९.६ मेगावाटको दरमखोला जलविद्युत निर्माणको अन्तिम चरणमा, असारदेखि उत्पादन लक्ष्य

बिजमाण्डू
२०८२ बैशाख २७ गते ०६:०३ | May 10, 2025
९.६ मेगावाटको दरमखोला जलविद्युत निर्माणको अन्तिम चरणमा, असारदेखि उत्पादन लक्ष्य


ढोरपाटन (बागलुङ)। दरमखोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। पाँच वर्ष अगाडि निर्माण सुरु भएको आयोजनाको आगामी असारमा सञ्चालनमा आउने गरी धमाधम काम भइरहेको छ।

Tata
GBIME
NLIC

विसं २०६५ निर्माण गर्ने भनिए पनि आयोजनाको काम २०७७ सालदेखि मात्रै सुरु भएको थियो। अहिलेसम्म पाइलाइन, विद्युत गृह निर्माणसहित ९६ प्रतिशत काम सकिएको जनाइएको छ। सुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले निर्माण गर्ने भने पनि अहिले दरमखोला हाइड्रो इनर्जी प्रालिले काम गरिरहेको छ।

गलकोट नगरपालिका–८ काँडेबासमा ड्याम निर्माण गरि साढे चार किलोमिटर पश्चिम मनेवापाटामा विद्युतगृह निमार्ण गरिएको छ। यो हाइड्रोपावर बागलुङ जिल्लाकै ठूलो भएको जनाइको छ। उक्त आयोजनाबाट ९.६ मेगावाट विद्युत उत्पादन हुने दरमखोला हाइड्रो इनर्जी प्रालिका इन्जिनियर निरज दासले जानकारी दिए।

अब विद्युत गृह भित्रको केही काम बाँकी रहेको जनाउँदै उनले आगामी असार महिनाभित्रै विद्युत उत्पादन थाल्ने तयारी रहेको उनले बताए। आयोजनाको उत्पादन केन्द्रीय प्रसारणमा जोडिने छ। लाइन तान्ने र पोल गाड्ने काम विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले गरिरहेको दास बताउँछन्।

‘आयोजनाको धेरै काम सकियो, अब केही ‘इन्टरर्नल’ काम मात्रै बाँकी छन्। ती पनि छिट्टै सकिनेगरि भइरहेका छन्, हामीहरुले पाइपलाइनमार्फत दरमखोलाको पानी लिएर विद्युत उत्पादन गर्न थालेका हौं,’ उनले भने, ‘काँडेबासमा ड्याम र मनेवामा पावर हाउस तयार भएको छ।’

आयोजना निर्माणको जिम्मा रामेछाप शेर्पा कन्स्ट्रक्सन र क्रिमहाइडल लिमिटेड पाएको थियो। दरमखोला हाइड्रो इनर्जीका अध्यक्ष नरबहादुर पुन ‘निरज’ले २ अर्ब १५ करोड रुपैयाँको लगानीमा निर्माण भइरहेको बताए।

सुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले बनाउने गरि इजाजत पाए पनि उक्त कम्पनीले काम नगरेपछि आफूले सुरु गरेको उनको भनाइ छ। ‘यो हाइड्रोपावर निर्माण गर्न धेरै समय लाग्यो। १७ वर्ष अगाडि गोर्खा हाइड्रोपावर कम्पनीले इजाजत पाएको थियो, त्यसलाई रद्द गरेर हामीले नयाँ कम्पनी बनायौङ। प्रक्रिया धेरै पहिले सुरु भए पनि काम थालेको पाँच वर्ष भयो,’ अध्यक्ष पुनले भने, ‘यहाँबाट विद्युत उत्पादन भएपछि हरिचौर सवस्टेशनमा जोड्ने तयारीमा छौं। यो बागलुङकै ठूलो हाइड्रोपावर हो।’