काठमाडौं। छोटो समयमा धनी बन्ने महत्त्वाकांक्षाले प्रत्येक दशक एउटा नयाँ स्क्यामले जन्म लिन्छ, जहाँ हजारौं सर्वसाधारण लोभमा फस्छन् र अन्त्यमा तिनीहरूको सपना र बचत दुवै गुम्छ।
पिरामिड शैलीमा पैसा उठाउने ‘युनिटी इन्टरनेसनल’ होस् या बचतका नाममा सर्वसाधारणको पैसामा मोजमस्ती गर्ने सहकारी। २०६० को दशकमा युनिटीमा ३ लाख ६८ हजार जनालाई सदस्य बनाएर ३ अर्ब ८३ करोड ठगिएको थियो।
७० को दशकमा सहकारीका हजारौं बचतकर्ताको ८७ अर्ब रुपैयाँ अपचलन गरियो। त्यसरी अपचलन गर्ने कयौं अहिले जेलमा छन्। सर्वसाधारणको पैसा फिर्ता हुने सम्भावना कमजोर बन्दै गएको छ।
यो संयोग मात्र होइन, ८० को दशकमा नयाँ ‘स्क्याम’ आएको छ- प्रि-आइपीओ। तीन वर्षमा एकको १० हुने सपना देखाएर अहिले अनौपचारिक रुपमा पैसा उठाउने धन्दा चलिरहेको छ। बिजमाण्डूले औपचारिक/अनौपचारिक रुपमा गरेको छलफल र अनुसन्धानमा ‘प्रि-आइपीओ’को नाममा कालोधनलाई सेतो बनाउने गरेको पनि खुलेको छ।
+++
‘स्टार्टप्स भेञ्चर’ले पठाएको इमेल पढ्दै गर्दा उत्साहित नहुने कमै हुन्छन्।
‘होटल इच्छाको संस्थापक सेयर प्रति कित्ता १५० रुपैयाँमा। ३ वर्षपछि १० गुणा रिटर्न,’ १० लाखको लगानीमा ३ वर्षमै करोडपति हुने स्किमले जति लोभ्याउँछ, त्यति शंकालु पनि बनाउँछ।
‘के यो सत्य हो?’ तपाइँको शंकालाई हटाउन स्टार्टप्स भेञ्चरले होटल इच्छाको वासलातदेखि होटलको भौतिक संरचनासम्मको फोटो पठाइदिन्छ।
बाराको सिमरामा रहेको होटल इच्छाको फोटो देख्दा लाग्छ- साँच्चै यहाँ त ३ वर्षपछि पैसाको वर्षा हुन्छ होला। पाँचतारे होटल, आकर्षक भवन र अझ आकर्षक वाचा- ३ वर्षमा करोडपति।
होटलका मालिक इच्छाबहादुर वाग्ले कुनै साधारण व्यक्ति होइनन्। नेपाल जग्गा तथा आवास व्यवसायी महासंघका पूर्वअध्यक्ष हुन्।

१५० त अलिक महँगो भयो भनेर इमेल रिप्लाइ गरेपछि स्टार्टप्स भेञ्चरले तत्काल उत्तर फर्काउँछ- अहिले किनबेच नै १५० रुपैयाँमा भइरहेको छ। यदि तपाइँ साँच्चै नै इच्छुक हो भने १४० रुपैयाँका दरले दिन सकिन्छ।
१४० हो भने लिन्छु, तर कहिलेसम्म आइपीओ आउँछ? खरिद गर्ने चाहनासहितको प्रश्न गर्न थालेपछि भेञ्चर क्यापिटलले ‘डकुमेन्ट’ पठाउन थाल्छ।
कम्पनीले यही भदौमा साधारण सभा गर्ने र साधारण सेयर निष्कासन (आइपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिन लागेको जानकारी गराइन्छ। आवेदन दिएको २-४ दिनमै सेयर निष्कासन गर्न अनुमति पाइनेजस्तो गरी स्टार्टप्स भेञ्चरले इमेल लेख्छ। ३ वर्षे लकइन अवधि सकेर २०८५/८६ मा बिक्री गरेर बाहिरिन सकिने योजना सुनाउँछ।
