काठमाडौं। कञ्चनपुरका धीरेन्द्रबहादुर शाहले सरस्वती क्लबबाट शहीद स्मारक ‘बी’ डिभिजन लिग खेले। दुई खेलमध्ये दुवैमा गोल गरेका उनी लिगकै प्रभावशाली खेलाडी बन्ने लाइनमा थिए।
पहिला पनि उनले टुसाल युथ क्लबसँग २०७९ सालमा ‘बी’ डिभिजनका लागि करार गरेका थिए। त्यसबेला लिग नै भएन। लिग नभएपछि करार बमोजिम पैसा माग्ने कुरा पनि आएन। त्यतिखेर जम्मा पाँच हजार रुपैयाँ पाएका थिए उनले। त्यो पैसा कञ्चनपुरबाट काठमाडौं आतेजातेमै सकियो।
तीन वर्ष बित्यो। माथिल्लो स्तरको फुटबल खेल्ने सपना पूरा गर्न यसपाला उनी साथीहरूसहित पुगे सरस्वती क्लब। खेलमा सुरुवात राम्रो भयो। तर, कञ्चनपुरबाट नेपालको दोस्रो डिभिजन खेल्न आएका शाहको सबै कुरा सोचेजस्तो भने भएन।
अखिल नेपाल फुटबल संघ (एन्फा)को ‘राजनीति’को केन्द्रमा उनी परे। एन्फामा संस्थापन पक्षका क्लब र इतरका क्लबबीच साँढेको जुधाइ भयो। त्यहाँ मिचाइमा पर्ने बाच्छाजस्तै भए उनी।
एन्फाले मंगलबार जारी गरेको शहीद स्मारक ‘बी’ डिभिजन लिगको तालिकाको पुछारमा छ, सरस्वती युथ क्लब। उसले ७ खेल खेल्दा एउटामा जित निकालेर ६ वटामा पराजय ब्यहोरेको छ।
तर, मैदानमा देखिएको नतिजा सोझोखाले छैन। मैदानमा त सरस्वतीले सुरुका दुई खेलमा जित निकाल्दै ‘बी’ डिभिजन लिगमा राम्रो सुरुवात गरेको थियो तर पछि जितेको खेल पनि गुमाएर एकमा सीमित बन्यो।
म्याद गुज्रेको करारको त्यो ६० हजार…
शहीद स्मारक ‘बी’ डिभिजन लिगका सुरुवाती दुई खेलमा सरस्वतीले दुवैमा जित निकाल्दा गोल गर्ने खेलाडी थिए उनै धीरेन्द्र शाह।
यस लिगमा सरस्वती क्लबले एन्फामा दर्ता गरेरै शाहलाई आफ्नो टोलीमा राखेको थियो। तर, २०७९ को सम्झौतालाई आधार बनाएर टुसाल क्लबले ‘प्रोटेस्ट’ हाल्यो। टुसालको त्यो उजुरीलाई एन्फाले सदर गरिदियो।
टुसाल क्लबसँग शाहको सम्झौता ६० हजार रुपैयाँमा २०७९ को शहिद स्मारक ‘बी’ डिभिजन लिगसम्म र बढीमा २०८० सम्म हुने गरी भएको थियो। त्यसबाहेक करारका अन्य प्रावधान कार्यान्वयनमा आएको देखिन्न। जस्तो कि सम्झौतामा उल्लेख भएको २० प्रतिशत पहिलो किस्ता उनले पाएनन्। टुसालले दायित्व बहन नगरेपछि प्रथम दृष्टिमा नै करार स्वतः निष्कृय हुनुपर्थ्यो। तर, एन्फाले टुसालले जे दाबी गर्यो त्यसलाई विश्वास गरेर आँखा चिम्लिएको आरोप सरस्वती क्लबले लगाएको छ।
‘२०७९ सालमा पहिलो किस्ता नै नपाएको निस्क्रिय करारलाई देखाएर आज ठोकेको ठोक्यै छ। एन्फामा बसेर त्यसो गर्न पाइन्छ? यो नियतबस् गरिएको छ,’ सरस्वती क्लबका अध्यक्ष उत्तमराज भण्डारीले भने।
अर्को महत्वपूर्ण विषय, ‘बी’ डिभिजन क्लबहरूमा ५० जनासम्म खेलाडी खेलभन्दा अगाडि जहिले पनि दर्ता गर्न पाइने सुविधा छ। तर, यसरी नाम दर्ता गर्दा सरस्वती बाहेकका क्लबबाट उनको नाम दर्ता भएको छैन।
एकातिर सकिएको र कार्यान्वयनमा नै नगएको करार अर्कातिर खेलेर दर्ता भएर तर अरुतिरबाट दर्ता नै नभएको नाम। उनको नाममा एन्फामा ‘प्रोटेस्ट’को पत्र दर्ता गरेकै भरमा गोल गर्ने खेलाडी र क्लबको अंक घटाउने कदम एन्फाले चालेको छ। यसले प्रष्ट देखिन्छ – धीरेन्द्रलाई टुसाल क्लबले आफ्नो खेलाडी पनि बन्न नदिने र अरुको क्लबमा खेल्न पनि रोक्ने रणनीति लियो। यस प्रकरणमा एन्फाले टुसालको लोलीमा लोली मिलाएको छ।
