मनाङको नारखोला जलविद्युत् आयोजनामा पाँच बैंकको ९ अर्ब ६३ करोड लगानी

बिजमाण्डू
२०८२ मंसिर १६ गते ०६:४१ | Dec 2, 2025
मनाङको नारखोला जलविद्युत् आयोजनामा पाँच बैंकको ९ अर्ब ६३ करोड लगानी


काठमाडौ । मनाङमा आयोजनास्थल रहेको नारखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ। कूल ६१ मेगावाट क्षमताको सो आयोजनामा कुमारी बैंकको अगुवाइमा विभिन्न पाँच वटा बैंकले लगानी गर्न लागेका हुन्।

GBIME
Tata

आयोजनामा बैंकले ९ अर्ब ६३ करोड बराबरको ऋण लगानी गर्न लागेका छन्। नारखोला हाइड्रो इनर्जीका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रूपमा लगानी सम्झौतामा हस्ताक्षर गरेका छन्।

हिमाली जिल्ला मनाङस्थित नार्पा भूमि र नासोङ गाउँपालिकामा रहेको नारखोला र सोतीखोलाको पानीलाई एकीकृत गरि ६१.११ मेगावाट बिजुली उत्पादन गरिनेछ। आयोजनाको निर्माणका लागि सबै प्रक्रिया पूरा भइसकेको अध्यक्ष लामिछानेले जानकारी दिए।

नेपाल विद्युत् प्राधिकरणसँग यसअघि विद्युत् खरिद सम्झौता भइसकेको सो आयोजनामा कुमारी बैंकको अगुवाइमा नेपाल एसबिआई बैंक, कृषि विकास बैंक, एनआइसी एसिया बैंक र मुक्तिनाथ विकास बैंकले लगानी गर्ने गरि सोमबार लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

नारखोला जलविद्युत् आयोजनाको ग्रसहेड ५८८.८२ मिटर रहनेछ भने आयोजनाबाट वार्षिक ३६६.४८ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ। आयोजनाले वार्षिक २ अर्ब १० करोड बराबरको बाँधका संरचना नार्पा भूमि गाउँपालिकामा र विद्युत गृह नासो गाउँपालिकामा निर्माण हुनेछन्।

आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको मनाङस्थित धारापानीमा निर्माणाधीन सवस्टेसनमा जोडिनेछ। आयोजनाको कूल लागत १२ अर्ब ८४ करोड रहेकामा बैंकले ९ अर्ब ६३ करोड लगानी गर्नेछन्। यस्तै, लगानीकर्ताले स्वपुँजीका रूपमा ३ अर्ब २१ करोड लगानी गर्नेछन्। स्वपुँजीमा सिँगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ।

आयोजनाले पहुँचमार्ग निर्माण सुरु गरिसकेकाले आगामी तीन महिनाभित्र मुख्य संरचना निर्माण सुरु गरि तीन वर्षभित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। रासस