जारी पुँजी १ अर्ब ७६ करोडको २० प्रतिशत सर्वसाधारणमा सेयर निष्कासन गर्ने भनेर लगानीकर्तालाई आकर्षित गरिन्छ। हिमालयन बैंकमा रहेको खातामा खरिद गर्न चाहनेले पैसा जम्मा गर्नु पर्ने भनेर खाता नम्बर पठाइन्छ।
बिजमाण्डूको अनुसन्धानमा ३ वर्षमै करोडपति बनाउने कम्पनीको वास्तविकता भने फरक देखिन्छ। कम्पनीको वित्तीय अवस्था नाजुक छ। नेटवर्थ कति छ भनेर कम्पनीलाई नै थाहा छैन।
रमाइलो कुरा के भने- होटलको साधारण सभाले अहिलेसम्म साधारण सेयर निष्कासन गर्ने कुरै गरेको छैन। मानौं होटलले साधारण सभाबाट आइपीओ निस्कासन गर्ने प्रस्ताव पारित गर्यो भने पनि सेबोनले स्वीकृति दिइहाल्छ भन्ने सुनिश्चित छैन। नेटवर्थ ऋणात्मक रहेको कम्पनीले साधारण सेयर जारी गर्न पाउँदा पनि पाउँदैन।
२ वर्षअघि पाँच तारेको मान्यता पाएको देखाएर अहिले होटल इच्छाले सर्वसाधारणसँग ‘करोडपति बनाउने’ भन्दै पैसा उठाइरहेको छ। आइपीओ निष्कासन गर्छु भन्दै पैसा उठाउने यो धन्दा अहिले ‘प्रि-आइपीओ’को नामले चर्चित छ।
+++
नेटवर्थ ९० रुपैयाँभन्दा कम भयो भन्दै गत जेठमा आइपीओको पाइपलाइनबाट सेबोनले हटाएको कम्पनी हो- सोपान फर्मास्युटिकल्स।

आइपीओ स्वीकृतिको प्रकृयामा पुग्न कम्पनीले पहिले त नेटवर्थ नै उकास्नु पर्ने हुन्छ। तर रमाइलो, अहिले कम्पनीको सेयर प्रति कित्ता १८० रुपैयाँमा ‘बैनाबैनामै’ किनबेच चलिरहेको छ।
कम्पनीले नियामकबाट सेयर निष्कासन अनुमति पाउने ग्यारेन्टी छैन। उसको वित्तीय अवस्था पनि राम्रो छैन। २०८०/८१ को लेखापरीक्षण रिपोर्ट अनुसार कम्पनी ८ करोड २६ लाख रुपैयाँ नोक्सानीमा छ।
कम्पनीको ऋण दायित्व अत्यधिक रहेको प्राप्त वित्तीय विवरणले देखाउँछ। पोहोर असारसम्म सोपानको कुल दायित्व ८७ करोड ८९ लाख रुपैयाँ रहेको देखिन्छ।
आइपीओ निष्कासनको कुनै ग्यारेन्टी नभएको कम्पनीको सेयर इच्छा होटलमा जस्तै करोडपति बनाउने सपना देखाएर सर्वसाधारणलाई बिक्री गर्ने काम भइरहेको छ। गैरआवासीय नेपाली (एनआरएन)हरूको लगानी रहेको सोपान फर्मास्युटिकल्समा अहिले अनिलकुमार पोखरेल अध्यक्ष छन्।
+++
जारी पुँजीको २६.३३ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने भन्दै एभरेष्ट कलर कम्पनीले सेबोनमा आवेदन दिएको छ। कम्पनीले कुल ७ करोड ९० लाख रुपैयाँको सेयर जारी गर्ने जनाएको छ।
तर, संस्थापक सेयर प्रति कित्ता ३१० रुपैयाँमा पाइने भनेर ‘प्रि-आइपीओ’मा कम्पनीले पैसा उठाइरहेको छ। कम्पनीको सेयरको मूल्य सुरुमा २०० रुपैयाँ थियो। बैनाबैनामै त्यो बढेर ३१० रुपैयाँ पुर्याइएको हो।
२०८१ असारसम्म कम्पनीले ३१ लाख ४४ हजार रुपैयाँ नाफा गरेको छ। त्यतिखेरसम्म कम्पनीको दायित्व ३ करोड ५४ लाख रुपैयाँ रहेको देखिन्छ।
