
काठमाडौं। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल सडक खण्डको दाउन्ने क्षेत्र अवरुद्ध हुँदा उद्योग व्यवसायमा गम्भीर असर परेको छ। ८/९ दिनदेखि मालवाहक गाडी बाटोमै रोकिँदा आपूर्ति शृङ्खला खलबलिएको छ भने व्यवसायीहरुले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परिरहेको छ।
देशको लाइफलाइनका रुपमा रहेको नारायणघाट-बुटवल खण्डको अहिलेको अवस्थाले सडक पूर्वाधार निर्माण र मर्मत सम्भारमा सरकारी संयन्त्र पूर्णरुपमा असफल भएको सन्देश प्रवाह भएको छ। यो सडक खण्ड बन्द हुँदा जनजीवनदेखि आर्थिक क्रियाकलापलाई प्रत्यक्ष असर गरेको छ।
विनयी खोलाको डाइभर्सन बगाएपछि नारायणघाट-बुटवल सडक ठप्प भएको छ। पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलाको डाइभर्सन बगाएपछि संचालनमा ल्याइएको वैकल्पिक बाटो पनि अवरुद्ध भएपछि सवारी आवागमन ठप्प भएको हो।
नारायणगढ-बुटवल सडक खण्डको दाउन्नेमा पहिरो र विनयी खोलाको डाइभर्सन बगाएका कारण सवारी ठप्प हुँदा देशको औद्योगिक लाइफलाइन नै प्रभावित भएको छ। यो अवरोधले पूर्व-पश्चिम राजमार्ग लगभग टुटेको अवस्थामा छ। यो दृश्यले सरकारी संयन्त्र कति निकम्मा र लापरबाह छ भन्ने पनि छताछुल्ल भएको छ।

यो सडक औद्योगिक ‘लाइफलाइन’ मात्र नभई एसियन हाइवेको एक महत्त्वपूर्ण खण्ड पनि हो।
नारायणघाट-बुटवल खण्डमा अवरोधका कारण बुटवलबाट काठमाडौंमा तीन दिनमा हुने ढुवानीका लागि १४/१५ दिन लाग्न थालेको छ, जसले गर्दा ढुवानी लागत अकासिन पुगेको छ। औद्योगिक उत्पादनको लागत बढाउनुका साथै कच्चा पदार्थ र तयारी वस्तुहरुको आपूर्ति शृङ्खलालाई नै खलबल्याएको छ।
पाल्पाको बाटो भएर जाँदा पनि सिद्धबाबा क्षेत्रमा जोखिम उस्तै छ। उपत्यकामा रहेका उद्योगहरुले आफ्ना सामान बाहिर पठाउन पाइरहेका छैनन्। बुटवलबाट नारायणघाटतर्फ हिंडेका प्रायः सबै गाडी नवलपरासी पश्चिमको बर्दघाट, भुमही, हकुईमा अड्किएका छन्।
नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष तथा राइस मिल उद्योगी गुणनिधि तिवारीले सडकमा अवरोधका कारण व्यवसाय चौपट हुन पुगेको बताए।
‘ढुवानी लागत ह्वात्तै बढ्न पुगेको छ। त्यही पनि समयमा सामान नपुग्ने समस्या छ। बाटोमा कति दिन बस्नुपर्ने हो भन्ने ठेगान छैन। सडकले व्यापार व्यवसाय चौपट भयो,’ उनले भने, ‘आलु, प्याज जस्ता वस्तु बाटोमै बिग्रिने गरेका छन्।’
नवलपरासी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा मारुती फुड पार्कका निर्देशक वीरेन्द्र कुमार अग्रहरिले बाटोको समस्याका कारण भैरहवा नवलपरासी औद्योगिक करिडोरका व्यवसायी उद्योग बन्द गरेर बस्नुपर्ने बाध्यता रहेको बताए।
‘नारायणघाट-बुटवल सडक खण्डको अवरोधले हाम्रो उद्योग मात्रै होइन, देश नै ठप्प हुने अवस्थामा पुगेको छ,’ उनले भने, ‘यो अवरोधले ढुवानीमा ठूलो असर पारेको छ। मैले पठाएको ट्रक सात दिन बितिसक्दा पनि काठमाडौं पुग्न सकेको छैन।’

