
काठमाडौं। दुई वर्षअघि नेपालमा नयाँ स्टेडियमको कुरा हुँदा चर्चामा थियो चितवनको गौतमबुद्ध क्रिकेट स्टेडियम। धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेर पुरा गर्न नसकेपछि अब यो स्टेडियमको के हुन्छ भन्ने जिज्ञासा सबैलाई थियो। एउटा भाष्य पनि सिर्जना भएको थियो – ‘स्टेडियम भनेको सरकारले बनाउने हो, अरुले नआँटेकै उत्तम।’
यता रुपन्देहीको तिलोत्तममा भने अस्ट्रेलियामा व्यवसाय गर्दै आएका विनोद कुँवरको सोच भने ती भाष्यभन्दा फरक थियो। निजी लगानीबाटै क्रिकेट स्टेडियम बनाउन सकिने भन्दै उनले एक्स्ट्राटेक ओभल स्टेडियम निर्माणको शिलान्यास गरे।
जब उनले तिलोत्तममा स्टेडियमको जग राख्दै थिए त्यसबेला यसले नेपाली समाजमा त्यति ठूलो तरंग ल्याएन। सायद धेरैले नपत्याएर पो हो कि! २०८० जेठ २९ गते शिलान्यास भएर नौ महिनापछि त्यही वर्षको फागुन २८ गते मैदानको उद्घाटनसहित लेजेन्ड्स कप आयोजना गरेपछि मात्र धेरैको ध्यान यो मैदानले तानेको थियो।

‘असम्भव जस्तै लाग्ने, हामीलाई पनि डर लागेको तर हिम्मतले जितेको दिन आज अर्थात जेठ २९,’ अस्ट्रेलियामा रहेका विनोद कुँवरले बिहीबार समाजिक सञ्जालमा लेखेका छन्। एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमको निर्माण सुरु भएको दुई वर्ष पूरा भइसकेको छ।
नेपाली क्रिकेटले पछिल्लो दशकमा विश्वस्तरमा फड्को मारिरहँदा सधैं गुनासो रहेको क्षेत्र हो पूर्वाधार। अहिलेसम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानले नेपाली क्रिकेटलाई धानेको छ। नेपाली क्रिकेटरहरुले एसिया कप, विश्वकप जस्ता ठूला खेल प्रतियोगिता खेलिसकेका छन्। तर, नेपालमै भने फ्लडलाइटसहितको क्रिकेट स्टेडियम नहुँदा ठूला प्रतियोगितामा एकैपटक अप्ठ्यारो झेलिरहेका छन्।
दुई दशकअघि बाट निर्माण सुरु भएर अझै सम्पन्न भइनसकेको मुलपानी क्रिकेट मैदानले नेपाली खेल संरचनालाई नै गिज्याइरहेको अवस्थामा दुई वर्षअघि निजी लगानीमा सुरु भएको एक्स्ट्राटेक ओभल लिएको गतिले खेल पूर्वाधार निर्माणमा आशा जगाएको छ।
सायद, यसैको पनि प्रभाव हुनुपर्छ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिले त्यस्तै गति लिइरहेको छ। यो अवधिमा सबैभन्दा लोभलाग्दो विषय छ- कामको गति। दुई वर्षयता धमाधम निर्माण भइरहेको यो मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका केही खेल पनि भइसकेका छन्।
‘मैदान पूर्णरुपमा तयार भएर खेलहरु भइरहेको त भन्नै परेन, फ्लडलाइट जडान भइसकेको छ, नेट प्राक्टिसका लागि चाहिने सबै काम सम्पन्न भइसकेका छन्,’ कुँवरले भनेका छन्, ‘भीआइपी बिल्डिङ अन्तिम चरणमा छ भने भीआइपी बिल्डिङमा प्यारापिट बनाउने काम भइरहेको छ।’

त्यस्तै, स्टेडियममा डिजिटल स्कोरबोर्डका लागि पिलर उठाउनेसहितका काम भइरहेका छन्। अब छिटै मुख्य प्यारापिट निर्माणको काम सुरु हुने उनी बताउँछन्। बिजमाण्डूसँगको कुराकानीमा उनले पूर्वाधार निर्माणमा अब प्यारापिट निर्माणको काम मुख्य रहेको बताए।
‘एक ठूलो १२ मिटर बाइ ६ मिटरको डिजिटल स्कोरबोर्ड जडान भइसकेको छ, जुन नेपालमा अहिलेसम्मकै ठूलो हो,’ उनले भने, ‘प्यारापिटको काम भने अझै सुरु भएको छैन।’ त्यस्तै लाइटको काम लगभग टुंगिएको उनले बताए। ‘लाइट थपेर पनि सकियो। लाइटमा इस्यु नहोला भन्ने छ। इन्जिनियरले रिपोर्ट पठाउँदैछन्।’ उनले भने।
क्रिकेट स्टेडियम लगानी कि सोख?