कम्पनीमा प्रबन्ध निर्देशक सरोज लुइँटेलको १७.२९ प्रतिशत सेयर छ। रामप्रसाद सापकोटाको ४.४१, शैलेन्द्र लुइँटेलको ८.०२ प्रतिशत सेयर छ। कम्पनीका अध्यक्ष महेश्वर खनाल हुन्।
+++
देशकै पुरानो बिस्कुट उत्पादक कम्पनी नेबिकोले साधारण सेयर जारी गर्ने तयारी गर्दै गर्दा प्रि-आइपीओमा मूल्य बढाबढमा सेयर खरिद बिक्री सुरु भइसकेको छ। अहिले प्रति कित्ता १५० रुपैयाँमा नेबिकोको सेयर किनबेच भइरहेको छ।

आइपीओ निष्कासनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ३०० रुपैयाँदेखि १००० रुपैयाँसम्म पुर्याउने भन्दै अहिले सर्वसाधारणसँग १५० रुपैयाँका दरले पैसा उठाउन थालिएको छ।
+++
वीरगंजमा रहेको फर्मास्युटिकल्स कम्पनी सुप्रिम हेल्थ केयरले आइपीओ निष्कासनको कुनै प्रक्रिया अगाडि बढाएको छैन। तर, आगामी दिनमा साधारण सेयर जारी गर्ने भन्दै सर्वसाधारणलाई ‘मुर्गा हान्ने’ काम सुरु भइसकेको छ। कम्पनीको सेयर प्रति कित्ता १५० रुपैयाँमा किनबेच भइरहेको तथ्य बिजमाण्डूलाई प्राप्त भएको छ।
आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणअनुसार कम्पनीले २७ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ। सँगसँगै, कम्पनीको कुल ऋण ऋण ३५ करोड ७६ लाख रुपैयाँ छ।
+++
३.३३ मेगावाट विद्युत् उत्पादन क्षमताको सलमानीदेवी हाइड्रोपावर कम्पनीले सेयर निष्कासनको प्रक्रिया नै थालेको छैन। तर, प्रति कित्ता १२५ रुपैयाँका दरले सेयर किनबेच भइरहेको छ।
कम्पनीले कहिले विद्युत् उत्पादन गरेर नाफा कमाउँछ? सेबोनबाट कहिले सेयर निष्कासनको अनुमति पाउँछ? कुनै ठेगान छैन। तैपनि सेयर मूल्यलाई लिएर प्रि-आइपीओमा बोलकबोल चलिरहेको छ।
+++
आरकेडी होल्डिङसले गत असारमा साधारण सभाबाट सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो। बन्दीपुर केवलकारसहित कम्पनीसँग १० वटा कम्पनी आबद्ध छन्। कम्पनीले त्यही परियोजना देखाएर अहिले सर्वसाधारणबाट पैसा उठाइरहेको छ।
कम्पनीको सेयर ‘प्रि-आइपीओ’ बजारमा प्रति कित्ता १३५ रुपैयाँमा पाइन्छ। सीमित अवधिका लागि मात्र यो मूल्य भनेर लगानीकर्ता ‘फसाउन’ थालिएको छ।
+++
शुभश्री अग्नि सिमेन्टले सेयर जारी गर्ने अनुमति माग्दै सेबोनमा आवेदन दिएको छ। प्रति कित्ता १०० रुपैयाँका दरले २ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने कम्पनीको योजना छ।
सेबोनबाट स्वीकृति पाउने टुंगो नपाउँदै कम्पनीले सर्वसाधारणबाट भने न्यूनतम १२५ रुपैयाँमा पैसा उठाइरहेको छ। क्रेडिट एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीको बैंकको ऋण दायित्व अहिले ४ अर्बभन्दा बढी छ।
