स्रोतले पनि यसबारे पुष्टि गर्दै उनी देउवा पक्षको सभापति बन्न तयार रहेको बताए। ‘साथीहरुले उहाँलाई प्रस्ताव गर्नुभएको हो। वृहत एकता नभए नेतृत्व गर्न उहाँ राजी हुनुहुन्छ,’ शशांक स्रोतले भन्यो।
यसका लागि साउन २९ गतेको राष्ट्रिय भेलाले निर्णय गर्ने नेता विश्वकर्मा बताउँछन्। राष्ट्रिय भेलामा पूर्वसभापति देउवा आइपुग्ने र उनको संरक्षकत्वमा नयाँ पार्टी घोषणा हुने सम्भावना बलियो हुँदै आएको नेताहरु बताउँछन्। संस्थापनइतरले भेलामा आफू पक्षका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि डाक्ने भएको छ।
देउवा समूहको यो निर्णयसँगै साउन २४ गतेका लागि सभापति थापाले केन्द्रीय समिति डाकेका छन्। यसअघि गगनले इतर पक्षका नेताहरु तितरवितर बनाउने प्रयास गरेको थियो। यो कार्यसमिति बैठकमा राष्ट्रिय भेला रोक्ने गरी केही निर्णय हुनसक्ने संस्थापन पक्षका नेताहरु बताउँछन्।
देउवाको रोजाइ साउद!
कांग्रेस संस्थापनइतरमा युवा समूहले भने पछिल्लो परिस्थिति अनुसारको युवा नेतृत्व चाहिने माग अघि सारेका छन्। यसका लागि सभापतिमा एनपी साउद तयार रहेको देउवा पक्षकै नेताहरु बताउँछन्। ‘देउवाले एनपी साउद दाइलाई सभापति दिन तयार हुनुभएको छ। युवा नै नेतृत्व बन्ने ट्रेन्ड रहेकोले साउद सभापतिका लागि योग्य पात्र हुन्,’ देउवा निकट एक नेताले भने।

साउद नेतृत्व सम्हाल्न तयार रहेको आफू पक्षका नेताहरुसँग बताउँछन्। देउवा समूहका साउद पछिल्लो समय शेखर समूहमा सक्रिय थिए। यो बीचमा किशोरसिंह राठोरले पनि नेतृत्वमा दाबी गरेका थिए।
राष्ट्रिय भेला संयोजनको जिम्मेवारी प्रकाशमान सिंहले पाएको यो समूहमा पूर्वसभापति पूर्णबहादुर खड्कासहित, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, शंकर भण्डारी, एनपी साउद, मोहन बस्नेत, जितजंग बस्नेतलगायत नेताहरुको लर्को छ।
महरको टोली संस्थापनसँग बार्गेनिङमा
कांग्रेस फुट्ने संकेत पाएसँगै मिलाउने नाममा नैनसिंह महरले संस्थापनमा बार्गेनिङ बढाएका छन्। यसका लागि महरले साउन २० गते भेला युवा नेताहरुको भेला डाकेका छन्।
फागुन २१ गते देउवाको निर्वाचन क्षेत्र पुगेर निर्वाचन लडेका महरले गगनसँग सहमहामन्त्री मागेका छन्। ‘नैनसिंह महरको माग सहमहामन्त्री हो। तेस्रो धारको भेला सफल भए महरको माग पुरा हुन्छ होला,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने।
आइतबार नयाँ बानेश्वरमा ‘देश र कांग्रेस जोड्ने अभियान’ बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महरले आफूसँग ३४ जना पूर्वकेन्द्रीय सदस्य साथमा रहेको बताएका छन्।

इतर पक्षले गगनसँग १४औं महाधिवेशनबाट बनेको केन्द्रीय समितिका १११ जना पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई गगनको कार्यसमितिमा समेट्न माग गरेका थिए। पार्टी एकताका लागि ती मध्ये ३५ जनालाई पद नचाहिने महरले बताए। ‘हामी ३५ जना केन्द्रीय सदस्य नबसेर बरू पार्टी एकताका पक्षमा उभिन्छौं, बाँकीलाई सभापतिजीले मिलाउनुस्,’ महरले भने।
गगनले देउवा समूह अलग्गिने संकेत पाएसँग महरको साथ खोजेको बताइएको छ। गगनले ठाउँ नदिए संस्थापनइतर भने शंख चिन्हका साथ शेखर, शशांक वा साउदको नेतृत्वमा नयाँ पार्टी खोल्ने गरी तयारी अघि बढाइसकेको छ।









