
विराटनगर। प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)को उद्योगले पनि राजस्व छली गर्छ भन्ने कसले पत्याउला? तर, भारत राजस्थानका बलदेव चौधरीले सुनसरीको इटहरीमा खोलेको राजस्थान स्टोनेजले भन्सार महसुल छली गरेको अभियोगमा १६ लाख रुपैयाँ जरिवाना तिर्नुपरेको छ।
राजस्थान स्टोनेजले भन्सारमा जाँचपासका लागि आएको वस्तुको तौल गलत घोषणा गरेर महसुल छली गर्न खोजेको थियो। तर, ग्रिन च्यानलबाट आउने वस्तुमा महसुल छली गर्न खोजे मूल्यको ५०० प्रतिशतसम्म जरिवाना लाग्ने कानुनी प्रावधानका कारण चौधरीले १६ लाख बुझाउनु परेको हो।
विराटनगर भन्सारका प्रमुख उमेश श्रेष्ठले राजस्थान स्टोनेजले १६ लाख रुपैयाँ जरिवाना बुझाएर सामान छुटाएको पुष्टि गरे। श्रेष्ठले उक्त उद्योगलाई मूल्यको ४०० प्रतिशत जरिवाना, महसुल र महसुलको शतप्रतिशत जरिवाना गरि १६ लाख रुपैयाँ जरिबाना तिराइएको जानकारी दिए।
अन्य उद्योगले भन्दा राजस्थान स्टोनेजले आफ्ना तयारी ग्रेनाइट बजारमा सस्तोमा बिक्री गर्दै आएको थियो।
यस उद्योगले लागत मूल्यभन्दा पनि कममा किन तयारी वस्तु बिक्री गर्छ भनेर खोज्दै जाँदा उसले कच्चा पदार्थ ढुंगा आयात गर्दा महसुल छल्ने गरेको पाइएको थियो। यसपछि सुराकीले राजस्थान स्टोनेजले जाँचपासका लागि ल्याएको ढुंगा तौल गरेर मात्र छाड्न भन्सार कार्यालयलाई अनुरोध गरेका थिए।
‘गुनासो आइरहेको थियो। त्यसैले उसको ढुंगा आएपछि हामीले तौल गरेर मात्र जाँचपास गर्ने अडान लिएका थियौं। तौल गर्दा घोषणा गरेभन्दा कम पाइएको थियो,’ प्रमुख श्रेष्ठले भने।
भन्सार ऐन अनुसार सामान्यतया वस्तु रातो, हरियो र पहेँलो गरी तीन वटा च्यानलबाट जाँचपास गरिन्छ। रातो च्यानलबाट जाँचपास गर्नेले वस्तुको परिमाण ठगी गरेमा मूल्यको २०० प्रतिशतसम्म जरिवाना हुन्छ। तर, हरियो र पहेँलो च्यानल प्रयोग गर्नेले ठगी गरेमा उक्त २०० मा थप ३०० प्रतिशत पनि थपिएर मूल्यको ५०० प्रतिशत जरिवाना तिर्नुपर्छ।
सामान्यतया औद्योगिक कच्चा पदार्थ हरियो (ग्रिन) च्यानलबाट जाँचपास हुने परम्परा अनुसार राजस्थान स्टोनेजले यही च्यानल प्रयोग गर्दै आएको थियो।
उद्योगका सञ्चालक चौधरीले भन्सार कार्यालयले आफूलाई पूर्वाग्रह राखेर जरिवाना गराएको बताए।
‘राजस्थानबाट ढुंगा पठाउने कम्पनीले नै बिलमा तौल कम उल्लेख गरेको रहेछ। यस्तो समस्या कहिलेकाहीँ आउँछ। हामीले यो विषय भन्सार प्रमुखलाई बारम्बार सम्झायौँ तर उहाँ अत्यन्त पूर्वाग्रही र उद्योगीलाई दुःख दिने उद्देश्यले प्रस्तुत हुनुभयो,’ उद्योगी चौधरीको आक्रोश थियो।
चौधरीले भन्सार कार्यालयको यस मनोमानीविरूद्ध आफू न्यायिक निरूपणमा जाने जानकारी दिए।
विराटनगर भन्सार कार्यालयले ढुंगा जाँचपास गराउने जिम्मा लिएका भन्सार एजेन्ट तारा पुलामीका गतिविधिलाई पनि निगरानीमा राखेको जनाएको छ।
कार्यालयले गलत घोषणा गरेको अभियोगमा पुलामीको एजेन्ट लाइसेन्स यसअघि निलम्बन गरेको थियो। निलम्बन फुकुवापछि पनि उनले जाँचपासका लागि ल्याएका फाइलमा धेरै पटक समस्या देखिएका थिए।
‘कागजात हेर्दा यस प्रकरणमा भन्सार एजेन्टको प्रत्यक्ष संलग्नता पुष्टि भएन। त्यसैले हामीले उहाँका गतिविधि निगरानीमा मात्र राख्ने निर्णय गरेका हौं,’ श्रेष्ठले भने।
एजेन्ट पुलामीले भारतको राजस्थानबाट उद्योगी चौधरीको उद्योग सुनसरीको इटहरी खनारमा र हार्डवेयर पसल झापाको बिर्तामोडमा भएको जानकारी दिए।
पुलामीले चौधरीले प्रत्यक्ष वैदेशिक लगानीअन्तर्गत खनारमा उद्योग खोलेको बताए।
उनले भने, ‘ग्रेनाइटको ढुंगाका अरू गाडी पनि थिए। तर अरू गाडीमा घोषणा गरेअनुसारकै तौल थियो। दुईवटा गाडीमा मात्र समस्या आयो।’
उनले आफूले र राजस्थान स्टोनेजले ढुंगा निर्यात गर्ने कम्पनीले गरेको गल्तीको सजाय भोग्नुपरेको गुनासो गर्दै विराटनगर भन्सारले उद्योगी र एजेन्टप्रति पूर्वाग्रह र अव्यावहारिक ढंगले व्यवहार गरिरहेको गुनासो गरे।