पर्यटकका लागि प्रिमियम ‘बाघ’ ! टाइगर टप्सले थाप्ने बल्छीमा पाडो

ऋषिकेश दाहाल
२०८२ असार २१ गते ०७:५० | Jul 5, 2025
पर्यटकका लागि प्रिमियम ‘बाघ’ ! टाइगर टप्सले थाप्ने बल्छीमा पाडो

जंगलभित्र टाइगर टप्स। त्यसमा आउने पाहुना अलग्गै स्तरका। जंगलमा आएर बास बस्नुको प्रमुख ध्येय – नांगा आँखाले बाघको अवलोकन। खर्चालु स्वभावका ती हाइ क्लास पर्यटकलाई बाघ देखाउन टाइगर टप्सले नजिकै बाँधेर राख्थ्यो – पाडो। त्यही पाडोको सिकार गरिरहेको जंगली बाघको दृश्यका लागि पर्यटक खर्च गर्न अलिकति पनि हिच्किचाउँदैन थिए।

Tata
GBIME

चितवन मेघौलीको घाँसे मैदानमा सानो विमान अवतरण हुँदा नै एड्भेन्चरको एउटा चरण पूरा भइसक्थ्यो। त्यसपछि हात्तीमा चढेर अथवा जीपबाट जंगल भित्रको रिसोर्ट यात्रा। यसखाले महँगो ट्रिपको प्रिमियम सन्दर्भ चाहिँ यहाँ पाइने टाटे बाघ अवलोकन।

नेपालको जंगल टुरिज्मलाई चिनारी दिने टाइगर टप्सको भग्नावशेष अझै छ जंगलभित्र। चितवन राष्ट्रिय निकुञ्ज बाहिर धेरै लगानीमा होटल र रिसोर्ट बनेपछि जंगलभित्रका रिसोर्ट विरुद्ध अभियान छेडियो। संरक्षणका नाममा मिडियाबाजी पनि चल्यो। बाघ हेर्नका लागि ठूलो धनराशि खर्चने पर्यटकको आवागमन रोकियो। निकुञ्ज वरपर भिड बढ्यो तर पर्यटकको एउटा ‘क्लास’ गायब भयो।

पछिल्लो समय पर्यापर्यटनमा सक्रिय वसन्त मिश्र फेरि निकुञ्ज भित्रको पर्यटन ब्युँताउने अभियानमा थिए। गत वर्ष उनको निधनपछि जंगलभित्रको रिसोर्ट, बाघ र गैंडा देखाउने पर्यटन अभियानमा धक्का लागेको छ। केही व्यवसायी फेरि जंगलभित्रको पर्यटकीय रौनक भित्र्याउने प्रयासमा छन्। जंगलभित्रबाट रिसोर्ट हटाउन प्रेरित गर्ने मिडियाहरू ‘यू टर्न’ हुन थालेका छन्। गुमेपछि महत्त्व चाल पाउनु नेपालीका लागि नियमित आकस्मिकता बनेको छ।

एक्काइसौं शताब्दीको पहिलो दशकामा विश्वका नेपाल सहित १३ देशमा बाघ थिए। सन् २०२४ सम्म आइपुग्दा भियतनाम, लाओस र कम्बोडियाबाट बाघ लोप भइसकेका छन्। विश्वमा अहिले ५ हजार भन्दा कम बाघ छन् जसमध्ये धेरै भारतमा छन्। बाघका लागि नेपाल पाचौं ठूलो देश हो अहिले।

टाइगर टप्ससहितका चितवनको जंगल भित्रका रिसोर्टको त्यो पुरानो भव्यतालाई एकफेरि सम्झाइदिएको छ पुस्तक ‘बाघको अस्तुले।’ ‘श्री ५ को सेवामा’ पुस्तकका लेखक हेमन्त मिश्रले लेखेका हुन् बाघको अस्तु। जसमा पटकपटक टाइगर टप्सका पाहुना, बाघले सिकार गरोस् भनेर बाँधेर राखिएका पाडाको सन्दर्भ जोडिन्छ।

