
बाजुरा। बाजुराको बुढीगंगा नगरपालिका-६ बाम्का बजारमा शुक्रबार भएको आगलागीमा उल्लेख्य क्षति भएको छ। प्रहरीका अनुसार नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर सुरु भएको आगलागीमा ३५ पसल जलेर नष्ट भएका थिए।
घटनामा ८ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले बताए। प्रहरीको तथ्यांकअनुसार सर्वाधिक क्षति योगनाथ न्यौपानेलाई भएको छ। उनको किराना पसल नष्ट हुँदा १ करोड ८० लाख रुपैयाँ क्षति भएको छ।
यसैगरी आगलागीबाट तोयानाथ न्यौपानेको १ करोड ५० लाख, छत्र थापाको १ करोड ५० लाख र धनबहादुर साउदको १ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण रहेको प्रहरी निरीक्षक चौधरीले बताए।
आगलागीबाट दीपक साउद, रामु अयडी, तुल कटुवाल र उद्धव थापाको पसलको क्षतिको मूल्य खुल्न बाँकी छ। आगलागीमा परि फेन्सी पसल, मेडिकल, इलेक्ट्रोनिक, पुस्तक पसल र होटल डढेका थिए। आगलागीबाट भगतराज गिरीको सु प प्र ०१–००१ प ४६८१ नम्बरको मोटरसाइकल जलेको छ।
शुक्रबार अपराह्न ३:३० बजे आगो लाग्न सुरु भएको थियो। आगो निभाउन दमकल नहुँदा क्षति धेरै भएको पीडितहरुले गुनासो गरेका छन्। ‘स्थानीय तहमा दमकल भएको भए बढी क्षति हुनबाट जोगिने थियो,’ पीडित छत्र थापाले भने।
आगलागीबाट पीडितहरुको तथ्यांक संकलन गरी उनीहरुलाई राहत र पुनःस्थापनाका लागि जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले प्रदेश र संघ सरकारसँग राहत उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ।
आगलागी भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे प्रभावित क्षेत्रमा पुगेको उनको निजी सचिवालयले जनाएको छ। रासस