कर्मचारीको गडगडाहट ताली, नीलम भने मलिन : राष्ट्र बैंकमा नयाँ गभर्नरको पदबहालीका दृश्य

सुदर्शन सापकोटा
२०८२ जेठ ७ गते १५:१३ | May 21, 2025
कर्मचारीको गडगडाहट ताली, नीलम भने मलिन : राष्ट्र बैंकमा नयाँ गभर्नरको पदबहालीका दृश्य


काठमाडौं। नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित कार्यालयको दोस्रो तलामा रहेको गभर्नरको कार्यकक्षमा डा. नीलम ढुंगाना तिम्सिना सोफामा टोलाएर बसिरहेकी थिइन्।

Tata
GBIME

उनको अनुहारमा न मुस्कान थियो, न त नयाँ गभर्नरलाई स्वागत गर्ने उमंग। नवनियुक्त गभर्नर डा. विश्व पौडेललाई पुष्पगुच्छा दिएर स्वागत गर्न सहयोगीहरूले आग्रह गरे। उनले पुष्पगुच्छा टेबलमा राख्न भनिन्। गभर्नर कार्यकक्ष र सभा हलमा प्रवेश गर्दा उठेर स्वागत गर्ने सामान्य शिष्टाचारसमेत उनले देखाइनन्।

गभर्नरको रेसमा रहेकी ढुंगानालाई अर्थमन्त्री अध्यक्ष रहेको समितिले सिफारिस गरेको थियो। दलगत भागबण्डामा पौडेल गभर्नर नियुक्त भए। 

अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले कार्यालयको ढोकाबाट कार्यकक्षसम्म गभर्नर पौडेललाई पुर्‍याउँदा ढुंगाना भने दोस्रो तलामै थिइन्। गभर्नरलाई कार्यकक्षमा पुर्‍याइएपछि ढुंगाना पनि पुगिन्। उनी कुनाको एउटा सोफामा बसिन्। उनको अनुहार मलिन थियो, त्यसले पदबहालीको रौनकतामा खल्लो बनाइरहेको थियो।

त्यसअघि राष्ट्र बैंकको प्रांगणमा भने रौनक थियो। लामो राजनीतिक रस्साकस्सीपछि मंगलबार साँझ गभर्नर नियुक्त भएका पौडेल बुधबार कार्यालय समय सुरु हुनासाथ सर्वोच्च अदालत पुगे। दौरा सुरुवाल, कालो कोट र चस्माको फ्रेमभित्र गम्भीर मुद्रामा उनले प्रधानन्यायाधीशसँग सपथ लिए।

त्यसपछि अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी, अर्थसचिवलगायतले उनलाई शुभकामना दिए। छोटो बसाइपछि उनी पदभार ग्रहण गर्न बालुवाटार लागे।

राष्ट्र बैंकको प्रवेशद्वारमा पौडेलको गाडी पुग्दा तालीको गडगडाहटले वातावरण गुञ्जायमान भयो। कर्मचारीले खादासहित स्वागत गरे। पौडेल हात जोडेर नमस्ते फर्काउँदै हल्का मुस्कानसहित अगाडि बढे। फोटोपत्रकारहरू उनलाई अगाडि-पछाडिबाट पछ्याइरहेका थिए, क्यामेराको फ्ल्यासले उनको हरेक पाइलालाई कैद गरिरहेको थियो।

कार्यकारी निर्देशकहरूले उनलाई हार्दिकतापूर्वक स्वागत गरे। डेपुटी गभर्नर बमबहादुर मिश्रले पुष्पगुच्छासँगै खादा ओढाए। पौडेलले मिश्रलाई अँगालो मारेर धन्यवाद फर्काए।  

दोस्रो तलाको गभर्नर कार्यकक्षमा पुग्दा जुन दृश्य देखियो त्यो अपेक्षाभन्दा फरक थियो। ढुंगाना जसले कामु गभर्नरको जिम्मेवारी सम्हालेकी थिइन्, उनले स्वागत गर्नु त परको कुरा सामान्य शिष्टाचारसमेत देखाइनन्। 

सञ्चारकर्मीहरूको बधाइ थाप्दै पौडेलले संक्षिप्त प्रतिक्रिया दिए ‘नियमले थिच्ने होइन, सुपरिवेक्षणलाई बलियो बनाएर अगाडि बढ्ने मेरो रणनीति हो।’ 

यता कार्यकारी निर्देशकदेखि निर्देशकसम्म ढुंगानाको व्यवहारबाट असहज महसुस गरिरहेका थिए। उनको मुहारमा गभर्नरको कुर्सी गुमाएको पीडा र असन्तुष्टि स्पष्ट देखिन्थ्यो। 

मंगलबार गभर्नर सिफारिस समितिले ‘बायोडाटा’ मागिरहँदा ढुंगाना सञ्चालक समितिको बैठकमा व्यस्त थिइन्। बैठकमा उनले मौद्रिक समीक्षाको तयारीबारे चर्चा गरेकी थिइन्। बुधबार व्यवस्थापन समितिको बैठकबाट पारित गर्ने र शुक्रबार पुन: सञ्चालक समितिको बैठकबाट पारित गरेपछि सार्वजनिक गर्ने योजनामा थिइन्।

आर्थिक अनुसन्धान विभागले तथ्यांक र परिदृश्यका आधारमा समीक्षा तयार पारिसकेको थियो। ढुंगानाले केही नीतिगत व्यवस्था थपेर समीक्षा सार्वजनिक गर्ने योजना बनाएकी थिइन्। सेयर धितो कर्जाको व्यक्तिगत सीमा हटाउन अध्ययन गर्ने विषय उनले समीक्षाबाट ल्याउने सोचिरहेकी थिइन्।

तर, बैठक सकिंदा नसकिँदै मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका डा. पौडेललाई गभर्नर नियुक्त गर्‍यो। 

सामान्यतया, सेकेन्डम्यानले नयाँ नेतृत्वलाई स्वागत गर्ने परम्परा छ। तर, ढुंगानाले त्यो परम्परालाई बेवास्ता गरिन्। नवनियुक्त गभर्नर पौडेलले भने डेपुटी गभर्नर र कार्यकारी निर्देशकहरूसँग गफिँदै वातावरण सहज बनाउने प्रयास गरे।

ढुंगानाको असहज व्यवहार र कर्मचारीको उत्साहपूर्ण स्वागतबीच गभर्नर पौडेलले पाँच वर्षे कार्यकालको सुरुवात गरेका छन्।