काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले गभर्नर डा. विश्व पौडेलसँग नियमित अन्तरालमा भलाकुसारी गरिरहेका हुन्छन्। धेरैसँग भेट्नसम्म परहेज गर्ने प्रधानमन्त्री शाह पौडेलसँग लामो समयसम्म गफिने गरेका छन्।
आफ्नै क्याबिनेटका मन्त्रीलाई छाडेर गभर्नर पौडेलसँगको भेटघाटले डा. स्वर्णिम वाग्लेको संशय बढाएको छ। ‘लाइन मिनिस्ट्री’ ले सञ्चार माध्यममा आएपछि मात्र प्रधानमन्त्रीसँग गभर्नरको भेट भएको थाहा पाउने गरेको छ।
जानकारहरुका अनुसार अर्थमन्त्री वाग्लेबाट अर्थतन्त्र अगाडि बढ्न नसक्ने र आफूसँग बफादार पनि नरहने निष्कर्षमा पुगेका प्रधानमन्त्री शाहले आफ्नो खेमाको अर्थशास्त्रीका रुपमा डा. विश्वनाथ पौडेललाई अगाडि बढाउन खोजेको हुन्।
नेपाल राष्ट्र बैंकका गभर्नरसमेत रहेका पौडेलसँग बाक्लो र लामो संवाद गर्न रुचाउने प्रधानमन्त्री शाहले अर्थमन्त्रीका केही गतिविधिहरुबाट सशंकित हुन थालेको स्रोतले बतायो।
बजेटमा लिइएका कतिपय नीतिका कारण सरकार आलोचित भएको, कामभन्दा बढी गफ गर्दै हिँडेको, प्रधानमन्त्रीभन्दा पनि पार्टी सभापति अनुकुल काम गर्ने गरेकोप्रति शाहलाई चित्त बुझिरहेको छैन। आर्थिक क्षेत्रका कतिपय नियुक्तिहरु पनि विवादमा परेको, निजी क्षेत्रलाई विश्वासमा लिन नसकेको जस्ता विषयमा पनि प्रधानमन्त्री शाह अर्थमन्त्री वाग्लेसँग खुसी छैनन्।
त्यही भएर उनले गभर्नर पौडेललाई आफ्नोतर्फको अर्थशास्त्रीका रुपमा अगाडि बढाउन खोजेका हुन्। यसबीचमा वाग्लेको मुख्य तीन वटा गतिविधि प्रधानमन्त्री शाहलाई चित्त बुझेको छैन।
पहिलो, शिक्षा, स्वास्थ्य र बिजुलीमा लगाएको करका कारण सरकार आलोचित भयो। पछि शिक्षा र स्वास्थ्यको समता शुल्क प्रधानमन्त्रीले खारेज गरिदिए। धनीबाट उठाएर गरिबको शिक्षामा खर्च गर्ने भन्दै अर्थमन्त्रीले शाहलाई आश्वस्त पारेका थिए। तर, यही नीतिका कारण सरकार निकै आलोचित भयो। आफूलाई गतल हिसाबले शिक्षा र स्वास्थ्य करका बारेमा व्याख्या गरिएको प्रधानमन्त्रीको बुझाइ छ।
दोस्रो, पार्टी सभापति रवि लामिछानेसँगको विशेष निकटता। मधेसमा द्वन्द्व चर्किएपछि उनी प्रधानमन्त्रीलाई जानकारी नै नगराइ सभापति लामिछानेले डाकेको सर्वदलीय बैठकमा सहभागी भए। यो बैठकका बारेमा सभापतिले प्रधानमन्त्रीसँग परामर्श पनि गरेका थिएनन्। मधेस द्वन्द्वका कारण सरकार एकदमै अप्ठेरोमा परेका बेला लामिछानेले प्रधानमन्त्रीसँग छलफल नै नगरी बैठक डाकेको शाहलाई मन परेको छैन।
उनले मधेसबादी दलका नेताहरुसँग यस बारेमा कुराकानी पनि गरे। उनले आफ्नै पार्टीको अर्को पक्षले मधेस द्वन्द्वको फाइदा उठाउन खोजेको बताएका छन्।

तेस्रो, प्रधानमन्त्री शाहले असारको २४ गतेदेखि निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल थालेका थिए। उनले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधीदेखि सेयर बजारका प्रतिनिधिहरु, जुत्ता व्यवसायीदेखि निर्माण क्षेत्रका व्यवसायीसम्मलाई बोलाएर छलफल थालेका थिए।
प्रधानमन्त्रीले भेटेका उद्योगी व्यवसायीका बारेमा अनुसन्धान गर्न अर्थमन्त्री वाग्लेले आफू मातहतका निकायलाई भनेको सूचना शाहलाई पुगेको छ। यसबाहेक प्रधानमन्त्रीले निजी क्षेत्रसँग संवाद गरिरहेका बेला अचानक अर्थमन्त्रीले तीन दर्जन व्यवसायीलाई डाकेर बजेट बारेमा छलफल गरेका थिए। वाग्लेले समानान्तर रुपमा गतिविधि गरेको बुझाइ प्रधानमन्त्रीको छ।
‘त्यही भएर एउटा सक्षम अर्थशास्त्री आफूलाई चाहिएको महसुस प्रधानमन्त्रीलाई भएको हो,’ जानकार स्रोतले भन्यो, ‘सचिवालयसँग पहिलेबाटै निकट रहेको र आम छवि पनि राम्रो भएका हिसाबले गभर्नरलाई उहाँले आफ्नोतर्फको अर्थशास्त्रीका रूपमा लिनु भएको छ जस्तो लाग्छ।’
