अमेरिकी फर्मास्युटिकल ‘लिल्ली’ले रच्यो इतिहास, मौन्जारो र जेपबाउन्डको सफलताले बनायो ट्रिलियन डलर कम्पनी



बिजमाण्डू
२०८२ मंसिर ६ गते १७:४६ | Nov 22, 2025
अमेरिकी फर्मास्युटिकल ‘लिल्ली’ले रच्यो इतिहास, मौन्जारो र जेपबाउन्डको सफलताले बनायो ट्रिलियन डलर कम्पनी
तस्बिर : एएफपी

अमेरिकी औषधि कम्पनी ‘लिल्ली’ले एक ट्रिलियन डलरको बजार मूल्य हासिल गर्दै इतिहास रचेको छ। लिल्ली यो स्तरमा पुग्ने पहिलो औषधि उत्पादक कम्पनी बनेको छ।

Tata
GBIME
Nepal Life

यसअघि ट्रिलियन डलर बजार मूल्य हासिल गर्ने प्रायः प्रविधि कम्पनीहरू मात्रै थिए। तौल घटाउने औषधिको क्षेत्रमा लिल्लीको सफलताले कम्पनीलाई नयाँ उचाइमा पुर्‍याएको हो।

यस वर्ष मात्रै कम्पनीको मूल्य ३५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। तौल घटाउने औषधिको बजारमा आएको तीव्र विस्तारले कम्पनीको व्यापारमा उछाल आएको हो।

लिल्लीको ‘टिर्जेपटाइड’ नामक औषधिले ठूलो सफलता हासिल गरिरहेको छ। यो औषधि ‘मौन्जारो’ नाममा मधुमेहका बिरामीका लागि र ‘जेपबाउन्ड’ नाममा मोटोपना नियन्त्रणका लागि बजारमा आएको थियो। यसले ‘मेर्क’ कम्पनीको ‘किट्रुडा’लाई समेत पछाडि पार्दै विश्वकै सबैभन्दा बढी बिक्री हुने औषधि बनेको छ।

मोटोपना उपचारको क्षेत्रमा यसअघि ‘नोभो नोर्डिस्क’ अगाडि थियो। तर, मौन्जारो र जेपबाउन्ड दुवैको लोकप्रियता बढेपछि लिल्लीले प्रतिस्पर्धामा आफ्नो स्थान मजबुत बनाएको हो।

नोभो नोर्डिस्कको ‘विगोभी’ नामक औषधि सन् २०२१ मा नै आएको भए पनि आपूर्ति अभावका कारण बजार विस्तार सुस्त थियो। त्यस कारण पनि लिल्लीलाई अघि बढ्न सहज भयो। साथै, लिल्लीका औषधिहरूले परीक्षणमा पनि बलियो प्रभाव देखाए। कम्पनीले उत्पादन‍ र वितरण पनि तीव्र गतिमा विस्तार गरेको थियो।

कम्पनीको सेयर मूल्य केही बेरका लागि नयाँ रेकर्डमा पुन्दा झण्डै एक प्रतिशतले बढेर १ हजार ५१ डलरसम्ममा कारोबार भइरहेको थियो।

एलएसईजीका अनुसार कम्पनीले आगामी १२ महिनामा कमाउने अनुमानित आम्दानीको करिब ५० गुणा मूल्यमा हाल कारोबार भइरहेको छ। यसले मोटोपना उपचारको माग दीर्घकालसम्म बलियो रहने विश्वास लगानीकर्तामा रहेको देखाउँछ।

जेपबाउन्ड सन् २०२३ को अन्त्यमा बजारमा आएपछि कम्पनीको सेयर ७५ प्रतिशतभन्दा बढीले बढेको छ। सोही अवधिमा अमेरिकी सूचक एक एन्ड पी ५०० करिब ५० प्रतिशतले मात्र बढेको छ।

कम्पनीले पछिल्लो त्रैमासमा मोटोपना र मधुमेहसम्बन्धी औषधिबाट मात्र १०.०९ अर्ब डलरभन्दा बढी आम्दानी भएको रिपोर्ट गरेको छ। यो रकम कुल आम्दानी १७.६ अर्ब डलरको आधाभन्दा बढी हो।

बीएमओ क्यापिटल मार्केट्सका विश्लेषक इभान सिगरम्यान‍का अनुसार हालको बजार मूल्यले कम्पनीको दीर्घकालीन क्षमतालाई लगानीकर्ताले ठूलो विश्वासका साथ हेरेको देखाउँछ। लगानीकर्ताले मोटोपना उपचारको प्रतिस्पर्धामा लिल्लीलाई नोभोभन्दा बढी भरोसा गरेको उनको विश्लेषण छ।

अक्टोबरमा कम्पनीले वार्षिक आम्दानीको पूर्वानुमान पनि २ अर्ब डलरभन्दा बढीले बढाएको थियो। मोटोपना र मधुमेहका औषधिको विश्वव्यापी माग बढेपछि कम्पनीले यस्तो संशोधन गरिएको थियो।

वाल स्ट्रिटले सन् २०३० सम्म तौल घटाउने औषधिको बजार १५० अर्ब डलर पुग्ने अनुमान गरेको छ। सो बजारमा लिल्ली र नोभोले संयुक्त रूपमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने अपेक्षा गरिएको छ।

अब लगानीकर्ताको ध्यान लिल्लीको नयाँ औषधि ओर्फोर्ग्लिप्रोनमा छ। यसलाई आगामी वर्षको सुरुवातमै अनुमति मिल्ने अनुमान गरिएको छ।

सिटीका विश्लेषकहरूले पछिल्लो पुस्ताका जीएलपी-वान औषधिहरू यसअघि देखि नै असाधारण रुपमा बिक्री भइरहेकाले ओर्फोर्ग्लिप्रोनले पनि ठूलो फाइदा लिने बताएका छन्।

कम्पनीले अमेरिकाभित्र उत्पादन बढाउन सरकारसँग भएको सम्झौताबाट पनि लाभ उठाउने अपेक्षा गरिएको छ। मूल्यसम्बन्धी सम्झौताले केही समय आम्दानीमा दबाब पार्ने भए पनि उपचार पहुँच ४ करोडभन्दा बढी सम्भावित बिरामीसम्म विस्तार हुने भएको छ।

ड्वेचे बैंकका विश्लेषक जेम्स शिनले कम्पनीको उछाललाई ‘म्याग्निफिसेन्ट सेभेन’ समूहसँग तुलना गरेका छन्। उनका अनुसार प्रविधि क्षेत्रमा भएका कमजोर संकेतका कारण लगानीकर्ताले नयाँ विकल्प खोजिरहेका बेला लिल्ली अगाडि देखिएको हो।

तर, चुनौती पनि उत्तिकै छन्। मौन्जारो र जेपबाउन्डको मूल्यमा दबाब आउन सक्छ। उत्पादन विस्तार, पाइपलाइनमा रहेका नयाँ उत्पादन र नयाँ सम्झौताहरूले यो दबाब कति घटाउन सक्छ भन्नेबारे बजारले नजिकबाट हेरिरहेको छ। कम्पनीले अहिले देखाएको द्रुत वृद्धि कति टिकाउ हुन्छ भन्नेमा पनि प्रश्न उठिरहेको छ।