सनसनीखेज पुस्तक श्री ५ को सेवामा: ‘वन्यजन्तु संरक्षणदेखि हिप्पीले ल्याएका ल्याण्डरोभरसम्म’

ऋषिकेश दाहाल
२०८१ माघ २६ गते ०६:०७ | Feb 8, 2025
सनसनीखेज पुस्तक श्री ५ को सेवामा: ‘वन्यजन्तु संरक्षणदेखि हिप्पीले ल्याएका ल्याण्डरोभरसम्म’


काठमाडौं। उन्नाइस वर्षको उमेरमा बीएस्सी सकेपछि फुर्सदमा रहेका हेमन्त मिश्रले एउटा कामको अफर पाउँछन् – फिक्सरको।

Tata
GBIME
NLIC

काठमाडौंका रैथाने हेमन्तका लागि बेलायतबाट डकुमेन्ट्री बनाउन आएको तीन जनाको समूहसँग हिमाली भेगको यात्रा चुनौती र रोमाञ्चक त थियो नै। तर, त्यसभन्दा बढी थियो – सस्पेन्स र थ्रिलर। डकुमेन्ट्री रिलिज भएपछिमात्र खुल्यो त्यो सस्पेन्स। नेपाली भूमिबाट तिब्बत छिरेर चिनियाँ सैनिकलाई एम्बुस पार्ने बेलायतीको सेक्रेट मिसनमा उनी जोडिएका रहेछन्।

‘रेड इन्सइड तिब्बत’ शीर्षकको डकुमेन्ट्री रिलिजपछि उनले थाहा पाए – तीन दिन उनलाई चुम उपत्यका छाडेर गएका जर्ज प्याटर्सन, क्रिस मेन्जिस र एड्रियन कोवेलले चिनियाँ सेनामाथि आक्रमण गराउन खाम विद्रोहीलाई प्रयोग गरेका रहेछन्। कम्तीमा १२ चिनियाँ सैनिकको मृत्यु भएको भिडियो देखेपछि हेमन्त कस्तो मनस्थितिमा पुगे होलान्?

नेपाली भूभाग प्रयोग गरेर चीनविरुद्धको मिसनमा जोडिएका डकुमेन्ट्री मेकर क्रिस मेन्जिस तिनै व्यक्ति रहेछन् जसले हलिउडको एकेडेमी अवार्ड जित्न सफल फिल्म ‘द किलिङ फिल्डस’को सिनेमाटोग्राफी सम्हालेका थिए। मैले कम्तीमा १० पटक हेरेको छु ‘द किलिङ फिल्डस’। सिनेमाटोग्राफर मेन्जिसको नेपाल नाताबारे जानकारी पाउँदा म रोमाञ्चित हुन थालिहालेँ। किनकि उक्त फिल्मका हरेक ‘सट’बाट म प्रभावित छु।

नेपालको वन्यजन्तु संरक्षणमा सबैभन्दा सम्मानित नाम हो – हेमन्त मिश्र। कुपण्डोलका रैथाने। उनको आत्मकथा ‘श्री ५ को सेवामा’ उनले आफ्नो जीवनका तिनै महत्त्वपूर्ण क्षणहरुलाई समेटेका छन् जुन पूरै सनसनीपूर्ण लाग्छ।     

मेरा लागि पुस्तकका सुरुका ५२ पेज पूरै फिल्मी। स्टोरीलाइनमा थ्रिलिङमात्रै। क्रिस मेन्जिसको परिचय पूरा नखुल्दासम्म पुस्तकका शब्दहरुले बलिउड निर्देशक अनुराग कश्यपको स्केच मेरो मानसपटलमा तयार पारिरहेको थियो। तर, यी तीन जना त कश्यपभन्दा धेरै ‘भयानक’ रहेछन्। नेपालमा लुकेर बसेका खम्पा विद्रोहीलाई प्रयोग गरेर चिनियाँ सेनालाई एम्बुसमा पार्ने दुस्साहसलाई कश्यपले जित्नसक्ने कुरै भएन।  

