कर्णालीमा विद्युत प्राधिकरणका १० उत्कृष्ट ग्राहकलाई सम्मान, १३२ केभी प्रसारण लाइन सञ्चालन छिटै

बिजमाण्डू
२०८२ पुष १९ गते ०९:४९ | Jan 3, 2026
कर्णालीमा विद्युत प्राधिकरणका १० उत्कृष्ट ग्राहकलाई सम्मान, १३२ केभी प्रसारण लाइन सञ्चालन छिटै


सुर्खेत। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कर्णाली प्रदेश प्रादेशिक कार्यालयअन्तर्गतका १० उत्कृष्ट ग्राहकलाई सम्मान गर्दै कर्णालीमै पहिलो पटक १३२ केभी प्रसारण लाइन १५ दिनभित्र सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्।

GBIME
Tata

सुर्खेतमा आयोजित कार्यक्रममा शाक्यले विद्युतीकरण गाउँगाउँसम्म पुर्‍याउनुपर्नेमा जोड दिँदै विद्युत नपाएका उपभोक्ताले बिजुली पाएपछि उद्योग–व्यवसायमा लाग्नुपर्ने बताए। ‘जनश्रम अरबको खाडी र मलेसियामा बेचेर देश कहिल्यै धनी हुँदैन,’ उनले भने, ‘स्थानीय श्रम र उत्पादनमै दिगो समृद्धि सम्भव छ।’ उनका अनुसार ऊर्जा अर्थतन्त्रको मुख्य चालक हो र बिजुली उद्योगका लागि सबैभन्दा सस्तो तथा महत्त्वपूर्ण कच्चा पदार्थ हो।

उत्कृष्ट ग्राहक सम्मान तथा ग्राहक–समस्या पहिचान अभियान कोसी प्रदेशबाट सुरु भई मधेस र गण्डकी हुँदै कर्णाली आइपुगेको शाक्यले जानकारी दिए। उद्योगी–व्यवसायीसँग प्राधिकरणप्रति रहेको नकारात्मक धारणा चिर्न र इमानदार ग्राहकलाई सम्मान गर्ने उद्देश्यले अभियान थालिएको उनको भनाइ छ।

उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले कर्णालीमा अझै भरपर्दो विद्युत आपूर्ति सुनिश्चित गर्न धेरै काम बाँकी रहेको स्वीकार्दै छिटो सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे। कर्णाली प्रादेशिक कार्यालय प्रमुख शशिभूषण साहले कार्यकारी निर्देशककै हातबाट उत्कृष्ट ग्राहकलाई सम्मान गर्न पाउँदा खुशी व्यक्त गर्दै प्रदेशका १० वटै केन्द्रबाट उत्कृष्ट ग्राहक सम्मानको थालनी गर्ने बताए।

उद्योगी–व्यवसायीको तर्फबाट केशव बुढाथोकीले भोल्टेज कम र अघोषित लोडसेडिङको समस्या समाधान गरी नियमित आपूर्तिको माग गरे।

निरीक्षण भ्रमणका क्रममा शाक्यले कोलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाको प्रगति अवलोकन गर्दै ढिलामा १५ दिनभित्र लाइन चार्जमा ल्याउन निर्देशन दिए। ‘१३२ केभी लाइन सञ्चालनसँगै कर्णालीको औद्योगिकीकरण सुरु हुन्छ,’ उनले भने। साथै सुर्खेतको निर्माणाधीन स्वचालित सब–स्टेशन नजिक प्राधिकरणले अधिकरण गरेको जग्गामा विद्युतीय सवारी चार्जिङ स्टेशनको तयारी गर्न पनि निर्देशन दिए।

आयोजनाका प्रमुख रविकुमार चौधरीका अनुसार अन्तिम चरणमा रहेको कोहलपुर–सुर्खेत खण्ड १५ दिनभित्र चार्ज गरिनेछ। करिब ७५ करोड रुपैयाँको सबस्टेसन तयार अवस्थामा छ भने करिब ६५ करोडको प्रसारण लाइनमा दुई स्पान परीक्षण बाँकी छन्।

सम्मानित १० उद्योग/व्यवसायी
गुनाङडोङ युनटाइन रमा जेभी क्रसर (सुर्खेत), खलंगा शीतलपाटी खानेपानी उपभोक्ता (सल्यान), शुभघाट सहरी खानेपानी (सुर्खेत), विजयीश्री चौरजहारी सुक्खा खानेपानी तथा सरसफाइ (रुकुमपश्चिम), वीरेन्द्रनगर औद्योगिक क्षेत्र (सुर्खेत), शंखमुल ग्रामीण विद्युत लुहाम बजार (सल्यान), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला), सिद्धार्थ सन्नी रिसोर्ट (सुर्खेत) र शुभघाट सरकारी खानेपानी (सुर्खेत)।