वित्तीय अवस्था खस्किँदै गएपछि सेयर बजारबाट पुँजी संकलनको तयारी गरेको कम्पनीमा त्यसअघि नै लगानीकर्ताले महँगो मूल्यमा उच्च जोखिम लिएर पैसा हालिरहेका छन्।
+++
धादिङको गजुरीमा रहेको रक्सी उत्पादक कम्पनी नेचुरल स्पिरिट्स नेपाल गत असारमा पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भयो। कम्पनी आइपीओ निष्कासनको तयारीस्वरुप पब्लिकमा रुपान्तरण भएको हो। आइपीओ निकाल्ने भनेर यो कम्पनीले पनि सर्वसाधारणबाट प्रति कित्ता २२५ रुपैयाँका दरले पैसा उठाइरहेको छ।
+++
सुमेरु पोलिमर्सले पनि सेयर निष्कासनको तयारी गरेको छ। तयारीलाई नै उपलब्धि मानेर कम्पनीका सञ्चालकहरूले प्रि-आइपीओमै प्रति कित्ता १३५ रुपैयाँका दरले पैसा उठाइरहेका छन्।

कम्पनीको सेयर निष्कासन हुने/नहुने टुंगो छैन। तर, सर्वसाधारणलाई आकर्षक प्रतिफलको लोभ देखाएर कम्पनीले पैसा उठाइरहेको छ। कम्पनीले सिटिजन्स बैंकमा रहेको बैंक खातासहित संस्थापक सेयर खरिद बिक्रीको फारम नै विभिन्न माध्यबाट वितरण गरिरहेको छ।
+++
जानकी केबल इन्डष्ट्रीले आइपीओ निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ। कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा गत साउनमा एनआइसी एसिया क्यापिटललाई नियुक्त गरेको हो।
सेयर निष्कासन गर्ने प्रक्रियामा गइसकेको कम्पनीले १२५ रुपैयाँका दरले सर्वसाधारणबाट पैसा उठाइरहेको छ। तर, कम्पनीले सेयर निष्कासन अनुमति पाउने/नपाउने टुंगो छैन।
+++
वीरगंजमा रहेको स्काइलाइन इन्फ्रा कम्पनीले सेयर जारी गर्ने तयारी नै थालेको छैन। तर, सेयर जारी गर्ने हो, १ लाख हाल्नेको ३ वर्षमै ५ लाख रुपैयाँ पुग्छ भनेर कम्पनीले प्रि-आइपीओबाट पैसा उठाइरहेको छ।
+++
सारथी केबल इन्डष्ट्रिजले आइपीओ निष्कासनका लागि साउनमा बिक्री प्रबन्धक के नियुक्त गरेको थियो, प्रि-आइपीओको धन्दा सुरु भइसकेको छ।
कम्पनीले प्रति कित्ता १५० रुपैयाँ मूल्यमा संस्थापक सेयर बिक्रीका लागि आवेदन फाराम विभिन्न माध्यमबाट वितरण गरिरहेको छ।
+++
लुम्बिनी प्यालेस रिसोर्टको आइपीओ आउने कुनै ग्यारेन्टी छैन। तर, अहिले नै लगानीकर्तामा प्रि-आइपीओ सेयर बेचिरहेको छ।

यी त प्रतिनिधि तथ्यहरू मात्र हुन्। अहिले अर्गा भगवती भेन्चर्स, हिमालयन इनर्जी लिमिटेड, नेपाल ब्रुअरी, गोल्डस्टार, सांग्रिला डिष्टिलरी, आईडीआई हाइड्रोपावर, इकोसन पावर डेभलपमेन्ट, एसियन ब्याट्रिज, भगवती कम्पोजिट इन्डस्ट्रिज लिमिटेड, आयु मालुन हाइड्रोपावर र हुलास आइरन इन्डस्ट्री लिमिटेडले प्रि-आइपीओको धन्दा चलाइरहेका छन्।
+++
