काठमाडौं। इजरायलले नेपाली श्रमिकलाई थप रोजगारीका अवसर उपलब्ध गराउने चाहना प्रकट गरेको छ।
नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठसँगको भेटवार्तामा नेपालीहरुलाई रोजगारीका थप अवसर उपलब्ध गराउन इच्छुक रहेको बताएका हुन्।
हाल इजरायलले संस्थागत रुपमा नेपाली श्रमिक लैजाने गरेकामा राजदूतले अब अब व्यक्तिगत रुपमा घरका लागि केयरगिभिङ तथा कृषि क्षेत्रमा श्रमिक लैजान चाहेको बताए।
उनले नेपाली महिलाका लागि इजरायल सुरक्षित श्रम गन्तव्य भएको उल्लेख गर्दै भविष्यमा श्रम सहकार्यलाई अझ विस्तार गर्न सकिने बताए।
अध्यक्ष श्रेष्ठले इजरायलले हासिल गरेको आर्थिक विकास नेपालका लागि प्रेरणादायी भएको बताए।
दुई जनाबीच नेपाल-इजरायल आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनका लागि निजी क्षेत्रको सक्रिय सहभागिता, लगानी प्रवर्धन, नवप्रवर्तन, प्रविधि हस्तान्तरण र व्यापारिक सहकार्यलाई प्राथमिकता दिने समझदारी भएको महासंघले जनाएको छ।










