
काठमाडौं। गत चैत १५ गते तीनकुनेमा भएको राजावादी समूहको अराजक प्रदर्शनमा संलग्नमध्ये ६५ जनाविरुद्ध मुद्दा दायर भएको छ। आइतबार जिल्ला सरकारी वकिल कार्यालयले विभिन्न ५ कसुरमा अभियोजनपत्र दायर गरेको हो।
शुक्रबार प्रहरीले १०८ जनालाई विभिन्न कसुरमा सजाय माग गर्दै राय प्रतिवेदन बुझाएको थियो। सरकारी वकिल कार्यालयले अध्ययन गरेर ६५ जनालाई मात्र मुद्दा चलाउने निर्णय गरेको छ। जसमा ४ जना नाबालक रहेका छन्।
जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरी शर्मा काफ्लेका अनुसार ५ वटा कसुरमा मुद्दा लगिएको छ। कर्तव्य जान, ज्यान मार्ने उद्योग, संगठित अपराध, राजद्रोहको कसुर र आपराधिक उपद्रवमा मुद्दा लगिएको हो।
आन्दोलनका कमान्डर मानिएका दुर्गा प्रसाइँविरुद्ध भने पाँचवटै अभियोग आकर्षित गरिएको छ। कर्तव्य जान मुद्दामा २० वर्षसम्म कैद सजाय माग गरिएको छ।
प्रसाइँ चैत १५ गतेदेखि भागेर भारत पुगेका थिए। चैत २९ गते उनलाई नेपाल प्रहरीले झापाबाट पक्राउ गरेको थियो। उनलाई भारतमा प्रहरीले फेला पारेको थियो। त्यस समयदेखि उनी हिरासतमा छन्।
त्यस्तै, राप्रपाका २ नेता रविन्द्र मिश्र र धवल सम्मशेर राणालाई पनि चैत १५ गते पक्राउ गरिएको थियो। यी दुई नेताहरु भने हाल हाजिरी जमानीमा छुटिसकेका छन्। उनीहरूविरुद्ध पनि विभिन्न ४ वटा कसुर लगाइएको छ।