क्रिकेट भनेपछि हुरुक्कै हुने कुँवरले अस्ट्रेलिया जानु अघिबाटै हो नेपाली क्रिकेट पछ्याउन थालेको। समर्थकका रुपमा नेपाली क्रिकेटलाई हौस्याउन उनी पछि परेनन्। उनी अस्ट्रेलिया गएपछि पनि उनको क्रिकेटप्रतिको मोह कम भएन। उन अस्ट्रेलिया गएर व्यवसाय सेटअप गरे। उनको करियर पनि राम्रो भयो। र, व्यवसायीका रुपमा पहिचान पनि बनाए। सँगसँगै नेपाली क्रिकेटमा योगदान गर्ने हुटहुटी पनि त्यतिकै रह्यो।

एक्स्ट्राटेक ओभल लगानी हो कि सोख? भन्ने प्रश्नमा हाँस्दै जवाफ दिए- ‘यसलाई लगानी त के भन्ने र, नउठ्ने पक्का छ।’
उनी स्टेडियम बनाउनुका पछाडि एउटा त आफ्नो सोख र अर्को विकास कामलाई अघि बढाउन योगदानका रुपमा हेर्छन्। ‘प्यारापिट बनेपछि स्टेडियमको क्षमता २० हजारदेखि २५ हजारसम्म पुग्नेछ,’ उनले भने, ‘यस वर्षको अबको वैशाखसम्ममा ५ हजारदेखि ७ हजार सिटहरू तयार हुनेछन्।’
प्यारापिटसँग बिल्डिङभित्र भीआइपी ड्रेसिङ रुमहरू रहने उनले बताए। ‘प्यारापिट मुनि बनाइने कोठाहरू एकेडेमीका लागि प्रयोग हुनेछन् र त्यहाँ रेस्टुरेन्ट र जिमको सुविधा पनि राखिनेछ,’ उनले भने।
प्यारापिटको क्षमता कम्तीमा पनि २० हजार भन्दा तल नजाने उनले बताए। ‘प्यारापिटबाहेकको सबै काम लगभग सकियो भन्दा हुन्छ। भीआइपी रुमको अन्तिम तलाको पनि ढलाइमात्र बाँकी छ,’ उनले भने, ‘नेपाली कला संस्कृति झल्कने गरी ट्रस हाल्ने हो। सिसा हालेर डेकोरेसनको काम मात्र बाँकी हो।’
संरचनागत रुपले ९० प्रतिशत काम सकिएको उनले भने।
अनुमानभन्दा १० देखि १२ करोड बढी खर्च
यो परियोजना बढीमा थप दुई वर्षभित्र सम्पन्न हुने अपेक्षा कुँवरको छ। परियोजना सुरु गर्दा समग्र योजना पाँच वर्षको थियो। र, दुई वर्ष बित्दा धेरैजसो कामहरु सकिँदै गएका छन्।
यो स्टेडियम निर्माणका लागि करिब ६ बिघा जमिन उपयोग भएको छ। हालसम्म जमिनको लागत नजोड्दा २५ देखि २७ करोड रुपैयाँ खर्च भइसकेको कुँवर बताउँछन्। ‘यो परियोजना सम्पन्न गर्न थप २० देखि २५ करोड रुपैयाँ आवश्यक पर्नेछ,’ उनले भने, ‘सुरुको अनुमानभन्दा १० देखि १२ करोड रुपैयाँ बढी लागत लाग्ने भएको छ।’
सुरुमा सोचेको भन्दा काम गर्दैजाँदा नयाँ सुविधाहरू थपिएको र डिजाइनहरू परिवर्तन गरिएको कारणले लागत बढेको उनले बताए।

