
काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार बिहान भेटेपछि क-कसको नाम सिफारिस हुन्छ भन्नेमा अन्यौंल थियो।
जब डा. विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति बनेलगत्तै बैठक स्थलबाटै अर्थमन्त्री विष्णु पौडेलले सिफारिस समितिका सदस्यहरुलाई फोन गरे, बाँकी दुई सदस्यमा सिफारिस हुनसक्ने नामका बारेमा राम्रै चर्चा भयो।
नेपाल राष्ट्र बैंक ऐनअनुसार समितिले ३ जनाको नाम सिफारिस गर्नु पर्छ। त्यसमध्ये एक नाम डेपुटी गभर्नरमध्येबाट गर्नु पर्छ।
डा. विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने भएपछि बाँकी दुई नाममा चर्चा भयो। ती दुईमा पनि कामु गभर्नर डा. निलम ढुङ्गना तिमिल्सिनाको नाम सिफारिस हुन्छ भन्नेमा सबै स्रोतहरु ढुक्क थिए।
केहीले निमलसँगै अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र सिफारिस हुन्छन् भन्ने अनुमान गरेका थिए। चर्चामा रहेका ज्ञानेन्द्र ढुङ्गाना पनि सिफारिस हुने अनुमान थियो।
तर पूर्व सचिव दिनेश भट्टराई सिफारिस हुन्छन् भन्ने कसैलाई पनि अनुमान थिएन।
साढे चार बजेतिर अर्थमन्त्रालयमा सिफारिस समितिको बैठक बसेपछि नामहरुमा खासै चर्चा भएन। एक नम्बरमा डा. पौडेलको नाम सिफारिस भयो। दुई नम्बरमा पनि बमबहादुरको नाममा कुरै भएन, सिधै डा. ढुङ्गानाको नाम सिफारिस भयो।
तीन नम्बरमा कसको नाम सिफारिस गर्ने भनेर केहीबेर छलफल हुन्छ भन्ने सदस्यहरुलाई लागेको थियो। तर अर्थमन्त्री पौडेलले पूर्व बाणिज्य तथा आपूर्तिका साथै नारायणकाजी श्रेष्ठका पालामा गृह सचिव रहेका दिनेश भट्टराईको नाम टिपाए।
‘त्यहाँ नामहरुका बारेमा छलफल नै भएन। बुँदागत रुपमा राजस्व सचिवलाई टिप्न लगाइयो’ एक सदस्यले भने, ‘भट्टराईको नाममा किन भनेर प्रश्न पनि उठेन। अर्को नामका बारेमा छलफल हुने माहौल पनि बनेन।’
स्रोतहरुका अनुसार भट्टराईको नाम अर्थमन्त्रीको रोजाइमा आएको हो। ‘डा. पौडेल कांग्रेसको नाम भयो, डा. ढुङ्गाना प्रधानमन्त्रीको नाम भयो’ स्रोतले भन्यो, ‘सिफारिस समितिको संयोजक भएर पनि आफ्नोतर्फको नाम नराख्ने हो भने के संयोजक भन्ने पनि भयो। त्यसैले उहाँले भट्टराईको नाम प्रस्ताव गर्नु भयो।’