हेमन्त जंगल टुरिज्मसँग जोडिएका वसन्तका दाजु हुन्। त्यसभन्दा पनि ठूलो उनको पहिचान छ – एक संरक्षण अभियन्ता। राजा महेन्द्रको मृत्युपछि राजा वीरेन्द्रले चितवनमा गैंडाको सिकार गरेर त्यसको रगतले तर्पण दिएका थिए। जीवनभर वन्यजन्तु संरक्षणको अभियानमा जोडिएका हेमन्त त्यही गैंडा सिकारमा मात्र जोडिएनन्। गैंडाको शरीर भित्र पसेर त्यसको रगतले तर्पण दिनेमध्येमा पनि परे। संरक्षण र सिकारको द्वन्द्वग्रस्त मानसिकतालाई उनले ‘श्री ५ को सेवामा’ उतारेका छन्। बाघको अस्तुमा भने बाघकै सन्दर्भमात्र छ।   

मान्छे खाने बाघ र बाघ खाने मान्छेको कथामा केन्द्रित छ हेमन्तको यस पुस्तक। उनले तयार पारेको बाघको सिकारका शृंखलाबद्ध कथाहरूले प्रकृतिको सबैभन्दा डरलाग्दो प्राणीका रुपमा मानिस नै देखा पर्छ। भलै बाघ भन्नसाथ सबै किन नडराउन ! ‘श्री ५ को सेवामा’ आफ्नो जीवनका बहुआयामिक दृश्यलाई शब्दमा उतारेका हेमन्तले ‘बाघको अस्तु’मा भने यस भव्य प्राणीप्रति अत्यन्तै संवेदनशीलता प्रकट गरेका छन्।

कुनै बेला टन्नै बाघ पाइने मुलुकमा अहिले एउटा पनि बाघ नरहेका तथ्यले यसप्रति हिंस्रक र मानिस खाने बाघलाई पनि लेखकले करुणाको पात्रका रुपमा स्थापित गरेका छन्। घाइते भएपछि, सिकार गर्न नसकेको अवस्थामा अथवा अन्य जनावर भन्ठानेर नै बाघले मानिसको सिकार गर्ने गरेको उनको तर्कले यस प्राणीप्रति कठोर बन्न दिँदैन। संरक्षणमा लामो जीवन अर्पण गरेकाले पनि उनले जुटाएका तथ्यमाथि प्रश्न गर्ने ठाउँ छैन।  

एक्काइसौं शताब्दीको पहिलो दशकामा विश्वका नेपाल सहित १३ देशमा बाघ थिए। सन् २०२४ सम्म आइपुग्दा भियतनाम, लाओस र कम्बोडियाबाट बाघ लोप भइसकेका छन्। विश्वमा अहिले ५ हजार भन्दा कम बाघ छन् जसमध्ये धेरै भारतमा छन्। बाघका लागि नेपाल पाचौं ठूलो देश हो अहिले। लेखकले बाघको उत्पत्तीदेखि त्यसका पुस्तेनी विकास र फैलावटका फेहरिस्त पुस्तकमा समेटेका छन्। बाघप्रतिका मिथकहरू पूर्वीयदेखि पाश्चात्य संस्कृतिमा कसरी स्थापित भएका छन्, त्यसको विश्लेषण गरेका छन्। अंग्रेजलाई खुशी पार्न नेपालमा कसरी बाघको सिकार गर्न राणा र शाहहरू अघि सरे भन्ने तथ्यलाई उजागर गरेका छन्।

पुस्तकबाट साभार तस्वीर

‘सन् १९३३-१९४० को बीचमा राणा प्रधानमन्त्री जुद्धशमशेरले हालको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा चार सय ३३ वटा बाघ सिकार गरेका थिए।

… तर बेलायती उपनिवेश भारतका शासक भाइसराय लर्ड लिनलिथगोले जुद्धशमशेरको बाघ सिकारको रेकर्ड तोडेका थिए। उनले सन् १९३९ मा चितवनमा एक सिकारमा नै एकसय २० वटा बाघ मारेका थिए।’