त्यस्तै, आवश्यकता परे केही जमिन थप्नुपर्ने अवस्था पनि आउन सक्ने उनले बताए। उनी भने हाल सिड्नीमै छन्। दसैंको बेलामा नेपाल आउने उनको योजना छन्। अस्ट्रेलियामा उनको आइटीसम्बन्धी ट्रेनिङको व्यवसाय छ। यो कार्यक्रममा ३० देशका विद्यार्थीहरू सहभागी छन्।
‘यसले विद्यार्थीहरूलाई एकाउन्टिङ र इन्जिनियरिङसँग सम्बन्धित व्यावहारिक सिपहरू सिकाउँछ, रोजगारीका लागि रिजुमे बनाउन र अन्तर्वार्ता पास गर्न मद्दत गर्छ।’ उनले भने।
सरकारबाट कस्तो छ रेस्पेन्स?
सरकारले आर्थिक वर्ष २०८१/८२ सालको बजेटमै निजी क्षेत्र खेल पूर्वाधारमा लगानी गर्न आकर्षित गरिने र सडक, खानेपानी र बिजुलीको पहुँच सुनिश्चित गरिने उल्लेख गरेको छ।
कुँवरको स्टेडियम निर्माणको योजनालाई सरकारले थोरै भए पनि यसपटक सहयोग गर्न खोजेको देखाएको छ। बाटोका लागि ३ करोड र बिजुलीका लागि १ करोड रुपैयाँ छुट्याएको उनले बताए। बिजुलीको पूर्वाधार पूरा भइसकेको छ। ‘हामीलाई पैसा या डिस्काउन्ट दिने भन्ने त केही छैन, मेरो निजी जग्गामा मैले आफैं गरिरहेको छु। तर उहाँहरुले सरकारले पुर्याउने पूर्वाधारहरुमा सहयोग गरिरहनु भएको छ,’ उनले भने।
निजी क्षेत्रका रुपमा अस्ट्रेलियामा कुनै प्रोजेक्टमा काम गर्नु र नेपालमा काम गर्नुमा कति फरक भन्ने प्रश्नमा कुँवरको बुझाइ फरक छ। ‘अब यसमा त क्लियरली के हो भने अब देशको परिस्थिति अनुसार आफ्नो मेन्टालिटी डेभलप गर्नैपर्छ,’ उनले भने, ‘अब हामी नेपालमा गएर विदेशमा बसे जस्तै सजिलरी सबै काम गर्न सक्छौ भन्ने मानसिकता भयो भने कठिन हुन्छ।’
उनी देशको परिस्थिति यस्तै छ त्यहीअनुसार चलेर सहजीकरण गर्नुपर्छ भन्ने हिसाबले लाग्यो भने गाह्रो नहुने बताउँछन्। उनले समाजका लागि राम्रो हुनेकिसिमले काम गरिरहँदा कठिनाइ महसुस नगरेको बताउँछन्। ‘हामी विदेशमा बस्ने मान्छेले विदेशमा जस्तै झ्याप्पै हुन्छ सबै कुरा हुन्छ भनेकै बेलामा भन्ने चिज सोचेर गयो भने चाहिँ धेरै टफ छ,’ उनले भने।
प्रतीक्षा प्यारापिट र अन्तर्राष्ट्रिय खेलको

यस वर्षको अन्त्यतिर अन्तर्राष्ट्रिय खेलहरू आयोजना गर्ने प्रयास गर्ने योजना कुँवरको छ। स्टेडियममा लाइट र डिजिटल स्कोरबोर्ड तयार भइसकेकाले अन्तर्राष्ट्रिय मापदण्ड पूरा हुने उनको विश्वास छ।
