काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह तीन महिना ‘अलप’जस्तै भए। देशभित्र आउने उच्च तहका विशिष्ट पाहुनालाई समेत भेट्न अस्वीकार गरेका उनै बालेन अहिले ‘यूटर्न’ भएका छन्।
उनले अहिले उद्योगी व्यवसायीलाई दैनिकजसो भेटिरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरलाई समेत भेट्न अस्वीकार गरेका बालेनले एसियाली विकास बैंक(एडीबी)का अध्यक्ष मासाता कान्डालाई भेटेर आलोचकहरुलाई आश्चर्यचकित बनाइदिएकामा अहिले उद्योगी व्यवसायीलाई दैनिक बोलाएर ढाडस दिँदै भनिरहेका छन्- लगानीका लागि आवश्यक कानुन परिमार्जन गर्न तयार छौं। धरपकड हुँदैन।
प्रधानमन्त्री बालेन कसरी एकाएक परिवर्तन भए त?
स्रोतका अनुसार बालेनको सचिवालय टिमले तीन महिना आफ्नो कार्ययोजना अनुसार काम गर्ने र जनतालाई आफ्नो उपस्थिति जर्बजस्त रुपमा देखाउने लक्ष्यका साथ कसैलाई नभेट्ने रणनीति अपनाइएको थियो।
तीन महिनापछि भने विस्तारै फ्लेक्जिबल हुने र उद्योगी व्यवसायीलाई भेट्ने रणनीति पहिले नै तय गरेको स्रोतले बतायो। तर, यो बीचमा उद्योगी व्यवसायीले असुरक्षित महसुस गरे। पुँजी बजार लगातार घटेर लगानीकर्ता प्यानिक बने। सँगै सरकारबाट भएका कतिपय काम कारवाही अपरिपक्व देखिए।
पासपोर्ट छपाइको ठेक्कामा संवैधानिक निकाय अख्तियारका प्रमुख आयुक्त र अन्य आयुक्तहरुलाई बन्धक बनाएर राहदानी विभागका महानिर्देशकलाई नियन्त्रणमा लिन लगाउने तौरतरीकाले ठूलै प्रश्न उठायो। एक साताअघि राइडर गणेश नेपालीको आत्मदाहले सरकारलाई ठूलै ‘ट्रिगर’ गर्यो।
त्यसपछि कुनै समस्या आउनेबित्तिकै प्रधानमन्त्री बालेन आफैं प्रोयाक्टिभ हुन थालेका छन्। स्रोतका अनुसार मिटर ब्याज पीडितहरु आफ्ना समस्या सुनाउन हिंडेर काठमाडौं आउन लागेको जानकारी पाउनेबित्तिकै बालेनले गृहमन्त्री सुधन गुरुङलाई टेलिफोन गरेर तत्कालै मधेश पठाएका थिए।
केही सीमित व्यक्ति राजधानी आए पनि त्यसले राजनीतिकरण भएर सरकारलाई आलोचित बनाउने भन्दै एक सल्लाहकारले सुझाव दिएपछि बालेनले सुधनलाई मधेश पठाएका हुन्।
स्रोतका अनुसार कुनै समस्या आउने देखिनेबित्तिकै त्यसलाई तत्कालै सम्बोधन गर्ने नीति लिइएको छ। ‘गणेश नेपालीको आत्मदाह प्रकरणपछि सरकारविरुद्ध घेराबन्दी भएको र आफ्ना काम कारबाही नसच्याए दुर्घटना निम्तिने निष्कर्ष निकालेर प्रधानमन्त्रीज्यू ‘यूटर्न’ हुनुभएको हो,’ स्रोतले भन्यो।
प्रधानमन्त्री बालेनका प्रमुख सल्लाहकार कुमार बेनको घरमा भएको छलफलमा मन्त्रीहरुलाई समेत आफ्नो अभिव्यक्ति सुधार्न भनिएको थियो। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सडक आयोजना निरीक्षणमा गएका बेला सार्वजनिक रुपमै दिएको खुट्टा भाँच्ने र प्रदेशका मन्त्रीलाई थुन्ने अभिव्यक्तिले चौतर्फीरुपमा आलोचित भएपछि उनलाई आइन्दा त्यस्ता अभिव्यक्ति नदिन सचेत गराइएको स्रोतले बतायो।