आक्रमणको सनसनीपूर्ण भिडियो फुटेज १९६० को दशकमा नेपालबाट बेलायत पठाउँदाको सन्दर्भ र यी सबै प्रक्रियासँग सरोकार राख्ने भूराजनीतिक जटिलताका एनेक्डोटहरु आङ सिरिङ्ग बनाउने छन्।

नेपालको पर्या-पर्यटनका पर्यायवाची- वसन्त मिश्र। उनैका दाजु हुन् हेमन्त। हेमन्तका सहपाठी हुन् कर्ण शाक्य। त्रिचन्द्र क्याम्पसदेखि देहरादुनको फरेस्ट्री कलेजसम्म यी दुवै सँगै रहे। निजामती सेवामा पनि सँगै प्रवेश गरे। कर्ण पछि पर्यटन व्यवसायतिर होमिए जागिर छाडेर।

ठमेललाई पर्यटकीय गन्तव्य बनाउन उनको सबैभन्दा महत्त्वपूर्ण योगदान रह्यो। सुरुमा वन र वन्यजन्तु संरक्षणमा सक्रिय हेमन्तको पेसागत पूर्वार्धमा पर्यटन पनि जोडियो अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनामार्फत्। त्यसबाहेक जीवनभर वन्यजन्तुको संरक्षण र त्यस वरपरका जनताको जीवनसँग उनी जोडिइरहे। पर्यटनको यी दुवैसँग नाता स्वाभाविक रुपमा हुने नै भयो। 

+++

काठमाण्डू र हिप्पी अन्योन्याश्रित हुन्। हिप्पीले नै कान्तिपुरी नगरीलाई विश्वभर चिनाए। युद्धको त्रासदी, चरम आर्थिक असन्तुलन र शीतयुद्धले युरोपेली युवालाई भड्काइरहँदा हिप्पी एउटा मुभमेन्टका रुपमा अघि बढ्यो।

ठीक त्यतिखेर हेमन्त उच्चशिक्षा अध्ययनका लागि संयुक्त अधिराज्य पुगेका थिए। बीचमा नेपालमा आउँदा उनलाई हिप्पीले ल्याएको परिवर्तन अवलोकन गर्न मन लाग्यो। र, चहार्न थाले – काठमाण्डू। प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिएको उपत्यका हिप्पीहरुको आखिरी गन्तव्य बनिरहँदा नेपालको अर्थतन्त्र चलायमान बन्न पुग्यो। महँगादेखि सस्तामस्ता खाजाघर खुले। गाडी भित्रियो। हेमन्त लेख्छन्, ‘हिप्पीहरु काठमाडौं पुग्न प्रयोग गर्ने सवारीसाधन विभिन्न प्रकारका थिए। तीमध्ये बेलायती ल्यान्ड रोभर, इटालियन फियाट, फ्रान्सेली सिट्रोन, जर्मन भक्सवागन र स्विडेनी साब गाडी धेरैजसो देखिन्थे। कतिपय यात्रु युरोपबाट नेपालसम्म मोटरसाइकलमै पुग्थे।’

उनका शब्दहरुमा अल्झिरहँदा मैले सम्झिए काठमाडौं-भक्तपुर रुटमा चल्ने डल्लो आकारका मिनीबस। अधिकांश मर्सिडिज ब्रान्डका। हिप्पीहरुको प्रवेशपछिमात्रै हो काठमाडौंले चर्चित ब्रान्डका गाडी देखेको। काठमाडौं हिप्पी रुटको अन्तिम स्टेसन भएकाले धेरैजसोले यहीँ आफूले ल्याएका गाडी बिक्री गर्थे र फर्किन्थे। मिश्रका अनुसार भारत वा अरु मुलुकमा चर्को कर तिर्नुपर्ने भएकाले यस्ता गाडी नबिक्ने रहेछन्।