‘यो वर्षको अन्त्यतिर हामी एकपटक अन्तर्राष्ट्रिय खेलका लागि प्रयास गर्छौं। लाइट पनि भइसक्न लाग्यो। डिजिलट बोर्ड पनि भइसक्यो,’ कुँवरले भने, ‘नेपालले सीडब्लुसी लिग-२ मा खेलेको स्कटल्याण्डको मैदानहरु हामीले हेर्यौं। त्यहाँ बस्ने प्यारापिट त छैन। आइसीसीलाई चाहिने मापदण्ड पूरा गरिसकेपछि यही वर्ष हाम्रो पाँच-सात हजार सिट बनिइहाल्छ।’
नेपालले स्कटल्याण्डको डुन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेलेको थियो। उक्त मैदानमा प्यारापिट भने थिए। उक्त सिरिजमा पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई हराउँदा नेपाली समर्थक दौडिएर मैदानभित्रै प्रवेश गरेका थिए। दोस्रो खेलअघि भने नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति नै निकालेर समर्थकलाई मैदानभित्र प्रवेश नगर्न आग्रह गरेको थियो।
यसलाई एक्स्ट्राटेकसँग तुलना गर्दा अन्तर्राष्ट्रिय मान्यताको मापदण्ड पुरा गर्न धेरै काम बाँकी नरहेको कुँवरको बुझाइ छ। उनका अनुसार यही वर्ष वैशाख भित्रमा ५ देखि ७ हजार सिट र अर्को वर्षसम्ममा पूरै निर्माण सम्पन्न हुनेछ।
‘अब बढीमा २ वर्ष लाग्छ।’ उनले भने।

एनपीएलमा अहिल्यै हात नहाल्ने!
नेपाली क्रिकेटमा मात्र नभएर नेपाली खेलकुदमै कुनै खेल इभन्टले माहोल बनाएको छ भने त्यो हो- नेपाल प्रिमियर लिग (एनपीएल)। पहिलो संस्करणको एनपील कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न भयो। तर, यो प्रतियोगिता ‘होम एण्ड अवे’ मोडलमा नगइ सस्टेनेबल हुँदैन भन्नेमा आयोजक नेपाल क्रिकेट संघ (क्यान) पनि स्पस्ट छ। एनपीएलले यहि हिसाबले गति लिइराखे तेस्रो/चौथो संस्करणमा पुग्दा काठमाडौं बाहिर यो लिगलाई लग्नैपर्ने हुन्छ।
कुँवरले भने पूर्वाधार निर्माणमा लागेकाले अहिल्यै धेरैतिर हात हाल्ने मानसिकतामा छैनन्।
‘१० वटा काममा एकैपटक हात हाल्नु हुँदैन। एउटा काम पहिला नसकिन अर्कोमा हातमा नहाल्ने भन्ने हो। अहिले क्लब किन्दा खेरि ६/७ करोड जान्छ,’ उनले भने, ‘अनि हरेक वर्षमा ५-६ करोड खर्च गर्नु पर्छ। त्यतिले लगानीले त स्टेडियम सकिन्छ।’
अहिलेको अवस्थामा क्लबभन्दा पनि पूर्वाधारना लगानी महत्त्वपूर्ण भएको कुँवरको बुझाइ छ। ‘अब इन्फ्रास्ट्रक्चर नै नभइकन सबैले क्लब किनियो भने त खेलाउने कहाँ भन्ने हो? हरेक टिमलाई होम एण्ड अवे गराउन मन छ,’ उनी भन्छन्, ‘सबैले काठमाडौं गएर हेर्न सम्भव पनि छैन, त्यो गर्नु पनि हुँदैन।’