इन्जिनबाट धुवाँ निस्किन थालेपछि आकस्मिक अवतरण गरियो अमेरिकन एयरलाइन्सको विमान

बिजमाण्डू
२०८२ असार १२ गते ०७:२५ | Jun 26, 2025
इन्जिनबाट धुवाँ निस्किन थालेपछि आकस्मिक अवतरण गरियो अमेरिकन एयरलाइन्सको विमान

अमेरिकाको नर्थ क्यारोलिनास्थित शार्लोटका लागि उडेको अमेरिकन एयरलाइन्सको विमान बुधबार बिहान आकस्मिक अवतरण गरिएको छ। विमानबाट धुवाँ निस्किन थालेपछि आकस्मिक अवतरण गरिएको हो

Tata
GBIME

उक्त विमान लास भेगासस्थित ह्यारी रिड इन्टरनेसनल एयरपोर्टबाट उडेपछि केही मिनेटमै फर्केर आपतकालीन अवतरण गरिएको थियो।

उक्त विमान एयरबस ए३२१ मोडेल रहेको पुष्टि गरिएको छ। विमान स्थानीय समयअनुसार बिहान ८:१५ बजे तिर उडेको थियो। तर त्यसको करिब पाँच मिनेटपछि अर्थात् ८:२० बजेतिर विमान फर्केर एयरपोर्टमा सुरक्षित अवतरण गरेको अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले जानकारी दिएको छ।

अमेरिकन एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा विमान प्राविधिक समस्याका कारण फर्किएको उल्लेख छ। अवतरणपछि विमानबाट यात्रुहरू सामान्य रूपमा बाहिरिएका थिए। एयरलाइन्सले चालक दलको प्रशंसा व्यक्त गर्दै यात्रुहरूलाई गन्तव्यमा यथासिघ्र पुर्‍याउन टोली खटाइएको जानकारी दिएको छ।

विमानमा १५३ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए। सबै जना सकुशल रहेको र कसैलाई कुनै चोटपटक नलागेको एयरलाइन्सले जनाएको छ।

प्राविधिक समस्या भने अझै प्रष्ट भइसकेको छैन। विमानको इन्जिनमा के कारणले समस्या आयो भन्नेबारे अमेरिकन एयरलाइन्सले हालसम्म खुलासा गरेको छैन।

एफएएले यस घटनालाई इन्जिन खराबीको रुपमा हेरेको छ भने औपचारिक अनुसन्धान सुरु गरिसकेको छ। विमान पुनः संचालनमा ल्याउनुअघि समस्या के थियो भन्ने पत्ता लगाउने प्रक्रिया अघि बढाइएको छ।