सेबोनसँग ‘सेटिङ’ मिल्नेबित्तिकै साधारण सेयर निष्कासनको अनुमति पाइन्छ भन्ने यसअघिका केही तथ्यहरूले पुष्टि गरेपछि अहिले जो पनि, जस्तो सुकै कम्पनीको सेयर जारी गर्न लागिपरेका छन्।
ऊर्जा क्षेत्रका कम्पनीसँग सेयर निष्कासन गर्न ५ देखि ७ प्रतिशत कमिसन माग्ने गरेको तथ्य बिजमाण्डूले यसअघि नै सार्वजनिक गरिसकेको छ।
जुनसुकै क्षेत्रका कम्पनीको सेयर पनि निश्चित ‘कमिसन’ पाएपछि सेबोनले स्वीकृति दिने भन्दै संस्थापक तथा सञ्चालकहरूले नै ‘प्रि-आइपीओ’बाट पैसा उठाइरहेका छन्।
सरकारले सेयर किनबेचका लागि केही अनिवार्य सर्त तोकेको छ। सूचीकृत भएको सेयर दोस्रो बजारबाट किनबेच हुन्छ। सूचीकृत नभएका लिमिटेड कम्पनीहरूको ओभर द काउन्टर (ओटीसी) बजारबाट हुन्छ। निजी कम्पनी रहेछ भने त्यहाँको सञ्चालकहरूले निर्णय गरेर त्यो लगत कम्पनी रजिष्ट्रारको कार्यालयमा नामसारी गरेर हुन्छ।
तर, यी कुनै प्रक्रियामा नगइ, १ लाख हाले १० लाख पुग्छ भन्ने सपना देखाएर संस्थापक सेयर कागजमा खरिद बिक्री गर्ने काम भइरहेको छ। कम्पनीले बनाएको एउटा फारम भराएर पैसा बुझ्ने र त्यसैका आधारमा यति कित्ता सेयर दिएको भनेर प्रमाणपत्र (वैधानिकता नभएको) दिने गरिएको छ।
बिजमाण्डूलाई उपलब्ध तथ्यअनुसार, विभिन्न क्षेत्रका २ दर्जनभन्दा बढी कम्पनीको अहिले भित्रभित्रै प्रि-आइपीओ कारोबार भइरहेको छ। सेबोनले स्वीकृति दिएपछि कम्पनीको सेयर मूल्य हजारमाथि पुर्याउने सपना देखाएर सर्वसाधारणलाई सेयर बिक्री गर्ने काम भइरहेको छ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भएको प्रमाणपत्र देखाएका भरमा समेत पैसा उठाउने काम भइरहेको छ। कम्पनीको आइपीओ आउने/नआउने थाहा छैन। कस्तो कम्पनी हो, त्यो पनि थाहा छैन। तर पनि बजारमा यति मूल्य पुर्याउँछौं भनेर फिक्सिङ नै चलेको छ।
सेबोन अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ आएपछि प्रि-आइपीओको धन्दा चलेको हो। उनले भवन लिजमा लिएर भाडा खाने ‘ट्रेड टावर कम्पनी’लाई समेत सेयर जारी गर्न दिएपछि जस्ता कम्पनीले पनि आइपीओ जारी गर्ने भन्दै प्रि-आइपीओमै पैसा उठाउन थालेका हुन्।
‘५ देखि १० प्रतिशतसम्म कमिसन दिएपछि स्वीकृति पाइन्छ,’ प्रि-आइपीओबाट पैसा उठाउनु पर्ने बाध्यताको कथा सुनाउँदै एक सञ्चालकले भने, ‘३ वर्षपछि लकइन सकिन्छ। त्यसपछि हजार/१२ सयमा बिक्री गरियो भने पनि कमिसनलगायत सबै खर्च कटाउँदा ८ सय रुपैयाँसम्म फाइदा हुन्छ।’
सेबोन अध्यक्ष सन्तोषनारायणले जसरी पनि सञ्चालन अनुमति दिन चाहेको हिमालयन स्टक एक्सचेञ्जले पनि प्रि-आइपीओबाट पैसा उठाइरहेको थियो। तर, कम्पनी आउने अनिश्चित भएपछि केही लगानीकर्ताले पैसा फिर्ता माग्न थालेका छन्। यससम्बन्धी थप अर्को स्टोरीमा…










