
काठमाडौं । सरकारले तेस्रो वर्षमा आएर पुँजीगत बजेट वित्तीय व्यवस्थापनतर्फ भन्दा धेरै रकम छुट्याएको छ। पछिल्लो दुई आर्थिक वर्ष लगातार वित्तीय व्यवस्थापनतर्फ भन्दा पुँजीगत बजेट कम छुट्याएको अवस्थामा आगामी आर्थिक विकास बजेटको मात्रा बढाइएको हो।
अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ६४ अर्बको बजेटमा पुँजीगततर्फ २०.८ प्रतिशत अर्थात ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ छुट्याएका छन्।
पुँजीगततर्फको बजेट चालु आर्थिक वर्षको भन्दा ५५ अर्ब रुपैयाँ बढी हो। वित्तीय व्यवस्थापनतर्फ भने चालु वर्षको भन्दा ८ अर्ब बढेको छ।
चालु वर्ष पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब बजेट छ। यस्तै, गत आर्थिक वर्ष पुँजीगततर्फ ३ खर्ब २ अर्ब र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब रुपैयाँ छुट्याइएको थियो।
आर्थिक वर्ष २०७९/८० मा भने वित्तीय व्यवस्थापनतर्फभन्दा पुँजीगततर्फ नै धेरै बजेट थियो। त्यो वर्ष पुँजीगततर्फ ३ खर्ब ८० अर्ब र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो। वित्तीय व्यवस्थापनका लागि छुट्याइएको रकम ऋणको साँवा ब्याज भुक्तानीमा प्रयोग हुन्छ।
अर्थमन्त्री पौडेलले पुँजीगत बजेट बढाउने क्रममा विकासे निकायका रुपमा चिनिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५२ अर्ब, सहरी विकास मन्त्रालयका लागि १ खर्ब १८ अर्ब ३४ करोड, ऊर्जा तथा सिंचाइ मन्त्रालयका लागि ८६ अर्ब १ करोड र खानेपानी मन्त्रालयलाई ३३ अर्ब ८९ करोड रुपैयाँ छुट्याएका छन्।
राष्ट्रिय योजना आयोगले भौतिक पूर्वाधार मन्त्रालयलाई १ खर्ब ४४ अर्ब ७५ करोड रुपैयाँको सिलिङ दिएकामा मन्त्री पौडेलले सिलिङभन्दा ७ अर्ब २५ करोड रुपैयाँ बढी बजेट दिएका हुन्।
चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ बजेट छ।

पूर्व-पश्चिम राजमार्गलाई २१ अर्ब १९ करोड
भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्व-पश्चिम राजमार्गलाई सबैभन्दा धेरै बजेट विनियोजन गरिएको छ। चालु आर्थिक वर्षमा यो राजमार्गका लागि २९ अर्ब ८८ करोड रुपैयाँ बजेट छुट्याइएकामा आगामी वर्षका लागि भने घटाइएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत काकडभिट्टा-लौकही, कमला-कञ्चनपुर, कमला-बागमती, बागमती-पथलैया, नारायणगढ-बुटवल र बुटवल-गोरुसिंगे खण्डको ४२२ किलोमिटर सडक ४ लेनमा विस्तार गरिनेछ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत गड्डाचौकी-अतरिया खण्डको स्तरोन्नति आगामी आर्थिक वर्ष सुरु गरिनेछ।
नारायणघाट-बुटवल र कमला-कञ्चनपुर खण्डलाई चार लेनमा विस्तार गर्ने काम आगामी आर्थिक वर्ष सम्पन्न गर्ने भनिएको छ।
११३ किलोमिटर लामो नारायणघाट-बुटवल सडकमा फागुनसम्म २८.६८ किलोमिटर चार लेनमा र ३३.७० किलोमिटर दुई लेनमा कालोपत्र भएको छ। कन्चनपुर-कमला सडक खण्डमा ६३.८३ किलोमिटर दुई लेनमा कालोपत्र भएको छ।
मध्यपहाडी राजमार्गलाई ३ अर्ब ९४ करोड
मध्यपहाडी राजमार्गका लागि ३ अर्ब ९४ करोड रुपैयाँ छुट्याइएको छ। यो आयोजनामा पर्ने केही सडकको रेखांकन परिमार्जन गरिने मन्त्री पौडेलले बताए। उनका अनुसार मध्यपहाडी राजमार्गमा केही सुरुङमार्ग पनि निर्माण गरिने छ। चालु आर्थिक वर्षमा मध्यपहाडी राजमार्गले ३ अर्ब ६८ करोड रुपैयाँ बजेट पाएको थियो।
मध्यपहाडी राजमार्गमा कामले भने गति लिएको छैन। कुल १ हजार ८७९ किलोमिटर सडकमा २०८१ असारसम्म १ हजार ४५२ किलोमिटर कालोपत्र सम्पन्न भएकोमा चालु आर्थिक वर्ष फागुनसम्म थप ११ किलोमिटर मात्र कालोपत्र भएको छ।
राजमार्गमा १३७ पुल निर्माण गर्नुपर्नेमा अझै ३० वटा बनाउन बाँकी छ।

