निलम्बनपछि मैदान उत्रिएकै दिन धीरेन्द्र शाहले गरे गोल, फिफाको दबाबपछि एन्फा यू-टर्न

मुकुन्द घिमिरे
२०८२ बैशाख ३० गते १८:०४ | May 13, 2025
निलम्बनपछि मैदान उत्रिएकै दिन धीरेन्द्र शाहले गरे गोल, फिफाको दबाबपछि एन्फा यू-टर्न
धीरेन्द्र शाहको गोल सेलिब्रेसन। फाइल फोटो एन्फा।


काठमाठौं। एन्फा राजनीतिको सिकार बनेका धीरेन्द्र शाहले फेरि आफूलाई प्रमाणित गरेका छन्।

Tata
GBIME

लगातार दुई खेलमा गोलपछि सुरु भएको विवादका कारण एन्फाको निलम्बनमा परेका धीरेन्द्रले ९ खेलपछि मंगलबार मैदान फर्किएर गतिलो जवाफ दिएका छन्।

वीरगंज युनाइटेडविरुद्ध वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका उनको गोलको सहायतामा सरस्वती क्लबले खेल ३-० गोलले जित्यो।

उनी जारी शहीद स्मारक ‘बी’ डिभिजन लिगमा दुई खेल खेलेपछि एन्फाको कारवाहीमा परेका थिए।

के भएको थियो?

धीरेन्द्रले सरस्वती क्लबबाट शहीद स्मारक ‘बी’ डिभिजन लिग खेले। दुई खेलमध्ये दुवैमा गोल गरेका उनी लिगकै प्रभावशाली खेलाडी बन्ने लाइनमा थिए।

सरस्वती क्लबले एन्फामा दर्ता गरेरै धीरेन्द्रलाई आफ्नो टोलीमा राखेको थियो। तर, २०७९ को सम्झौतालाई आधार बनाएर टुसाल क्लबले ‘प्रोटेस्ट’ हाल्यो। टुसालको त्यो उजुरीलाई एन्फाले सदर गरिदियो।

टुसाल क्लबसँग धीरेन्द्रको सम्झौता ६० हजार रुपैयाँमा २०७९ को शहीद स्मारक ‘बी’ डिभिजन लिगसम्म र बढीमा २०८० सम्म हुने गरी भएको थियो। 

एन्फाले यस्तोमा धीरेन्द्रलाई बाँकी खेलबाट निलम्बन गर्ने र सरस्वतीको ३ अंक घटाउने निर्णय गरेको थियो।

‘हामी त ए डिभिजनमा जाने तयारीमा थियौं। हामीलाई परेको नोक्सानी त शब्दमा भन्न सकिँदैन। एन्फाको निर्णय गलत थियो भन्ने त आज आएर प्रमाणित भयो नि,’ उनले भने, ‘हिजो गलत भए आज सही कसरी भयो? आर्थिक क्षतिसँगै फुटबलमा करियर खोजिरहेको खेलाडीलाई ठूलो अन्याय भएन र?’

दुई खेल जितबाट सुरु गरेको सरस्वतीले कारवाही पछि लय बिगारेको थियो। रेलिगेसन स्थानमै संघर्ष गरिरहेको उसलाई धीरेन्द्रको आगमनपछिको जित र फिर्ता अंकले राहत दिएको छ। तर, ‘ए’ डिभिजनमा पुग्ने योजनामा भने ठेस लागिसकेको छ।

फिफाको दबाबले एन्फा ब्याक

धीरेन्द्र सरस्वतीबाट ‘बी’ डिभिजनका लागि एन्फामा दर्ता भएका थिए। तर, एन्फाको संस्थापन पक्षमा नरहेको सरस्वतीसँगको टसलमा उनले कारवाही ब्यहोरेको स्पस्ट थियो।

बिहीबारको साधारण सभापछि एन्फाले यू-टर्न लियो। मंगलबार विज्ञप्ति निकाल्दै प्रतियोगिता समिति र अनुशासन समितिले यसअघि गरेका कारवाहीविरुद्ध अपिल समितिले निर्णय गरेको एन्फाका सीइओ इन्द्रमान तुलाधरले जनाएका छन्।

‘यसअघिका निर्णय बदर गरी सरस्वती युवा क्लबबाट फिफा कनेक्ट प्रणाली अनुसार दर्ता कायम रहेको खेलाडीलाई योग्य रुपमा राखि सोही अनुरुप गर्न गराउन निर्णय भइ आएको छ,’ तुलाधरको विज्ञप्तिमा भनिएको छ।

फिफा कनेक्टमा सरस्वतीबाटै दर्ता खेलाडीलाई कारवाही गरेपछि एन्फालाई एएफसीदेखि फिफासम्मबाट दबाब आएको स्रोतले बतायो।

सम्बन्धित समाचार: ६० हजारको त्यो करार जसले धीरेन्द्र बने एन्फा र टुसालको ‘टार्गेट’, सरस्वती पुग्यो पुछारमा

सरस्वती क्लबका अध्यक्ष उत्तमराज भण्डारीले साधारण सभाका लागि नेपाल आएका फिफाका प्रतिनिधि सामु यो विषय उठाएको बताए।

‘उहाँले फिफा कनेक्टको बारेमा वर्णन गर्न थाल्नु भयो। मैले फिफा कनेक्ट अन्तर्गत नै रहेका हाम्रा खेलाडीले कारवाही भोगेकाले यसको के अर्थ रह्यो र भनेर प्रश्न उठाएको थिएँ,’ उनले भने, ‘त्यसपछि उनी सिरियस भएका थिए। पछि भेटेर पनि मैले कुरा बुझाएको थिएँ।’

फिफा र एएफसीका प्रतिनिधिले नै आफूलाई ‘यो गलत भयो’ भनेर भनेको भण्डारीले बताए। लगत्तै एन्फाले निर्णय उल्टाएको हो।