
काठमाडौं। नयाँ बानेश्वरस्थित संसद् भवन पछाडि एउटा होस्टल छ। त्यही होस्टलको एउटा कोठामा वर्षदिनमै करोडौंको कारोबार गर्ने कम्पनीको सानो अफिस पनि छ। त्यो अफिसमा छ – एउटा खाट, एउटा टेबल र केही थान कपडा। झट्ट हेर्दा अफिस हो भन्ने पत्याउनै गाह्रो।
यहाँ न कुनै कर्मचारी भेटिन्छन्, न त कम्पनीको कुनै गोदाम वा कारखाना नै। सरकारी रेकर्डबाट भने कम्पनीले तीन आर्थिक वर्षमा ६० करोडभन्दा बढीको कारोबार गरेको भेटिन्छ। कारोबारको आकारसँग अफिसको ‘इन्टेरियर’ कुनै कोणबाट मेल खाने देखिंदैन। यो सानो कोठामा सञ्चालन भइरहेको छ- ध्रुव कन्स्ट्रक्सन प्रालि।
कम्पनीका सञ्चालक हुन् सुनसरी हरिपुरका ध्रुव देव। उनी उमेरले २६ वर्षका भए। भर्खरै सिभिल इन्जिनियरिङमा स्नातक सकेका ध्रुवको कम्पनीले एकाएक कसरी करोडौंको कारोबार गर्ने ल्याकत बनायो त?
आर्थिकरुपमा तीन वर्षमै निकै चम्किएका ध्रुवको केही सातायता भने हिरासतको बास छ। उनीविरुद्ध १ अर्ब २० करोड रुपैयाँ जरिवानाको मागदाबीसहितको मुद्दा अगाडि बढेको छ।
राजस्व अनुसन्धान विभागको अनुसन्धानले ध्रुव नक्कली बिल बीजक बिक्री गर्ने कारोबारी भएको देखाएको छ। लामो समयको अनुसन्धानपछि विभागले प्रमाण जुटाएर उनीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।
साथीसँगको लेनदेन, अपराधको कर्तुत!
ध्रुवको आर्थिक अवस्था सामान्य नै थियो। सिभिल इन्जिनियरिङमा स्नातक पूरा गरेपछि उनी सानातिना काममा अल्झिन थाले। त्यहीक्रममा उनको महत्त्वाकांक्षाले जमिन छाड्यो। त्यसको असर, २०७८ मा उनले आफ्नै नामको कन्स्ट्रक्सन कम्पनी दर्ता गराए।
यसबीच उनको सम्पर्क केही ठेकेदारसँग बाक्लिइसकेको थियो। ठेक्कापट्टामा फर्जी कागजातको प्रयोग हुने देखेपछि उनले त्यही बाटो समाते। उनको कम्पनीले बिल बीजक नै बिक्री गर्न थाल्यो। त्यसको जानकारी उनका केही साथीलाई थियो।
तिनैमध्येका एक साथीले ध्रुवसँग ६ लाख रुपैयाँ सापटी लिएका थिए। केही समयपछि ध्रुवले सापटीको रकम फिर्ता माग्न थाले। ती साथीले रकम फर्काएनन्। लेनदेनको यही घटनाले उनीहरू बीच दूरी बढ्दै गयो। अनुसन्धानको घेरा हुँदै हिरासतसम्मको ध्रुवको यात्राको आधारविन्दु यही लेनदेन बन्न पुग्यो।
राजस्व अनुसन्धान विभागले अनुसन्धान थालेलगत्तै उनी केही महिना फरार भए। केही समयपछि प्रहरीले ध्रुवलाई पक्राउ गरेर विभागमा बुझायो। अनुसन्धानको क्रममा होस्टलमा रहेको उनको कार्यालयमा फेला पर्यो- नक्कली बिल बीजक। खाटमुनि बक्सामा बिल बीजकका दर्जन बढी प्याड भेटिए।
सामान नकिनी करोडौं लागतमा भवन!
ध्रुवले अनुसन्धान अधिकृतहरुसामु कम्पनीमार्फत करौडौं लागत पर्ने भवन, सडक बनाएको दाबी गरे। उनले काठमाडौंका होटलदेखि नेपाल ल क्याम्पसको भवन समेत जोइन्ट भेन्चरमा बनाएको दाबी सुनाए।
निर्माणका लागि आवश्यक पर्ने सामग्री खरिद गरेको भने देखिएन। तर, १५ करोडमा त्यही भवन बनाएको भन्दै बिल बीजक खरिद र बिक्री भएको खुल्यो।
ध्रुव कन्ट्रक्सनले बाबुरत्न कन्स्ट्रक्सनसँग जोइन्ट भेन्चरमा काम गरेको दाबी गरेको छ। यी दुई कम्पनीले बालाजुमा चौमती परियोजना र भृकुटीमण्डपमा नेपाल ल क्याम्पसको भवन निर्माण गरेको देखिन्छ। अनुसन्धानमा यी दुई कम्पनीबीच १५ करोडसम्म बराबरको बिल बिीजक किनबेच भएको देखिएको छ।
बाबुरत्न कन्स्ट्रक्सनले ध्रुवको बैंक खातामा पटक-पटक रकम जम्मा गरेको देखिन्छ। तर, रकम डिपोजिट गरेकै दिन बाबुरत्न कन्स्ट्रक्सनका कर्मचारी उमेश शाही र मंगल महर्जनको नामबाट रकम झिकिएको देखिन्छ। यसबाट उनीहरूले बिल बीजक खरिद बिक्री गरेको पुष्टि हुन पुग्यो।

ध्रुवले खरिद गरेको कुनै पनि सामानको कारोबार बैंकबाट भएको देखिएको छैन। ‘यात्री सुइट्स एन्ड स्पा प्रालि’ र बाबुरत्न कन्ट्रक्सनले ध्रुवको कम्पनीमा रकम जम्मा गरेको देखिन्छ। जम्मा गरेकै दिन जति डिपोजिट गर्यो, त्यति नै दुई कम्पनीका कर्मचारीले झिकेको भेटियो। यसले कारोबार प्रोक्सी भएको ठम्याउन विभागलाई गाह्रो भएन। उनीहरूले वास्तविक कारोबार भएको जस्तो देखाएर राजस्व छल्ने रणनीति बनाएका थिए।
ध्रुवले काम गरेको भनिएको होटल, रेस्टुरेन्ट र अन्य फर्ममा पुगेर विभागका कर्मचारीले अनुसन्धान गरे। उनले जुनजुन बिल बीजक काटे, त्यसलाई पुष्टि गर्ने रकम भेटिएको छैन।
त्यस्तै, ती भवन निर्माण गर्न लाग्ने सामग्री खरिद गरेका फर्मको अवस्थाले पनि सक्कली कारोबार देखिएको छैन। कारोबार नहुँदा पनि करौडौं रुपैयाँको बिल बीजक काटिएकव छ।
एउटै प्याडमा तीन आर्थिक वर्षको बीजक जारी गरीएको छ। त्यस्तै कारोबारको भीसीटीएस समेत छैन।
१२ करोडको सामान किनेको कम्पनीसँग करयोग्य बिक्री २ करोड!