हुलाकी राजमार्ग दुई वर्षभित्र सक्ने
हुलाकी राजमार्गका लागि ३ अर्ब ५६ करोड रुपैयाँ छुट्याइएको छ। आगामी आर्थिक वर्ष ७५ किलामिटर कालोपत्र र १० वटा पुलको निर्माण सम्पन्न गर्ने योजना छ। यो आयोजनाका लागि चालु वर्ष ३ अर्ब ३० करोड रुपैयाँ बजेट छ।
हुलाकी राजमार्गको कुल लम्बाइ १ हजार ८५७ किलोमिटरमध्ये २०८१ असारसम्म १ हजार २५९ किलोमिटर (लिङ्क सडक सहित) कालोपत्र सम्पन्न भएकोमा चालु आर्थिक वर्ष फागुनसम्म थप ३२ किलोमिटर सडक कालोपत्र भएको छ। यो राजमार्ग अन्तर्गत २५० वटा पुल बनाउनुपर्नेमा अझै १०८ वटा सम्पन्न गर्न बाँकी छ।
मदन भण्डारी राजमार्गलाई ३ अर्ब ५१ करोड
अर्थमन्त्री पौडेलले मदन भण्डारी राजमार्गको बाँकी काम गर्न आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५१ करोड रुपैयाँ विनियोजन गरेका छन्। यो राजमार्ग अन्तर्गत इलाम, सुनसरी, गुल्मी, रोल्पा, सुर्खेत, कैलाली र डडेल्धुरा खण्डका लागि चालु वर्ष ३ अर्ब ६० करोड रुपैयाँ बजेट छ।
मदन भण्डारी राजमार्गको कुल लम्बाइ १ हजार ३९० किलोमिटरमध्ये गत फागुनसम्म ३३९ किलोमिटर सडक कालोपत्रे भएको छ। यस्तै १८५ पुलमध्ये १३३ वटा बनाइएको छ।

फास्ट ट्र्याकले पायो २४ अर्ब ४९ करोड
काठमाडौं-तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाका लागि २४ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरिएको छ। फास्ट ट्र्याकले चालु वर्षको भन्दा ४ करोड रुपैयाँ बढी पाएको हो।
फास्ट ट्र्याकमा आगामी वर्ष ३७ किलोमिटर सबबेस, ४ किलोमिटर सुरुङमार्ग र ६० वटा पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यो आयोजनामा ४ वटा सुरुङ निर्माणाधीन छन्। तीनवटा सुरुङको डिजाइन तथा पूर्वतयारीको काम भइरहेको छ। आयोजना अन्तर्गत ८९ पुल निर्माण गर्नुपर्नेछ। फागुनसम्म ८५ पुलको ठेक्का व्यवस्थापन गरी निर्माण कार्य सुरू गरिएको छ।
पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन खण्डलाई डेडिकेटेड डबल लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिने भनिएको छ। यस्तै आँबुखैरेनी-पोखरा सडकलाई आगामी वर्ष चार लेनमा सञ्चालनमा ल्याउन लक्ष्य राखिएको छ। यसका लागि ८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ।