विश्व बैंकले कंगोको जलविद्युत परियोजनामा सहयोग गर्ने, एक अर्ब डलरको प्रतिबद्धता किन छ चर्चामा?

बिजमाण्डू
२०८२ जेठ २१ गते १२:१३ | Jun 4, 2025
विश्व बैंकले कंगोको जलविद्युत परियोजनामा सहयोग गर्ने, एक अर्ब डलरको प्रतिबद्धता किन छ चर्चामा?
इंगा परियोजना। तस्बिर : Mbelechi Msochi


विश्व बैंकले कंगोलाई सम्भावित विश्वकै ठूलो जलविद्युत् परियोजनाका लागि एक अर्ब अमेरिकी डलरको प्रतिबद्धता जनाएको छ। बैंकले ग्रान्ड इंगा जलविद्युत् परियोजनाको एक भाग इंगा थ्रीलाई सुरुवातका लागि २५ करोड डलर स्वीकृत गरेको हो।

GBIME
Tata

बैंकले पहिलो चरणमा दिने २५ करोड डलर मुख्य रुपमा प्रविधिक अध्ययन गर्न, आर्थिक विकासमा सहयोग गर्न, कंगोको सरकारी स्वामित्वमा रहेको विद्युत् कम्पनीको सुधार गर्न तथा निजी विकासकर्ताहरूलाई परियोजनामा आकर्षित गर्न प्रयोग गरिने बताइएको छ।

यस परियोजना अघिल्ला चरणहरू इंगा वान र इंगा टूको आधारमा अगाडि बढ्नेछ। ३५१ मेगावाट क्षमताको इंगा वान सन् १९७२ मा बनेको थियो भने १ हजार ४२४ मेगावाट क्षमताको इंगा टू सन् १९८२ मा संचालनमा आएको थियो।

इंगा परियोजना बहावको आधारमा विश्वकै तेस्रो ठूलो नदी कंगो नदीमा अवस्थित छ। यस परियोजनाले भविष्यमा झन्डै ४० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सम्भावना बोकेको छ।

ब्लूमबर्गका अनुसार यो क्षमता चीनमा रहेको हालको विश्वकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना थ्री गोर्जेज ड्यामभन्दा झन्डै दोब्बर हो। चीनको उक्त आयोजनाको क्षमता २२ हजार ५०० मेगावाट छ।

यद्यपि, इंगा परियोजना वर्षौंदेखिको युद्ध, भ्रष्टाचारका काण्डहरू र अत्यधिक लागतका कारण अघि बढ्न सकेको थिएन।

इंगा थ्री परियोजनालाई विश्व बैंकले ‘मिसन ३००’ अन्तर्गतको कार्यक्रमका रुपमा अगाडि सारेको छ। यस कार्यक्रमले सन् २०३० सम्म ३० करोड अफ्रिकी जनतालाई विद्युतको पहुँचमा ल्याउने महत्त्वाकांक्षी लक्ष्य लिएको छ।

विश्व बैंकका अध्यक्ष अजय बंगाका अनुसार यस व्यापक प्रयासले झन्डै ८५ अर्ब डलरसम्मको निजी लगानी आकर्षित हुन सक्नेछ।

इंगा थ्री आयोजना सफल भए ११ हजार मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। यो कंगोको हालको विद्युत् उत्पादन क्षमताभन्दा तीन गुणा बढी हो। यस परियोजनाको कुल लागत करिब १० अर्ब डलर अनुमान गरिएको छ।

कंगो सरकारले सन् २०३० सम्ममा विद्युत् पहुँच हुने नागरिकको संख्या तीन गुणाले बढाउने लक्ष्य लिएको छ। हाल देशको १० करोडभन्दा बढी जनसंख्यामध्ये केवल २० प्रतिशतले मात्र विद्युत् सेवा पाएका छन्।

यस अवस्थामा सुधार ल्याउन कंगोले ३६ अर्ब डलरको ऊर्जा विकास योजना अघि सारेको छ। यो योजना सन् २०२५ को जनवरीमा दार ए सलाममा आयोजित मिसन ३०० सम्मेलनमा सार्वजनिक गरिएको थियो।

यस आयोजना सम्पन्न भए केवल कंगो मात्र नभई सम्पूर्ण अफ्रिका महादेशमा ऊर्जा पहुँच विस्तार गर्न उल्लेखनीय योगदान पुग्ने बताइएको छ। तर, यस आयोजनाका कारण वृहत रुपमा वातावरणीय, सामाजिक तथा सुशासनमा प्रभाव पर्ने भन्दै चौतर्फी आलोचना पनि भइरहेको छ।

यस आयोजनाबाट ३० हजार मानिस विस्थापित हुने अनुमान गरिएको छ। धेरै परिवारहरू पुनः विस्थापित हुने अपेक्षा गरिएको छ, जसमध्ये धेरैले पहिलो चरणकै क्षतिपूर्ति पाएका छैनन्।

विश्व बैंकले पहिलो पटक २०१४ मै इंगा ३ का लागि कोष स्वीकृत गरेको भएपनि मुख्य रुपमा प्रशासनिक चिन्ताहरूका कारण पछि हटेको थियो। त्यसबेलादेखि यस परियोजनालाई सुरु हुनै नदिने प्रयास गरेका तर, असफल भएका समूहको ध्यान आकर्षित गरेको छ। इंगामा विश्व बैंकको पुनरावृत्तिले १ दशकभन्दा बढी समयदेखि परियोजनाको अनुगमन गर्ने समूहहरूमा चिन्ता बढाएको छ।