
काठमाडौं। केही समयदेखि डलर सटहीको नाममा भइरहेको ठगीमा उही शैली अपनाएको देखिएको छ। सस्तोमा डलरको प्रलोभनमा पर्दा कतिपयले छिनभरमै लाखौं रुपैयाँ गुमाएको पाइएको छ।
सस्तोमा डलर दिने भन्दै ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ बर्षीय ताराबहादुर तामाङलाई पक्राउ गरेको छ।
उनले नवलपरासीको गैंडाकोटका बासिन्दालाई सस्तोमा डलर दिने भनेर ठगी गर्दै आएको पाइएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार उनी सस्तोमा डलर दिने भन्दै ३० लाख रुपैयाँ लिएर फरार भएका थिए। प्रहरीले उनलाई भक्तपुरको दुवाकोटबाट नियन्त्रणमा लिएको हो।
ताराबहादुर लगायतले विभिन्न व्यक्तिलाई सस्तो दरमा डलर साटिदिने भन्दै एकान्तमा बोलाएर लुट्ने तथा ठगी गर्ने गरेको प्रहरीको दाबी छ।
‘सस्तोमा डलर दिन्छु भन्दै जंगलमा वा एकान्तमा बोलाइ कसैलाई लुट्ने र कसैलाई कागज भरिएको बिटो दिएर ठगी गर्ने गरेको देखिन्छ,’ प्रहरीका एक अधिकृतले भने।