सांसद विदुषी राणाको पहलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रका छाता संगठनहरुका प्रतिनिधिहरुसँग छलफल गरेका थिए। त्यसको केही दिनमा गभर्नरले प्रधानमन्त्रीसँग भेट्ने समय मागेका थिए।
भेटमा प्रधानमन्त्रीले सेयर बजारका बारेमा चिन्ता लिएको भन्ने समाचारहरु प्रकाशित भए। प्रधानमन्त्री शाहसँग गभर्नरको भेटपछि सेयर बजारमा केही उत्साह पनि देखियो। स्रोतका अनुसार, त्यहाँ सेयर बजारको मात्र कुराकानी भएको थिएन।
गभर्नरले प्रधानमन्त्रीसँग निजी क्षेत्रको मनोबल उकास्ने काम गर्नु पर्ने बताएका थिए। ‘प्रधानमन्त्री भनेको घरको मूली हो। उसले नै केही पर्यो भने म छु, सम्पत्तिको सुरक्षा म गर्छु भनेर भन्नु पर्छ,’ गभर्नरले प्रधानमन्त्रीलाई भनेको विषय उल्लेख गर्दै जानकार स्रोतले भन्यो, ‘यही कुरा अरुले भनेको खासै महत्त्व राख्दैन। त्यसैले प्रधानमन्त्रीज्यूबाटै मनोबल उकास्न नेतृत्व लिनुपर्छ।’
नभन्दै प्रधानमन्त्रीले गभर्नरसँग भएको छलफल लगत्तै विभिन्न क्षेत्रका व्यवसायीसँग निरन्तर छलफल गरिरहेका छन्। मधेसमा अचानक द्वन्द्व चर्केपछि अहिले त्यो रोकिएको छ।
‘हामीलाई पनि प्रधानमन्त्रीसँग भेट्ने गभर्नर साबले भन्नुभएको छ। म आफैं पनि पहल गरिदिन्छु भन्नु भएको छ,’ घरजग्गा व्यवसायी संघका अध्यक्ष ध्रुव घिमिरेले भने। संघका प्रतिनिधिसँग गभर्नरले बालुवाटार कार्यालय डाकेर छलफल गरेका थिए। त्यतिबेलै निजी निर्माणमार्फत अर्थतन्त्रलाई लयमा फर्काउन सकिने बारे छलफल भएको थियो।
गभर्नर पौडेलको निकटता प्रधानमन्त्रीसँग झाङ्गिदै गएको अर्थमन्त्री वाग्लेको जानकारीमा छ। उच्च स्रोतका अनुसार, अर्थमन्त्रालयमा हुने एकदमै महत्त्वपूर्णबाहेकका छलफलमा गभर्नर खासै उपस्थित हुँदैनन्। कार्यकारी निर्देशक वा डेपुटी गभर्नरहरुले नै अर्थमन्त्रीसमेत सहभागी हुने मन्त्रालयका छलफलमा उपस्थिति जनाउँछन्।
नियामकसहितको छलफलमा गत बुधबार भने गभर्नर मन्त्रालय पुगेका थिए। अर्थमन्त्रीकै अगाडि मन्त्रालयका अधिकारीहरुले गभर्नरलाई ‘धेरै डुल्न बन्द गर्नुस्’ भनेका थिए। पौडेललाई अर्थमन्त्रीको इसारामा ‘गभर्नर भन्ने पद डुल्नका लागि होइन’ भनिएको बुझाइ पौडेलतर्फको छ।
गभर्नर पौडेल र अर्थमन्त्री वाग्ले कुनै बेलाका मिल्ने साथी हुन्। तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणासँग नजिक हुने प्रतिस्पर्धाले सम्बन्ध बिग्रिएको उनीहरु निकट बताउँछन्। २०७९ को निर्वाचनमा स्वर्णिमका ठाउँमा विश्वलाई कांग्रेसले टिकट दिएपछि सम्बन्ध थप बिग्रिएको थियो।
बिग्रिएको सम्बन्ध मिल्ने सम्भावना कम रहेकाले पौडेलले प्रधानमन्त्रीसँग पहुँच स्थापना गरेका हुन्। प्रधानमन्त्री सचिवालयका केही सदस्यहरु गभर्नरका विद्यार्थी छन्। गभर्नरका पोडकास्टका फ्यानहरु पनि छन्। कसैलाई नबिझाइ, नरम भाषामा ‘स्टोरी टेलिङ’ गर्न सक्ने भएकाले पौडेल प्रधानमन्त्री सचिवालयसँग चाँडै नजिक भएका थिए।
वाग्ले भने चर्को सुनिन्छन्। उनका नीतिहरु असफल भएको र जति सोचेको त्यो अनुसारको क्षमता नभएको निष्कर्षमा प्रधानमन्त्री कार्यालय पुगेको छ। अर्थमन्त्रीलाई ‘चेक एण्ड ब्यालेन्स’ गर्न पनि प्रधानमन्त्री कार्यालयले पौडेललाई निकट राखेको जानकार स्रोतहरु बताउँछन्।
यद्यपी पहिले रवि लामिछानेको टिममा रहेका प्रधानमन्त्री सचिवालयका कतिपय सदस्यहरुले अर्थमन्त्री र प्रधानमन्त्रीको संबन्ध सुमधुर भएको दाबी गर्छन्। तर, त्यो दावी अर्थमन्त्रीले नै खण्डित गरिदिने गरेका छन्। उनले सातामा दुई पटकजस्तो प्रधानमन्त्रीसँगको आफ्नो सम्बन्ध राम्रो भएको पुष्टि गर्न खोज्छन् भने सँगसँगै प्रधानमन्त्रीको सचिवालयमा धेरै मान्छे भएको भन्दै आलोचना पनि गर्छन्।










