रवि लामिछाने थुनामै रहने, सर्वोच्चले सदर गर्‍यो उच्चको आदेश

बिजमाण्डू
२०८२ जेठ ९ गते २०:५३ | May 23, 2025
रवि लामिछाने थुनामै रहने, सर्वोच्चले सदर गर्‍यो उच्चको आदेश


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामै रहने भएका छन्।

Tata
GBIME

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उच्च अदालतको आदेश सदर गर्दै रविलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो।

उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश सर्वोच्चले सदर गरेसँगै रवि थुनामै रहने भएका हुन्।

रविका तर्फबाट उनकी पत्नी निकिता पौडेलले वैशाख ७ गते बन्दीप्रत्यक्षीकरण निवेदन दिएकी थिइन्। यस्तै, रवि लामिछानेले पनि उच्चको थुनछेक आदेश बदरको माग गर्दै निवेदन दिएका थिए।

सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशमा रवि चैत २२ गते कारागार चलान भएका थिए।

उच्च अदालतका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले बुटवलको सुप्रिम सहकारीको रकम ठगेको कसुरमा रविलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो।

जिल्ला अदालत रुपन्देहीले १ करोड रुपैयाँ धरौटी मागेको आदेशमा चित्त नबुझाएर रवि उच्च अदालत पुगेका थिए। उच्चले भने रविकै निवेदनमा आदेश उल्टाएको थियो।

सर्वोच्च अदालतले उच्चकै आदेश सदर गरेपछि रवि अब मुद्दा किनारा नलागेसम्म थुनामै रहनेछन्।