‘यस्ता खाले अभिव्यक्तिले सरकारप्रति जनता झन् असन्तुष्ट भएको निष्कर्ष निकालिएको थियो,’ स्रोतले भन्यो। बेनको घरको छलफलपछि मन्त्री लम्सालको अभिव्यक्ति फेरिएको छ। उनले ट्राफिक जरिवानाका सम्बन्धका केही दिनअघि संसद् बैठकमा शालिन ढंगले अभिव्यक्ति दिएका थिए।
त्यही छलफलका आधारमा प्रधानमन्त्री बालेन र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेबीच आइतबार चार घण्टाभन्दा लामो समय कुराकानी भएको थियो।
स्रोतका अनुसार रवि निवासको छलफल सरकार संचालनका विषयमा केन्द्रित थियो। सरकार संचालनका विषयमा असन्तुष्ट रहेका रवि र प्रधानमन्त्री बालेनबीचको त्यो भेटले धेरै विषयलाई ‘प्याचअप’ गरेको स्रोतले बतायो।
स्रोतका अनुसार सरकारले गरेका अधिकांश नियुक्ति रविले भनेकाहरुले पाएका छन्। ‘सभापतिज्यूका लागि पनि अल्टरनेट छैन। सरकार राम्रोसँग संचालन भएन भने अवसर गुम्छ कि भन्ने चिन्ता छ। हरेक नियुक्ति उहाँलाई सोधेर गरिएको छ,’ स्रोतले भन्यो, ‘केही राजनीतिक निर्णय गर्दा समेत उहाँलाई सोध्ने गरिएको छ।’
स्रोतका अनुसार सरकारकै संरक्षणमा फूटपाथमा पसल, जथाभावी पार्किङ र संचारमाध्यममा गाडी तेर्स्याउने पूर्वजानकारी समेत रविले पाएका थिए।
‘सत्ताको भोगका लागि मात्रै एकतावद्ध नभएकोले सच्चिनुको विकल्प छैन। जनताको कुरा सुन्नैपर्छ। हामीसँग अर्को कुनै विकल्प पनि छैन,’ रवि र बालेनलाई एक ठाउँमा ल्याउने एक सदस्यले भने, ‘जनताले त्यति ठूलो विश्वास गरेर दिएको अभिमतको अनर गर्नुपर्छ। त्यही भएर प्रधानमन्त्रीज्यूले अहिले सानासाना मुद्दालाई समेत तत्कालै सम्बोधन गर्नतर्फ चासो देखाउनुभएको छ।’
सचिवालय हेरफेर गरिंदै
बालेनले आफू काठमाडौं महानगरको मेयर हुँदादेखि सचिवालयमा रहेकाहरुलाई प्रधानमन्त्री बनेपछि पनि पद दिएका छन्।
महानगर सानो क्षेत्र भएकाले त्यतिखेर उनले उनले आफ्नो सचिवालयमा राखेका सदस्यबारे धेरैले चासो राखेनन्। कतिपय सदस्यको नियुक्ति सार्वजनिक पनि गरिएको थिएन।
तर, देश चलाउनेजस्तो संवेदनशील पदमा रहँदा बालेनले सल्लाहकार चयनदेखि निर्णय गर्दा केही अपरिपक्व काम गरेका छन्। पासपोर्टको प्रकरणमा बालेनको सचिवालयका सदस्यको गलत हर्कतले धेरै विषयलाई उदांगो पारिदिएको छ। यो कुरा प्रधानमन्त्री बालेन स्वयंले ‘रियलाइज’ गरेका छन्।
‘सचिवालयका केही साथीहरुमा परिपक्वता भएन। उनीहरुका बारेमा पनि केही न केही व्यवस्थापन गर्नुपर्ने देखिएको छ। सचिवालयमा हेरफेर गर्ने भन्ने नै छ,’ स्रोतले भन्यो। सचिवालयका कतिपय सदस्यले बाहिर ‘लुज टक’ गरेको र त्यसले पनि समस्या निम्तिएको बालेनको बुझाइ रहेको स्रोतले बतायो।