‘सँगै खेल्ने साथीले खेलिरहँदा र आफूले खेल्न नपाउँदा नराम्रो लागिरहेको छ। मलाई धेरै अफ्ठ्यारो भइरहेको छ। एन्फाले न्याय दिइरहेको छैन,’ खेलाडी शाहले भने।
टुसालको तर्क : लगानी गरेका थियौँ, करार सकिएको छैन
टुसाल क्लबका अध्यक्ष विजय लामा भने आफ्नो क्लबबाट रिलिज नलिइ खेलाडी अर्को क्लबमा पुगेकाले एन्फामा उजुरी दिएको बताउँछन्। यद्यपि, एन्फाको निर्णय प्रक्रियामा आफ्नो केही हात नहुने भएकाले कारबाही लगायतको विषय एन्फाको रहेको उनले दाबी गरे।
‘एन्फाको नीति नियम अनुसार नै दाबी गरेका हौं,’ उनले भने।
त्यस्तै, लिगअघि सबै क्लबले अघिल्लोपटक दर्ता भएका खेलाडीलाई रिलिज माग्ने भन्ने सहमति भएको उनले दाबी गरे। यसमा सरस्वती लगायत सबै क्लब सहभागी थिए।
‘पहिल्यै हामीले जानकारी दिइसकेका थियौं। बुझेर पनि बुझ पचाउनेलाई सकिँदैन। खेल हारेपछि प्रोपोगाण्डा गरेर काम पनि छैन,’ उनले भने।
करारको विषयमा भने २०८० सम्मको भएको र त्यतिबेलै तोकिएको लिग यतिबेला भएकाले रिलिज लिनुपर्ने उनले बताए।
‘पहिला डेढ महिना खुवाएर र राखेर लगानी गरेको खेलाडी हो। जाने भए रिलिज त माग्नु पर्यो नि हैन र?’ उनले भने।
सरस्वतीको गुमेको अंक
एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले सरस्वती क्लबलाई पठाएको पत्रमा ‘टुसाल क्लब र सरस्वती क्लब दुवैमा करार गरिएको देखिएकाले बाँकी म्याचबाट निलम्बन गरेको ब्यहोरा जानकारी गराउँछु’ भनिएको छ।
सोही पत्रमा सरस्वती क्लबलाई रिलिज पत्र नलिइ खेलाडी अनुबन्ध गरेको भन्दै लिग प्रतियोगिताको नियमावाली बमोजिम खेलको नतिजा ३-० गोलले नयाँ बस्ती युवा क्लबको पक्षमा दिने निर्णय गरेको छ। यसबाट सरस्वतीले जितेको अंक समेत गुमाएको छ।
२ खेलबाट ६ अंक बनाएको सरस्वती क्लबको अंक गुम्दा ३ अंकसहित पुछारमा पुगेको हो। एन्फाका सीइओ इन्द्रमान तुलाधरले यही घटनाक्रमले सरस्वतीको अंक गुमेको स्वीकारे पनि यसमा थप टिप्पणी गर्न चाहेनन्।
त्यस्तै, एन्फाका प्रवक्ता सुरेश शाहले आफू अहिले काठमाडौं बाहिर रहेकाले यो विषयमा बुझ्नै बाँकी रहेको बताए।
धिरेन्द्रलाई रोक्का गर्न टुसालले एन्फामा दिएको पत्रमा ‘२०७९ सालमा आफ्नो क्लबमा आबद्ध भएका’ शाहलाई रिलिज बिना सरस्वतीले लगेको भन्दै रोक्का गर्न माग गरिएको छ। तर, यस संस्करणको खेलाडी दर्तामा टुसालले उनको नाम भने पठाएको देखिँदैन।
खेलाडी र टुसालबीचको सम्झौतामा ‘यो सम्झौता २०७९ सम्मका लागि रहनेछ। साथै आवश्यक भएका खण्डमा २०८० भित्र सञ्चालन हुने ‘बी’ डिभिजन क्लबका अन्य खेलमा पनि सहभागी हुनुपर्नेछ,’ भन्ने बुँदा राखिएको छ।
शाह भने आफूलाई धेरै कुरा थाहा नभए पनि ‘टार्गेट’मा परेको बताउँछन्। उनी यसका लागि अदालती ढोका ढक्ढकाउन पनि पुगिसकेका छन्।
‘गाउँमा खेल्ने मान्छे मलाई धेरै कुरा थाहा पनि भएन। यहाँ आएको यस्तो भयो। टुसालको अध्यक्षले त कुनै पनि क्लबमा नराख्नु भनेर निवेदन दिएको रहेछ। मलाई नै टार्गेटमा राखेजस्तो देखियो,’ उनले भने।