ध्रुवले भवन तथा सडक निर्माण गर्दा आवश्यक पर्ने सामान विराटनगरको हार्डवेयरबाट खरिद गरेको बताएका छन्। त्यसको खरिद बिल बीजक भेटिएको छ।
तर, विराटनगरबाट खरिद गरेको करौडौंको सामान राख्ने गोदाम, रेकर्ड राख्ने कर्मचारी कोही भेटिएका छैनन्। त्यसभन्दा अचम्मको कुरा जति मूल्यको सामान खरिद गरेको बिल बीजक भेटिएको छ, त्यस बराबरको कारोबार त्यही फर्मले गरेको देखिंदैन।
विराटनगरमा रहेको भीम हार्डवेयर एण्ड सप्लायर्सबाट उनले आर्थिक वर्ष २०७९/८० मा मात्र १२ करोड ४६ लाख २९ हजार ५०० रुपैयाँको करयोग्य सामान खरिद गरेको खरिद बिल बीजकबाट देखिएको छ।
तर, बिक्रेता भीम हार्डवेयरले आर्थिक वर्ष २०७९/८० मा पेस गरेको मूल्य अधिकृत कर विवरणअनुसार करयोग्य बिक्री नै २ करोड १५ लाख ९७ हजार ९६० रुपैयाँको मात्र देखाएको छ। यसरी हेर्दा क्रेता र बिक्रेता बीचको खरिद बिक्री ठ्याम्मै मिल्दैन।
‘हामीले उसले सामान खरिद गरेको भनेका तीनवटा फर्म हेरेका थियौं। तीनै वटाको अवस्था यस्तै देखिएको छ,’ विभागका एक अनुसन्धान अधिकृतले सुनाए।
ध्रुवले आर्थिक वर्ष २०७९/८० देखि आय विवरण पेस गरेका छैनन्। त्यस्तै, मूल्य अभिवृद्धि कर विवरण तेस्रो चौमासिक सम्मको मात्र पेस गरेका उनले खरिद गरेको मालवस्तुको भुक्तानी गरेको बैंक स्टेटमेन्ट देखिएको छैन।
साँघुरो होस्टलको कोठाभित्र करोडौंको कारोबार गर्ने ध्रुवको जीवनस्तर भने सुध्रिएको छैन। त्यसैले अनुसन्धान अधिकृत नै भन्छन्, ‘अरुको लाखौं रुपैयाँ बचाउन हजार कमाएर ठूलो रिस्क मोलेको देखिन्छ।’
४० वटा फर्म अनुसन्धानमा
ध्रुव कन्ट्रसनसँग लाखौंको बिल बीजक खरिद गर्ने ४० वटा फर्म पनि अनुसन्धानमा तानिने भएका छन्। त्यस्तै, बिल बीजक बिक्री गर्ने अन्य १० वटा कम्पनीमाथि पनि अनुसन्धान हुने भएको छ। विभागले अनुसन्धान गर्न आन्तरिक राजस्व कार्यालयलाई पत्राचार गर्ने तयारी गरिरहेको छ।
त्यसबाहेक ठूलो कारोबार रहेका तीन फर्ममाथि भने राजस्व अनुसन्धान विभागले नै अनुसन्धान गर्नेछ। जसमा विराटनगरको भीम हार्डवेयर, बाबुरत्न कन्स्ट्रक्सन र ठमेलमा रहेको ‘यात्री सुइट्स एन्ड स्पा’ छन्। यी कम्पनीबाट १० करोड रुपैयाँ भन्दा बढीको बिल बीजक खरिद बिक्री भएको देखिएको छ।
बिल बीजक खरिद गर्ने फर्ममा कन्स्ट्रक्सन कम्पनी, होटल, रेस्टुरेन्टदेखि विभिन्न संघसंस्था छन्। एउटा फर्मले नक्कली बिल बीजक खरिद गर्दा एक करोड रुपैयाँमा ३० देखि ४० लाख रुपैयाँसम्म राजस्व बचाउँछ। संस्था कहाँ दर्ता छ र करको स्ल्याब कति छ भन्ने कुराले राजस्व छल्ने आधार तय हुन्छ।