गाडीमात्र होइन हिप्पीका कारण नेपाली रेस्टुराँका मेनु रोचक बनेको रहेछ। काठमाण्डू गाँजाका लागि ख्यातिप्राप्त थियो। झोँछेको फ्रिक स्ट्रिट नामुद। हिप्पीलाई गाँजा सित्तैमा खुवाएर अरु बिजनेस हात पार्थे व्यवसायीहरु। यहाँका रेस्टुराँहरुमा थरीथरीका मेनु हुन्थे तीनमा गाँजा परिकार थपिए। गाँजाको केक। गाँजाको आइसक्रिम। गाँजाको खीर। ‘मेनु गँजडीले नै तयार पारे जस्तो विचित्रको थियो,’ मिश्र लेख्छन्। नेपालको पर्यटन विस्तारमा हिप्पीको योगदन अतुलनीय रह्यो।

+++

हिन्दु परिवारका हेमन्त क्याथोलिकले संचालन गरेको सेन्ट जेभियर्स पढे। त्रिचन्द्र क्याम्पसको पढाइपछि बेलायतीले नै स्थापना गरेको देहरादुनको पढाइ। त्यसपछि फेरि संयुक्त अधिराज्यमा अध्ययन। सुरुमा वन पछि वन्यजन्तु जोगाउने जिम्मेवारी। धर्ती जति मानवका लागि हो उत्तिकै पशुपन्छीका लागि हो भन्ने बुझेका हेमन्त कतिपय अप्रिय घटनाक्रमसँग जोडिन्छन्। राष्ट्रिय निकुञ्जको अभियानमा जुटिरहेका हेमन्तसामु चितवनमा रहँदा एउटा कामको जिम्मेवारी आइलाग्छ – गैंडा मार्न सघाउने!

‘सन् १९६९ को सुरुवातसम्म राजा रजौटाले गैंडा मार्ने र तर्पण दिने जस्तो अन्धविश्वासी काम नेपालको पहिलो राष्ट्रिय निकुञ्जमा फेरि कदापि हुँदैन भन्ने मेरो विश्वास थियो,’ उनी लेख्छन्, ‘तर, त्यस विश्वासलाई राजदरबार र नेपालका धर्मिक वास्तविकताले गलत साबित गर्‍यो। त्यही वर्षको हिउँदमा राजा वीरेन्द्रद्वारा गैंडा तर्पण गर्ने निर्णय भयो।’

गद्दी असन गरेपछि आफ्नो राज्यकालमा राजाले एक पटक गैंडाको शरीरभित्र पसेर रगतले तर्पण दिनुपर्ने चलन रहेछ। हिन्दु परिवारमा जन्मे पनि शिक्षादीक्षा पूरै विज्ञान केन्द्रित भएकाले उनी विचलित भएको देखिन्छ। मारिएको गैंडाको शरीरभित्र पसेर राजाले देशको शान्ति र समृद्धिका लागि पितृहरुलाई तर्पण दिँदै पूजाआजा गर्नुपर्ने। राजा वीरेन्द्रले गैंडाको सिकार कसरी गरे निक्कै सनसनीपूर्ण रुपमा व्याख्या गरेका छन् उनले। त्यहीक्रममा उनी भावुक लाग्छन्। चितवनबाट एक सय माइल परको लुम्बिनीलाई कनेक्ट गर्छन् उनी। लुम्बिनीमा एउटा युवराज राजकाज छोडेर शान्तिको खोजीमा हिँडेको र अर्को राजाले शान्तिका लागि गैंडा बली दिएर तर्पण दिएको विरोधाभाषपूर्ण विषयले उनी छटपटिएको देखिन्छ। विज्ञानले पनि विश्वासका सामु घुँडा टेक्छ। राजाले मरेको गैंडाभित्र पसेर तर्पण गरेपछि मर्यादाक्रमअनुसार उनको पनि पालो आउँछ। उनले पनि त्यसैको अनुसरण गर्छन्। रगतको तर्पण गरेपछि उनमा पनि सन्तोषानुभूति हुन्छ जसलाई विज्ञानले मापन गर्न सक्दैन।

