राष्ट्र बैंकले कार्कीको नेतृत्वमा बनाएको कार्यदललाई ६ वटा जिम्मेवारी, गभर्नरले दिए पत्र

बिजमाण्डू
२०८२ जेठ ३० गते १५:५४ | Jun 13, 2025
राष्ट्र बैंकले कार्कीको नेतृत्वमा बनाएको कार्यदललाई ६ वटा जिम्मेवारी, गभर्नरले दिए पत्र


काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधारबारे सुझाव दिन गठित कार्यदलले ६ वटा जिम्मेवारी पाएको छ।

Tata
GBIME

कार्यदलले बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकास, आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम लगायत विषयमा सुझाव दिने जिम्मेवारी पाएको हो।

यस्तै बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा त्यस पछिका समस्याहरूको पहिचान तथा समाधान, नेपाललाई ग्रे लिस्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका र पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा सुझाव पेस गर्ने जिम्मेवारी दिइएको छ।

बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्न डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित तीन सदस्यीय कार्यदललाई गभर्नर डा. विश्व पौडेलले शुक्रबार जिम्मेवारीसहितको पत्र दिएका छन्।

कार्यदलमा नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दहाल र राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेल सदस्य छन्। कार्यदललाई एक महिनाको समय दिइएको छ।