काठमाडौं। पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा आफ्नो स्वामित्वमा रहेको सेयर खरिदका लागि नेसनल लाइफ इन्स्योरेन्सले गरेको प्रस्ताव स्वीकार गरेको छ।
संस्थापक सेयरधनी नेसनल लाइफले गरेको प्रस्ताव आकर्षक रहेको भन्दै हबिब आफ्नो सम्पूर्ण सेयर बिक्री गर्न सहमत भएको हो। हिमालयन बैंकमा आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्नका लागि हबिबले संस्थापक सेयरधनीहरुलाई आह्वान गरेको थियो।
हबिबले ७ वर्षअघि आफ्नो सेयर बिक्री गर्न चाहेको थियो। कहिले विदेशी लगानीकर्तासँग बीचमै ‘डिल ब्रेक’ भएर त कहिले पुँजीगत लाभकरको विषय उठेर सेयर बिक्री गर्न सकिरहेको थिएन।
पछिल्लो समय हिमालयन रिलाई बिक्री गर्न उसले सम्झौता गरेको थियो। अरु कसैले सेयर नपाउने गरी हिमालयन रिले खरिद गर्ने सम्झौता भएको थियो। तर, जब बिक्रीका लागि सार्वजनिक आह्वान भयो, त्यसमा नेसनल लाइफको प्रवेश भएको थियो।
हबिबले हिमालयन बैंकलाई पत्र लेख्दै आफूले नेसनल लाइफको प्रस्ताव स्वीकार गरेको र त्यसलाई प्रकृयागत रुपमा अगाडि बढाइदिन भनेको छ। हिमालयन बैंकले आइतबार नेसनल लाइफलाई हबिबले प्रस्ताव स्वीकार गरेको र सेयर खरिदका लागि आवश्यक पर्ने कानुनी कागजपत्र ल्याउन भन्दै पत्र पठाएको छ।
हिमालयन बैंकको सेयर आफूबाहेक अरुले नपाउन् भनेर हिमालयन रि-इन्स्योरेन्सको आडमा २५ व्यावसायिक घरानालाई मिलाएर ‘प्रिपेड’ समूह तयार पारेका विवादास्पद व्यवसायी दीपक भट्टले तानाबाना बुनेका थिए।
बीमा, पुँजी बजार, क्रेडिट रेटिङलगायत कम्पनीहरुमार्फत ‘फाइनान्सियल एम्पायर’ बनाउन सफल दीपक भट्टको नेतृत्वमा संगठित २५ भन्दा बढी घरानाको व्यावसायिक समूहले बुनेको षड्यन्त्रलाई चुनौती दिंदै नेसनल लाइफले प्रस्ताव गरिएको भन्दा बढी मूल्य तिरेर सेयर खरिद गर्न आवेदन दिएको थियो।
हबिबले प्रति कित्ता ११२.८० रुपैयाँका दरमा सेयर बिक्रीमा राखेको थियो। बैंकमा हबिबको १२.९३ प्रतिशत सेयर स्वामित्व छ। यो भनेको २ करोड ८० लाख १२ हजार ४४८ कित्ता सेयर हो।
नेसनलले ११८.८ रुपैयाँका दरले १२.९३ प्रतिशत सेयर खरिद गर्ने प्रस्ताव पेस गरेको थियो। हिमालयन बैंकको सेयर बिक्री गर्न हबिबले आफ्ना प्रतिनिधि नै नेपाल पठाएको थियो।
नेसनलले अपेक्षाभन्दा बढी मूल्य हाल्ने भएपछि पाकिस्तानी प्रतिनिधि उत्साहित हुँदै प्रकृया चाँडो टुङ्याइदिन भन्दै राष्ट्र बैंक पुगेका थिए। उनको डर बीमा प्राधिकरण लगाएर भट्टले यो डिल बिगारिदिन्छन् कि भन्नेमा छ।
औपचारिक रुपमा हबिब-नेसनल लाइफको डिल राष्ट्र बैंकमा पुगिसकेको छैन। राष्ट्र बैंकका अधिकारीहरुले सबै प्रकृया सकेर अनौपचारिक रुपमा प्रस्ताव ल्याउन भनेका छन्। उनीहरुले एकीकृत निर्देशिका पल्टाउँदा नेसनलले हिमालयन बैंकको सेयर किन्न सक्ने देखिएको छ।
तर, बीमा प्राधिकरणले भने अड्को थाप्न सक्छ कि भन्ने डर हबिब र नेसनल दुवैलाई छ। स्रोतका अनुसार, नेसनलले प्रस्ताव गरेपछि त्यहाँ सञ्चालक रहेका एक जनालाई भट्टले थर्काएका थिए। ती सञ्चालक भट्ट क्याम्पमा छन्। नेसनलले प्रस्ताव हाल्दैछ भनेर किन नभनेको?’ भन्दै भट्ट रिसाएका थिए।