चितवनबाट गैंडा स्थानान्तरण गरेर बर्दिया पुर्‍याउँदाका सन्दर्भ प्रेरक छन्। वन्यजन्तु संरक्षण गर्दा मध्यवर्ती क्षेत्रका जनताको दु:ख। त्यसको व्यवस्थापन अझ चुनौतीपूर्ण। बाघ होस् या हात्ती आतंक! हेमन्त दुवैलाई जोगाउन सक्रिय। हात परेका सफलता र असफलता दुवैलाई उनले पुस्तकमा स्वीकारोक्तिसहित प्रष्ट्याएका छन्।     

+++

राष्ट्रिय निकुञ्ज स्थापनामा सधैं सक्रिय हेमन्तको सगरमाथा राष्ट्रिय निकुञ्ज स्थापनाका सन्दर्भ मेरालाई थप चाखपूर्ण विषय थियो। विश्व वन्यजन्तु कोषका अध्यक्ष तथा नेदरल्यान्डसका राजकुमार बार्नहार्ड सगरमाथा क्षेत्रमा निकुञ्ज स्थापनाको सूत्रधार थिए। राजा वीरेन्द्रले उनकै अनुरोधमा विश्वको सर्वोच्च शिखर रहेको खुम्बुमा निकुञ्ज स्थापनाको अध्ययन र लागू गर्न लगाए।

र, त्यसको जिम्मा दिए त्यतिखेर मुलुकको तेस्रो शक्तिशाल व्यक्ति ज्ञानेन्द्र शाहलाई। हेमन्त मिश्रले सिंगो शाह वंशलाई वन्यजन्तु संरक्षणको सूत्रधार मानेका छन्। पृथ्वीनारायण शाहले ब्रिटिस उपनिवेश नेपालतिर नआइपुगोस् भन्ने रणनीति अख्तियार गरेर तराईमा घन वनजंगल बनाएको उनको तर्क छ। मलेरियाका कारण उनीहरु नेपाल आउन नसकुन् भन्ने रणनीतिक उद्देश्य पृथ्वीनारायणले लिएर उनको तर्क छ।

आधुनिक संरक्षणमा राजा महेन्द्रको योगदान उनले सबैभन्दा बढी रहेको तर्क गरेका छन्। महेन्द्रकै नीतिलाई उनका छोराहरुले अवलम्बन गरेको उनले लेखेका छन्। संरक्षणमा सन् १९७० को दशकमा ज्ञानेन्द्र शाह जोडिन्छन्- सगरमाथा राष्ट्रिय निकुञ्ज मार्फत्। हेमन्त निकुञ्ज बनाउन मिसनसहित पहिलो पटक खुम्बु पुग्छन्।   

खुम्बुको सन्दर्भले मलाई पनि जोड्यो। सन् २००३ मा म आफैँ खुम्बु ट्रेकमा गएको थिएँ। थ्याङ्बोचे गुम्बाको रिम्पोछेले शेर्पा भाषाको शब्दकोष बनाउँदै गरेका छन् भन्ने राष्ट्रिय निकुञ्ज विभागको एउटा रिपोर्ट पछ्याउँदै म पनि पुगेको थिएँ – रिपोर्टिङ गर्न। उनको पुस्तक पढेपछि थाहा लाग्यो – त्यही गुम्बाका रिम्पोछेले निकुञ्ज बनाउन सघाएका रहेछन्। स्थानीयहरु निकुञ्ज बनाउने पक्षमा थिएनन्। धर्मगुरुका साथै केही स्थानीय भलाद्मी र पछि एड्मन्ड हिलारीले हेमन्त नेतृत्वको मिसनलाई सघाएको थियो। पहिलो सगरमाथा आरोही हिलारी पछि न्युजिल्यान्डका लागि नेपालको राजदूत बनेर यहाँ आएका थिए।    

