
काठमाडौं । बिहिबार काठमाडौंमा हुने प्रर्दशनमा छाता लिएर प्रर्दशनमा आउन राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आग्रह गरेका छन्। बुधबार एक कार्यक्रममा उनले कालो छाता नभए अन्य रंगको छाता लिएर भए पनि आउन आग्रह गरेका हुन्।
अचाकली घाम र जुनसुकै बेला हुन सक्ने वर्षाका लागिमात्र नभइ विरोध स्वरुप कालो छाता ल्याउन उनले आग्रह गरेका हुन्।
कार्यक्रममा उनले आफूहरुको प्रर्दशन शान्तिपूर्ण हुने दाबी समेत गरे।
‘हामी अगाडी हुन्छौं। गोली चल्यो भने हामी खान्छौं। लठ्ठी चल्यो भने हामी खान्छौ। थुन्छ यो सरकारले भने हामी पहिले थुनिन्छौं। कार्यकर्तालाई मारेर उम्कन्ने र भाग्ने काम हामीबाट हुँदैन,’लिङ्देनले भने।
त्यस्तै, आफ्नो शान्तिपूर्ण प्रर्दशनमा नेकपा एमालेले प्रतिकार गर्न खोजे आफूहरु भने हातमा दही जमाएर नबस्ने उनको चेतावनी थियो।
‘उनका कार्यकर्ता, मान्छेहरुले काठमाडौं कब्जा गर्ने नाममा हाम्रो कार्यक्रम अवरोध सिर्जना गर्ने तर्फ अगाडी बढे भने त्यतिखेर प्रतिकारको जरुर हुन्छ नै। त्यस्तो बेला कसैले हातमा दही जमाए बस्दैन। हाम्रो तर्फबाट परिस्थितिलाई उत्तेजित बनाउने काम हुँदैन,’ अध्यक्ष लिङ्देनले भने।
राप्रपाले बिहिबार दिउँसो १ बजे रत्नपार्कमा भेला हुन प्रचार प्रसार गरेको छ। त्यस्तै, नेकपा एमालेले पनि ११ बजेदेखि भृकुटीमण्डमामा कार्यक्रम गर्दैछ।
जिल्ला प्रशासन कार्यालयले भने राप्रपाको प्रदर्शनस्थललाई स्वीकृति दिइसकेको छैन। कार्यालयले दुवै पक्षको प्रदर्शनस्थल टाढा एकअर्काबाट राख्न खोजेको छ।