
काठमाडौं। राजस्व परामर्श समितिले विभिन्न औद्योगिक कच्चा पदार्थमा लाग्दै आएको भन्सार महसुल घटाउन सुझाव दिएको छ।
आगामी आवको बजेटमा तर्जुमा हुने राजस्व नीतिमा सुझाव दिनका लागि राजस्व सचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा बनाइएको समितिले कच्चा पदार्थको उच्च भन्सार महसुलले स्वदेशी उद्योगलाई समस्या भएको भन्दै घटाउन सिफारिस गरेको हो।
समितिले बिस्कुट, मेटल, कृषि लगायत उद्योगमा प्रयोग हुने केही कच्चा पदार्थको भन्सार महसुल कम गर्ने व्यवस्था गर्नुपर्ने भनेको छ।
स्वीच बनाउने कच्चा पदार्थमा १५ प्रतिशतसम्म महसुल लाग्ने व्यवस्था भएकाले यसले स्वदेशी उद्योगलाई मर्का परेका कारण अन्त:शुल्क दर परिमार्जन गर्न समितिले सुझाव दिएको छ।
कृषि औजार बनाउने उद्योगका साथै माछा पालनमा प्रयोग हुने एक्वा कल्चरल ट्यांकमा निश्चित प्रतिशत भन्सार महसुल छुट दिनुपर्ने समितिको राय छ।
मदिराको स्प्रिटमा भन्सार महसुल दर पुनरावलोकन गर्न तथा इन्धन र विद्युतीय गाडीको भन्सार महसुल दर पुनरावलोकन गरी राजस्वमा हुने नोक्सानी कम गर्न पनि समितिले भनेको छ। त्यस्तै विद्युतीय सवारी साधनमा भएका पुराना ब्याट्री निकासी गर्ने व्यवस्था गर्न समितिले सिफारिस गरेको छ।
मकै, धान, चामल, कोदो लगायत वस्तुको निकासी भन्सार महसुल वृद्धि गर्न उपयुक्त हुने समितिको सुझाव छ।
समितिले गुण र विशेषता एउटै भएका वस्तुमा समान भन्सार महसुल लगाउन उपयुक्त हुने बताएको छ। स्वास्थ्यमा हानि गर्ने वस्तुहरूको महसुल बढाउन भनेको छ।
अव्यवस्थित र खुला सीमाका कारण चोरी निकासी, पूर्वाधारको अभावजस्ता समस्या भन्सारमा रहेकाले राजस्व संकलनको लक्ष्यमा बाधा पुगेको समितिले बताएको छ। यसका लागि सीमामा कडाइ, नियमित अनुगमन, डिजिटल प्रविधिको प्रयोगजस्ता विषयमा ध्यान दिन समितिले सुझाएको छ।