
काठमाडौं। माउन्टेन इनर्जी नेपाल लिमिटेडको खुद नाफा बढेको छ। कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार यस अवधिमा खुद नाफा ५०.४५ प्रतिशतले बढेको छ।
उक्त अवधिमा कम्पनीले ४६ करोड ५० लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३० करोड ९१ लाख रुपैयाँ थियो।
यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ९२ करोड २७ लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ६.०५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ८७ करोड १ लाख रुपैयाँ थियो ।
यस अवधिमा कम्पनीले बीमा दाबी भुक्तानीअन्तर्गत ८ करोड ५६ लाख रुपैयाँ प्राप्त गरेको छ। कम्पनीको ब्याज खर्च २० करोड ७८ लाखबाट घटेर १८ करोड १७ लाख कायम भएको छ।
विद्युत बिक्रीको आम्दानी बढेको, बीमा दाबी भुक्तानीको रकम पाएको र ब्याज खर्च पनि घटेको लगायतका कारणले कम्पनीको खुद नाफा बढेको हो।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ भने रिटेन अर्निङमा १ अर्ब १९ करोड छ। यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १७.८७ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १४५ रुपैयाँ ८७ पैसा छ।
कम्पनीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजनाको विद्युत उत्पादन नियमित छ।