सगरमाथा राष्ट्रिय निकुञ्ज बनाउने घोषणा चाहिँ ज्ञानेन्द्र शाहले जर्मनीमा आयोजित विश्व वन्यजन्तु कोषको तेस्रो महाधिवेशनमा गरेका रहेछन्। २६ वर्षको उमेरमा उनी त्यहाँ मुख्य वक्ताका रुपमा रहेको र सबैलाई प्रभावित पार्नेगरी प्रस्तुति दिएको मिश्रले उल्लेख गरेका छन्।  

तस्वीर : एनटीएनसी

+++

गरिबीले चरम दुरावस्था भोगेको नेपाल संरक्षणमा भने एकाएक उदाइरहेको थियो – विश्वलाई नै चकित पार्नेगरी। जस्तो कि सन् १९८० को दशकमा नेपाल विश्वका विकासोन्मुख मुलुकको पुछारका शीर्ष १० भित्र पर्थ्यो। औसत नेपालीको आयु ४४ वर्ष। २३ प्रतिशतमात्रै शिक्षित। वन्यजन्तु र मानिसबीच बाँच्नकै लागि संघर्ष जारी थियो। त्यस्तो अवस्थामा वन्यजन्तु संरक्षणलाई प्राथमिकतामा राखेर नेपालले अद्भुत परिणाम निकालिरहेको थियो।

यस्तै परिदृश्यमा महेन्द्र प्रकृति संरक्षण कोष स्थापना भयो। सुरुमा त एनजीओको रुपमा स्थापित हुने भएपछि मिश्र सन्तुष्ट रहेनछन्। किनकि त्यतिखेर पनि अहिले जस्तै डलरे भनिने रहेछ यस्ता क्षेत्रमा लाग्नेलाई। त्यसमाथि एनजीओको संख्या पनि बढ्दोक्रममा रहेछन्। पछि कोष अर्ध-सरकारी संस्थाका रुपमा रह्यो। १९८२ मा श्री ५ महेन्द्र प्रकृति संरक्षण कोष ऐन २०३९ जारी भयो। त्यसका संरक्षक रहे राजा वीरेन्द्र। अध्यक्ष बने ज्ञानेन्द्र शाह। तीन जना ‘हाइ प्रोफाइल’ विदेशी यसको संचालक समितिमा रहे। र, कार्यकारी भूमिकामा पहिलो सदस्य सचिव रहे हेमन्त।

यसको स्थापना अघिदेखि नै संचालनमा रहेको नेपाल टाइगर इकोलोजीलाई कोष मातहत ल्याइयो। चितवनबाट कोषले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रारम्भ गर्‍यो। नेपालको ग्रामिण पर्यटनका लागि यो एउटा महत्त्वपूर्ण कदम साबित भयो। संरक्षणबाट मिश्र अब गण्डकी र धौलगिरि अञ्चलका जनताको जनजीवीकासँग पनि जोडिए। पर्यावरण र संरक्षण त उनको साथमा थियो नै।

एक्याप त्यतिखेर सुरु भयो जतिखेर अन्नपूर्ण क्षेत्रमा पर्यटकका विस्तारका कारण रुख सखाप हुँदै थिए। विदेशीलाई न्यानो पार्न तीनगुना दाउरा खपत भइरहेको थियो। फोहर विस्तार १५ गुना। जुन ठाउँ पर्यटनका लागि निर्भर छ त्यो असुरक्षित हुँदै गइरहेको थियो। यही रफ्तार रहे उक्त क्षेत्र पहाडी मरुभूमि बन्ने आकलनमा पुगेका थिए मिश्र। एक्यापमा नोर्बु शेर्पा, ब्रट कोबर्न, चन्द्र गुरुङजस्ता व्यक्ति जोडिए। यिनीहरुले प्रकृति मानव र पर्यटन सबैको विकास हुनेगरी गुरुयोजनामा सक्रिय रहे। यी सबैको नाम नेपालको पर्यापर्यटनमा स्थापित बन्यो। एक्यापका कारण यस क्षेत्रमा सुधारिएका चुलो प्रयोग हुन थाले।