यसखाले तथ्यले बाघ सिकारलाई पुरुषार्थका रुपमा कसरी लिइन्थ्यो भन्ने देखाउँछ। बेलायती राजपरिवारको चितवनमा सिकार यात्रा होस् या चीनमा बाघ पालनको सन्दर्भ, एकैपटक रोचक र सोचनीय सन्दर्भको उठान हुन्छ। सन् १९७९ को अन्त्यतिर मान्छे मार्ने बाघलाई सित्तैमा मार्नुको सट्टा त्यसबाट आर्थिक लाभसमेत प्राप्त गर्न सकिन्छ भन्ने प्रस्ताव अमेरिकाको अन्तर्राष्ट्रिय सफरी क्लबले गरेको थियो। त्यसलाई नेपालसम्मै जोड्ने उनीहरूको प्रयास थियो जसलाई सोझै नकारिएको रहेछ। यी सन्दर्भले कन्जर्भेसनमा नेपालको प्रतिबद्धता कति बलियो थियो भन्ने देखाउँछ।

लेखकले बीसौं शताब्दीमा युरोपका राजरजौटा र धनाढ्य व्यक्ति बाघको सिकार गरेर पुरुषार्थ प्रदर्शन गर्थे भन्ने सन्दर्भलाई उठान गरेर यसको जोखिमपूर्ण जीवनबारे प्रष्ट्याएका छन्। त्यतिखेर जिउँदो बाघ बहुमूल्य उपहारका रुपमा दिने प्रचलन धनीबीच रहेको पाइन्छ।

बाघबारे प्राचिनकालदेखि समकालीन परिवेशसम्म पनि अन्धविश्वासले बलियोगरी जरा गाडेको पाइन्छ। मिश्र लेख्छन्, ‘बाघ सिकारमा सोखिन कुबलाई खान कुकुरको पासो थापेर बाघ मार्थे। त्यसको लिंग र अण्डकोषमा यौनशक्ति वृद्धि गर्ने औषधीय गुण भएको विश्वास गर्दै खान्थे।’

पुस्तकबाट साभार तस्वीर

अर्को सन्दर्भ पनि रोचक लाग्छ बाघका विषयमा। औपनिवेशकालमा भारतमा बेलायती अधिकारीबीच कुरा हुन्थ्यो – ‘गुप्त रुपमा हिन्दुस्तानी महिलालाई रखौटी राख्‍नु र बाघको सिकार खुल्लम खुल्ला गर्नू’ भन्ने कथ्य सन्दर्भले पुरुषत्वको व्याख्या गर्छ। त्यतिखेर भारतमा आउने बेलायती भाइसरायको महत्त्वकांक्षा हुन्थ्यो बाघको सिकार। नेपालमा श्री ३ र पछि श्री ५ हरूले उनीहरूलाई खुसी बनाउन बाघको निर्वाध सिकार गराउँथे।

राजा महेन्द्रको पाहुँना भइ आएका विदेशीहरु धेरै बाघ सिकारमा जान्थे। बेलायतको महारानी एलिजबेथ द्वितीयको सिकारका लागि भएको खर्च, उनलाई खुसी पार्न दरबारबाट भएका व्यवस्था रोचक लाग्छ। सन् १९६१ मा नेपाल आएका राजकुमार फिलिप र महारानी एलिजाबेथले चितवनमा सिकार गर्न गएकी थिइन्। त्यतिखेर बेलायतीलाई रिझाउन बाघमात्र होइन राजा महेन्द्रले गैंडाको समेत सिकार गराएका थिए।

सन् २०२२ जुलाईमा बीबीसीले नेपालमा बाघको संख्या वृद्धिको विषयलाई लिएर रिपोर्ट तयार पार्‍यो जसको शीर्षक थियो ‘नेपाल: रिटर्न अफ द टाइगर्स ब्रिङ्स बोथ जोय एन्ड फियर’ अर्थात् बाघ फर्किँदा नेपालमा खुशी र डर दुवै छाएको छ।