ढुवानी प्रभावित हुँदा दिनकै १५०० रुपैयाँका दरले चालक खर्च बढ्छ। गाडीको दैनिक भाडा अलग्गै भयो। सामान बेलैमा आपूर्ति गर्न नसक्दा व्यापारमा हुने घाटाको हिसाबकिताब छैन।
‘अहिले चैते धान भित्र्याउने सिजन हो। वीरगन्ज र नारायणगढबाट आउने धानका गाडी बाटोमै रोकिएका छन् जसले गर्दा धान तातेर कुहिन थालेको छ,’ अग्रहरिले भने, ‘यता मेरो मिल धान नभएर सात दिनदेखि बन्द छ। दैनिक ५ लाख रुपैयाँ घाटा भइरहेको छ।’
व्यवसायीहरुका अनुसार ढुवानीका साधन बीच बाटोमा अलपत्र पर्दा आँप, लिचीजस्ता फलफूल कुहिएर बाटोमै खेर गएको छ। सडक ठप्प हुँदा यात्रुले पाएको दु:ख कष्ट भनिसाध्य छैन।
‘सडकमा अवरोधले यात्रुहरु तीन चार दिनको सकसपछि बल्लतल्ल उम्किए पनि चालक आठ दिनदेखि अलपत्र परेका छन्। उनीहरुसँग खाने र फोन रिचार्ज गर्ने पैसासमेत छैन,’ तिवारीले भने, ‘अर्कातिर सप्तरी, महोत्तरी र सिरहाबाट मगाएको आँप, लिचीजस्ता फलफूल बाटोमै कुहिएर खेर गएको छ।’

मधेश आन्दोलनपछि बारा पर्सा क्षेत्रका कतिपय उद्योग नवलपरासी र भैरहवा क्षेत्रमा सिफ्ट भएका थिए। यो क्षेत्रमा ठूला सिमेन्ट उद्योग छन्। अहिले सिमेन्ट लगायत औद्योगिक उत्पादनको ढुवानी प्रभावित हुन पुगेको छ।
बुटवल ग्यास उद्योगका अध्यक्ष शंकर श्रेष्ठले ग्यास लगायत अतिआवश्यक सामग्रीको ढूवानीमा समस्या उत्पन्न भएको बताए।
‘ग्यास लगायत अतिआवश्यक सामग्रीको आपूर्तिमा समस्या देखिएको छ। वैकल्पिक बाटोको रुपमा रहेको रामपुरको सडक पहिरोका कारण जोखिमपूर्ण छ। बाटोमा गाडी बिग्रिएमा मर्मत गर्न उतिकै समस्या छ,’ श्रेष्ठले भने, ‘दुम्कीबासदेखि बर्दघाटसम्मको वैकल्पिक बाटो संचालनमा ल्याउन सके केही राहत हुन्छ। तर, सडक विभागले यसतर्फ ध्यान दिएको छैन।’
नारायणघाट-बुटवल सडक खण्डमा सामान्य अवस्थामा ठूला मालबाहक गाडी दैनिक ३०० देखि ४०० वटा गुड्थे। यसबाहेक नजिकको दूरीका लागि ढुवानीका लागि साना गाडी पनि गुड्थे। अहिले ठप्प हुन पुगेको छ।

ढुवानी व्यवसायी महासंघ नेपालका अध्यक्ष माधवप्रसाद नेपाल नारायणघाट-बुटवल सडक खण्डको अवरोधले देशको पश्चिमी क्षेत्रको व्यापार व्यवसाय तहसनहस भएको बताउँछन्।
‘काठमाडौं, विराटनगर र वीरगंजबाट १२ चक्के गाडीमा आउने सामान अहिले आउन सकेका छैनन्। यताबाट पनि पठाउन सकिएको छैन। सामान गोदाममा थन्किएका छन्। यो समस्या ८/९ दिनदेखि जारी छ,’ उनले भने, ‘यसको प्रत्यक्ष मार बजारमा देखिन थालिसकेको छ। खाद्यन्न लगायत अन्य आवश्यक सामानको बजारमा अभाव देखिन थालेको छ। अझै एक महिनासम्म पुल नबन्ने जानकारी आएको छ जसले गर्दा स्थिति झनै गम्भीर हुने देखिन्छ।’
उनका अनुसार पाल्पातर्फको सडकबाट ढुवानी गर्दा भाडा ३० देखि ४० प्रतिशत महँगो पर्छ।
वर्षायाममा सडक अवरुद्ध हुनसक्ने आभास पाएर व्यवसायीहरुले केही महिनाअघि नै नारायणगढ-बुटवल सडक आयोजनालाई सचेत गराएका थिए। आयोजनाले व्यवसायीको कुरा बेवास्ता गर्यो। दाउन्ने क्षेत्रमा वर्षातको मुखमा डोजर र एक्साभेटर लगाइयो।
‘वर्षातको मुखमा दाउन्ने जस्तो संवेदनशील क्षेत्रमा जथाभावी खन्नु नै आयोजनाको गल्ती भयो। त्यही कारण अहिले सवारीसाधन चलाउन नसक्ने अवस्था बनेको हो,’ व्यवसायी श्रेष्ठले भने, ‘लाइफलाइनको रुपमा रहेको राजमार्गको सय किलोमिटर खण्ड सात वर्षसम्म विस्तार नहुनुभन्दा ठूलो बिडम्बना के हुन्छ?’

