रुग्ण आयोजनाहरु पहिला सम्पन्न गर्ने विराजको लक्ष्य, सोधे प्रश्न : बजेटमात्रै समस्या हो त?

बिजमाण्डू
२०८२ चैत्र २७ गते १६:०२ | Apr 10, 2026
रुग्ण आयोजनाहरु पहिला सम्पन्न गर्ने विराजको लक्ष्य, सोधे प्रश्न : बजेटमात्रै समस्या हो त?


काठमाडौं । ऊर्जा, स्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले देशलाई थप वित्तीय भार पर्ने नयाँ आयोजना सुरू गर्नेभन्दा पनि वर्षौदेखि रुग्ण भई बसेका आयोजनाहरूलाई पहिला सम्पन्न गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्।

GBIME
Tata

शुक्रबार जलस्रोत तथा सिँचाइ विभागका अधिकारीहरूसँगको छलफलका क्रममा उनले समस्याको वर्गीकरण गरि समाधानको उपाय खोजिने बताएका हुन्। श्रेष्ठले मन्त्री स्तरबाट गर्नुपर्ने काम आफूले गर्ने र अन्य तहबाट हुने काम आफ्नो जिम्मेवारीअनुसार परिणाम देखिने गरि कार्य गर्न मातहतका अधिकारीहरुलाई निर्देशन दिएका छन्।

‘कुर्सीमा कुन व्यक्ति बस्छ, भन्ने विषय महत्वपूर्ण होइन। कुर्सीमा बस्ने व्यक्तिको जिम्मेवारी के हो? र, उसले आफ्नो जिम्मेवारी कति निर्वाह गरिरहेको छ भन्ने विषय महत्वपूर्ण छ,’ श्रेष्ठले भने,’चालु आर्थिक वर्षको बाँकी तीन महिनाको अवधिमा जनताले सुधारको अनुभूति गर्ने र परिणाम आउने गरी सबै मिलेर काम गरौं।’

वित्तीय, शासकीय एवम् संरचनागत रूपमा के सुधार गर्न सकिन्छ भन्ने बारेमा मिलेर सोच्न र आफ्नो क्षमता, सीप तथा बजेटको अधिकतम् उपयोग गरेर लक्ष्य भेट्टाउन लाग्नुपर्ने श्रेष्ठको भनाइ छ।

वैदेशिक मुद्राको मूल्यवृद्धिले विकास आयोजनाहरुमा पार्ने असर देखिन अझै बाँकी नै रहेको उल्लेख गर्दै उनले समयमै परियोजनाहरू सम्पन्न गर्नेतर्फ सबैले ध्यान दिन जोड दिए। ठूला परियोजनाहरु वर्षौंदेखि सम्पन्न हुन नसक्दा विकासको उपयोग कस्ले गर्ने भन्ने प्रश्नसमेत उब्जिएको उनले बताए।

‘सिँचाइका परियोजनाहरु तीन दशकसम्म सम्पन्न हुन नसक्नु चिन्ताको विषय हो। विकासका आयोजनाहरुमा बजेटलाई मुख्य समस्याका रूपमा औंल्याउने गरिन्छ। के बजेट मात्रै समस्या हो त?,’ मन्त्री श्रेष्ठको प्रश्न थियो।

छलफलमा जलस्रोत सचिव सरिता दवाडीले सिँचाइका आयोजनाहरू समयमा किन सम्पन्न हुँदैनन् भन्ने प्रश्न सर्वत्र उठ्ने गरेको उल्लेख गर्दै राष्ट्रिय गौरवका आयोजनाहरू र अन्य आयोजनाको काम गर्ने प्रकृति एउटै हुन नहुनेमा जोड दिएकी थिइन्। उनले जग्गा प्राप्ति, रुख कटान जस्ता समस्या विकासे आयोजनाको समान समस्या रहेकाले राष्ट्रिय गौरवका आयोजनाहरूको कामलाई विशेष प्राथमिकताका राख्नुपर्ने बताएकी थिइन्।

विभाग अन्तर्गत हाल बबई सिँचाइ आयोजना, सिक्टा सिँचाइ, रानी जमरा कुलरिया सिँचाइ आयोजना, सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय लगायतका ६ वटा राष्ट्रिय गौरवका आयोजनाहरु रहेका छन्।

हाल विभागले २१५ वटा ठेक्कामार्फत विभिन्न आयोजनाहरु निर्माण गरिहेको छ। जसमध्ये ३३ वटा समस्याग्रस्त ठेक्का अन्तर्गत २२ वटाको ठेक्का तोडिएको छलफलमा विभागका महानिर्देशक मित्र बरालले जानकारी दिए। चालु आर्थिक वर्षमा विभागअन्तर्गतका कार्यालयको समग्र वित्तीय प्रगति करिब २९ प्रतिशत रहेको छ।