
धुलिखेल। अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको छ। सोमबार रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको रोशी-१२ माम्तीमा डाइभर्सन बगाएपछि राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको थियो।
सडक खुलेसँगै मंगलबार दिउँसोदेखि यातायातका सबै साधन दुईतर्फी चल्न थालेको डीएसपी मीनबहादुर घलेले जानकारी दिए। रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि आएपछि सोमबार रातीदेखि उक्त क्षेत्रमा आवागमन अवरुद्ध हुँदा थुप्रै सवारीसाधन रोकिएका थिए।
सडक डिभिजन कार्यालय भक्तपुरको पहलमा प्रहरी र स्थानीयको सहयोगमा अवरुद्ध सडक खुलाइएको सडक डिभिजन कार्यालय भक्तपुरका कर्मचारी चन्द्रबहादुर लामाले बताए।
यसअघि गत वर्ष असोज १० देखि १२ गतेसम्म रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको विभिन्न ठाउँमा क्षति पुगेको थियो। सडक डिभिजन कार्यालयले खोलाको किनारै किनार भएर अस्थायी डाइभर्सन बनाएपछि सवारी आवागमन भइरहेको थियो।