सन् २००१ मा घन्द्रुकमा पुग्दा अँगेनोमा जोडिएको फलामे पाइप देखेर मलाई अनौठो लागेको थियो। खान पकाइरहँदा पाइपमार्फत् पानी तताइँदो रहेछ। एक्यापकै सहयोगमा घरघरमा यसखाले सुविधा उपलब्ध भएको रहेछ। बाटो निर्माणदेखि सरसफाइ लगायतका विषयले प्राथमिकता पाउनुमा यही संस्थाको भूमिका  आफैँले देखेकाले मिश्रका सन्दर्भ रिलेट भइरहे। आमा समूहको सक्रियता र सामाजिक सुधारका विषयले बसाएको जग अझै कायम छ।  

+++

चितवनमा कुनै रोग फैलिएर गैंडा सखाप भए के होला? त्यही चिन्ताले गैंडा बर्दिया राष्ट्रिय निकुञ्ज स्थानान्तरण भएको सन्दर्भ रोचक लाग्छ। झापाका ज्यानमारा हात्ती नियन्त्रणको असफल प्रयास सनसनीपूर्ण छ। डार्ट गरेर बेहोस गराउँदा हात्तीको मृत्यु हुँदा हेमन्त दु:खी थिए तर स्थानीय जनता खुशी। हात्ती मार्दा दु:खी हेमन्त त्यहाँ बासिन्दाका सामु हिरो साबित भएका थिए।

संरक्षणमा सधैं सक्रिय हेमन्तलाई सन् १९८७ मा विश्व वन्यजन्तु कोषले गेपल गेटी संरक्षण पुरस्कार दियो। प्रकृति तथा वन्यजन्तु संरक्षणमा यो सबैभन्दा प्रतिष्ठित पुरस्कार। वर्षमा एक जनाले मात्र पाउने ५० हजार अमेरिकी डलरको पुरस्कार सन् १९७४ मा अमेरिकाका धनाढ्य जेपल गुटीले स्थापना गरेका थिए। यो पुरस्कार पाउने हेमन्त तेस्रो एसियाली र सबैभन्दा कम उमेरका थिए।

उनका शब्दमा सगरमाथापछि नेपाललाई विश्वमा चिनाउने एकसिंगे गैडा हो। त्यसलाई जोगाउन उनको प्रयास सधैं रह्यो। सन् १९७० देखि २००० सम्मलाई नेपालमा प्रकृति संरक्षणको स्वर्णीम तीन दशक मानेका छन् उनले। तर, जसै दरबार हत्याकाण्ड र माओवादीको हिंसात्मक आन्दोलन चर्कियो निसानामा पर्‍यो निकुञ्ज। चोरी तस्करी मौलायो। असर गैंडा ह्वात्तै घटे।

विश्वकै अत्यन्त सफल निकुञ्जमा दरिएको चितवन राष्ट्रिय निकुञ्ज संसारका संकटग्रस्त निकुञ्जको सूचीतिर लम्कियो। हेमन्त संसारका सबै कम्युनिस्टप्रति संरक्षणका विषयलाई लिएर आलोचना गर्छन्। तिनले सबैभन्दा कम प्राथमिकतामा यस क्षेत्रलाई राखेको उनको गुनासो छ। माओवादी द्वन्द्व अन्त्य भएपछि संरक्षणमा फेरि सुधारको संकेत देखेका छन्। तर, उनमा संशय बाँकी नै छ – चरम गरिबीको अवस्थामा समेत संरक्षण भएका वन्यजन्तु लोप हुने जोखिम सम्पन्न हुँदै गर्दा घटेको छैन। बढिरहेकै छ।