नेपालीले आफ्नो ज्यान गुमाएर बाघ संरक्षण गरेका सन्दर्भ विश्वका लागि उदाहरणीय छ। तर, पीडितको अवस्था, जंगल र बस्तीबीचको द्वन्द्व निरन्तर छ। घाँस काट्न गएकादेखि बटुवालाई आक्रमण गरेका सन्दर्भ र बाघलाई नियन्त्रण लिनुपर्दा तथा कहिलेकाहिँ मार्नुपर्ने अवस्थाको व्याख्या लेखकले विस्तृत रुपमा गरेका छन्।  

सन् १९८० को सुरुवातसँगै चीनमा निजी क्षेत्रलाई बाघ पाल्न दिन थालियो। त्यहाँ बाघको मासु खाने र बाघकै रक्सी पिउने विलासी सौखका रुपमा स्थापित थियो। यस्ता उत्पादन उपभोग गर्ने धेरै ग्राहक धनाढ्य वर्गका हुन्थे। त्यसको असर चीनमा सक्कली भन्दै नक्कली बाघको मासु र हड्डीको कारोबार पनि चल्यो। संरक्षण अभियन्ताहरूको चर्को दबाबपछि यसखाले रक्सी र मासुको कारोबार भूमिगत रुपमा हुने गरेको लेखकको दाबी छ। नेपालबाट बाघका हड्डी र छाला तस्करीका घटना यिनै सन्दर्भसँग जोडिन्छन्।

चीनमात्र होइन, अमेरिकामा पनि यसरी नै बाघ पालिएको छ। निजी सम्पत्तिका रुपमा बाघ पालन भए पनि त्यसको संख्या यकिन छैन।

सन् १९७५ मा लोपोन्मुख जंगली जीवजन्तु र वनस्पतिका अन्तर्राष्ट्रिय व्यापार सम्झौता (साइटिस)ले बाघका अंगको व्यापारमा प्रतिबन्ध लगाएको हो। चर्को अन्तर्राष्ट्रिय दबाबका कारण चीनले बाघको हाडको अन्तर्राष्ट्रिय कारोबार नियन्त्रण गर्ने घोषणा गर्‍यो, जुन प्रभावकारी रुपमा लागू भएन। चीनमात्र होइन, अमेरिकामा पनि यसरी नै बाघ पालिएको छ। निजी सम्पत्तिका रुपमा बाघ पालन भए पनि त्यसको संख्या यकिन छैन।

विश्वमा प्रक्षेपण भएअनुसार जसरी बाघ लोप हुन्छ भनियो, नेपालजस्ता देशका कारण त्यो ‘हाइपोथेसिस’मै सीमित रह्यो। संरक्षणमा नेपालको प्रतिबद्धता अहिले पनि कायम छ। माओवादी द्वन्द्व समाप्त भएपछि बाघको संख्या नेपालमा बढिरहेको छ। तर, संरक्षणमात्र गरेर त्यसबाट प्रतिफल लिने काममा भने नेपाल पछाडि नै देखिन्छ। जसरी नेपालको पर्यटन प्रवर्धन र वन्यजन्तु संरक्षणका लागि टाइगर टप्सले मोडालिटी बनाएको थियो, त्यो सफल बनेको थियो।

अब फेरि त्यही मोडालिटी अगाडि बढाउने हो भने पक्कै पनि जंगलभित्र बाघ हेर्नका लागि हाइ इन्ड पर्यटक नेपाल भित्रिने छन्। निकुञ्ज भित्र खण्डहर बनेका रिसोर्टले जीवन पाउनेछन्। अनि टाइगर टप्सहरूले पासोमा राखेको पाडाहरूको सिकार गरिरहेको बाघ देखाउने छन्। विश्वबाट लोप हुँदै गरेका बाघलाई जंगलको बीचमा सिकार गरिरहेको दृश्य फेरि संसारभर फैलिने छ।

  • पुस्तक : बाघको अस्तु
  • लेखक : हेमन्त मिश्र
  • प्रकाशक : फाइन प्रिन्ट

यो पनि पढ्नुस्