आठ महिनाअघि भत्किएको विनयी खोलाको पुल अहिलेसम्म बनाइएको छैन। वैकल्पिक पुल बनाउन अझै डेढ वर्ष लाग्ने देखिन्छ। भत्किएको पुलको भाग हटाएर बेलिब्रिज बनाइदिएको भए साना गाडी र एम्बुलेन्स चल्न सक्थे। सडक ठप्प हुने अवस्था आउनुलाई व्यवसायीहरु सरकारको अक्षमतासँगै लापरबाही भन्छन्।
‘केही समयअघि प्रधानमन्त्रीले सडकको निरीक्षण गरेका थिए। भौतिक पूर्वाधारमन्त्री पनि आएकै हुन्। कांग्रेसका महामन्त्रीले पनि सडक निर्माणमा ढिलासुस्तीका कारण यात्रु, चालक र व्यवसायीले झेलिरहेको कष्ट देखेका थिए,’ अर्का व्यवसायी अग्रहरिले भने, ‘उनीहरुको काम निरीक्षण गर्ने मात्र हो? खोइ त नतिजा? यो भन्दा नालायकी अरु के हुन्छ?’
११४ किलोमिटर सडक ७ वर्षमा पनि भएन विस्तार
नारायणगढ-बुटवल ११४ किलोमिटर सडक स्तरोन्नति गर्न सुरु गरेको ७ वर्ष भयो। तर, अहिलेसम्म ६७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। त्यसमा पनि दाउन्ने क्षेत्रको १४ किलोमिटर क्षेत्रमा कालोपत्रेको काम नै भएको छैन।

आयोजनाका सूचना अधिकारी शिव खनालले हालसम्म एकतर्फीरुपमा ९०.८७ किलोमिटर सडक कालोपत्र भएको जानकारी दिए। ‘दाउन्ने क्षेत्रमा धेरै काम बाँकी छ। अहिलेसम्म समग्रमा ६७ प्रतिशत भौतिक प्रगति भएको छ,’ उनले भने।
यो सडक विस्तारका लागि २०७५ माघ २४ गते चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसनसँग ठेक्का सम्झौता गरिएको थियो। सम्झौता अनुसार काम २०७९ साउन २२ गते सम्पन्न हुनुपर्ने थियो।
तर, तीन पटक म्याद थप भइसक्दा पनि काम कहिले सकिन्छ भन्ने टुंगो छैन। तेस्रोपटक थपिएको म्याद २०८२ साउन ८ गते सकिंदैछ।
केही दिनमा सहज हुन्छ : आयोजना
बीच सडकमा सवारीसाधन अड्किएर यात्रुहरु विचल्लीमा परेको समाचार आएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार बैठक राखेका थिए। तर, बैठकले कुनै उपाय सुल्झाउन सकेन।
बैठकले दाउन्ने सडकको विकल्पमा दुम्कीबास, सर्दी, होङ्सी सिमेन्ट गेटकै साँघुरो बाटोबाट यातायात संचालन गर्ने निर्णय गर्यो। ती वैकल्पिक बाटोमा पनि अहिले समस्या छ।

सडक विभागको एसियाली विकास बैंक (एडीबी) आयोजना निर्देशनालयका प्रमुख चुडाराज ढकाल केही दिनमा बाटो सहज हुने दाबी गर्छन्।
ढकालका अनुसार दाउन्नेको सडकमा खाल्डाखुल्डी पुर्ने काम सुरु गरिएको छ। चिनियाँ कम्पनीले पाँच दिनभित्र नयाँ पुल संचालनमा ल्याउने प्रतिबद्धता जनाएको र यसले राजमार्गको मुख्य अवरोध हट्ने ढकालको भनाइ छ।
‘ओभरलोड बोकेका ठूला सवारीसाधनलाई केही महिनाका लागि अन्यत्रबाट डाइभर्ट गर्न सकिए हामी निर्माण कार्य छिटो सम्पन्न गर्न सक्छौं,’ उनले भने, ‘विशेषगरी भारतबाट विराटनगर भन्सार हुँदै आउने ओभरलोड गाडीहरुले समस्या बढाएको छ।’