ऊर्जा उत्पादकले ताला चाबी बुझाउने भनिरहँदा हाइड्रोको सेयर बुम, किन बढिरहेको छ मूल्य?

सुनिल कुँवर
२०८२ जेठ २६ गते १६:१४ | Jun 9, 2025
ऊर्जा उत्पादकले ताला चाबी बुझाउने भनिरहँदा हाइड्रोको सेयर बुम, किन बढिरहेको छ मूल्य?


काठमाडौं। ऊर्जा उत्पादकहरुले बजेटमा गरिएको व्यवस्थाले जलविद्युत आयोजनामा ६६ अर्ब रुपैयाँ लगानी जोखिममा परेको भन्दै सरकारले नसच्याएको अवस्थामा तालाचाबी बुझाउने चेतावनी दिइरहेका बेला हाइड्रोपावरको सेयर बुम भएको छ।

Tata
GBIME

सेयर बजारमा हाइड्रापावर कम्पनीको दबदबा बढ्दै गएको छ। बजार आइतबार ११.०६ अंकले घट्दा हाइड्रोपावर समूहको सूचक १.०५ प्रतिशत बढेकामा सोमबार नेप्से दोहोरो २३ अंकले बढ्दा हाइड्रोपावरको सूचक २.३५ प्रतिशतले उकालो लाग्यो। सोमबार पोजेटिभ सर्किट लागेका चारवटै हाइड्रोपावर कम्पनी हुन्।

मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, डोल्टी पावर र विन्धबासिनी हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। आइतबार रिभर फल्स र पियोर इनर्जीको मूल्यमा पोजेटिभ सर्किट लागेको थियो।

सोमबार ८३ वटा हाइड्रोपावरको सेयर मूल्य बढेको छ। बजारमा ८ अर्ब ६८ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार हुँदा सार्वाधिक कारोबार हुने कम्पनीमा हाइड्रोपावर नै छन्।

राधी विद्युत पावर कम्पनीको सबैभन्दा धेरै ६२ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, युनिभर्सल पावर र बुटवल पावर शीर्ष कारोबार हुने कम्पनीको सूचीमा रहे।

सेयर मूल्य र कारोबारमा हाइड्रोपावर समूहले बजारमा दबदबा राख्न थालेको एक महिनाभन्दा बढी भएको छ। डेढ महिनादेखि राधी विद्युत कम्पनी सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा छ।

फागुनपछि सेयर बजारमा लगातार गिरावट आउँदा समेत हाइड्रोपावरको सूचक बढिरहेको हो। बजारमा केही समय रोकिएको सेक्टर मुभ अहिले हाइड्रोपावरमा देखिएको ब्रोकरहरु बताउँछन्।

‘फागुनपछि सेयर बजारमा खासै उत्साह देखिएको थिएन। कुनै सेक्टर पनि चलेको थिएन। साइडवेजमा रहेको बजारमा लगानीकर्ता अहिले फेरि हाइड्रोवपावरतिर मुभ भएको हो किन भन्ने देखिन्छ,’ एक ब्रोकरले भने, ‘बैंकिङ क्षेत्र मूल्य माथि आउन नसकेका कारण चल्नै सकेको छैन। बैंकका लगानीकर्ता हाइड्रोतिर आकर्षित भएको देखिन्छ।’

नेपाल राष्ट्र बैंकले जेठ दोस्रो साता चालु वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट सेयर धितो कर्जाको जोखिम भार १२५ बाट घटाए सतप्रतिशतमा झारेको छ।

राष्ट्र बैंकको लचिलो नीति र अनुकूल सूचकका बाबजुद बजारले उकालो यात्रा तय गर्न सकिरहेको छैन। बैंकहरुबाट बजारमा ऋण प्रवाह बढिरहेको छ। संस्थागत लगानीकर्ताले मुद्दतीको निक्षेप सेयर बजारमा लगानी गरिरहेका छन्। उनीहरुले लगानीको नयाँ उपकरण नपाउँदा बजारमा लगानी बढाएको तथ्यांकले देखाउँछ।

बैंकिङ प्रणालीमा तरलता उच्च छ। बजारका लागि चाहिने सूचकहरु अनुकूल छन्। ‘सबै सूचक अहिले सकारात्मक छन्। लगातार एकै प्रवृत्तिमा चलिरहेको सूचकले अब उचाइ लिन खोजेको हो कि भन्ने देखिन्छ। त्यो अहिले हाइड्रोपावरमा देखिएको छ,’ एक लगानीकर्ताले भने।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको टेक एण्ड पेको व्यवस्थाले ऊर्जा उत्पादकहरु तनावमा छन्। उनीहरुले यो व्यवस्था हटाउन माग गर्दै नेताको घरदैलो चहारिरहेका छन्। विद्युत खरिद बिक्री सम्झौता (पीपीए) टेक एण्ड पेका आधारमा गर्ने नीतिले नयाँ आयोजना बनाउनै नसकिने ऊर्जा उत्पादकहरुको भनाइ छ।

हाइड्रो क्षेत्रका लागि प्रतिकूल मानिएको टेक एण्ड पे व्यवस्थाका बाबजुद सेयर बजारमा भने उल्टो अवस्था देखिएको हो।

बजारका जानकारहरु टेक एण्ड पेको व्यवस्थाले नयाँ जलविद्युत कम्पनी नथपिने बुझाइमा पनि लगानीकर्ता हाइड्रोको सेयरमा झुम्मिएको अड्कलबाजी गर्छन्।

‘सरकार टेक एण्ड पेको नीतिबाट पछि हटेन भने निजी क्षेत्रले नयाँ आयोजना बनाउन सक्ने देखिंदैन। त्यही भएर ऊर्जा उत्पादकहरुले चालाचाबी बुझाउने कुरा गरिरहेका हुन्। लगानीकर्तामा पनि अब नयाँ कम्पनी थपिंदैन भन्ने परिरहेको छ। त्यसैले पो मूल्य बढिरहेको हो कि?,’ एक मर्चेन्ट बैंकरले भने, ‘अहिले हाइड्रोपावर कम्पनीमा लगानीकर्ता झुम्मिनुपर्ने अरु कारण केही पनि देखिंदैन। यो अल्पकालीन पनि हुनसक्छ।’

सेयर बजारमा वित्तीय क्षेत्रका कम्पनीपछि सबैभन्दा ठूलो हिस्सा हाइड्रोपावरको छ। नेप्सेमा ९१ वटा हाइड्रोपावर कम्पनी सूचीकृत छन्।