म्याग्दीमा ६.५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण सुरु

बिजमाण्डू
२०८२ बैशाख १९ गते ११:५१ | May 2, 2025
म्याग्दीमा ६.५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण सुरु
तस्बिर : रासस।


म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनाको कुनौटामा ६.५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ। दरखोला हाइड्रोपावर लिमिटेड प्रवर्धक रहेको आयोजनाको बाँध स्थलसम्म पहुँच मार्ग पुर्‍याएपछि अन्य संरचना निर्माण थालिएको हो।

GBIME
Tata

कुनौटोदेखि विद्युतगृहतर्फ पेनस्टक पाइप राख्ने ठाउँ बनाउन सडक निर्माण गर्न थालिएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशमबहादुर भण्डारीले बताए।

कुनौटोदेखि दरखोलाको दायाँ किनार हुँदै दर गाउँको फेदीतर्फ पेनस्टक पाइप राख्ने करिब २ किलोमिटर कच्ची सडकको ट्र्याक निर्माण भइसकेको छ। ३ वटा डोजर परिचालन गरिएको छ।

सोलवाङमा निर्माण हुने विद्युत्गृहसम्म पानी लैजान ३ किलोमिटर १ सय मिटर लामो पेनस्टक पाइपलाइन जडान गरिने अध्यक्ष भण्डारीले बताए।

५ सय ४८ मिटर उचाइबाट विद्युतगृहमा पानी खसालेर उत्पादन गरिने विद्युत् ७ किलोमिटर लामो प्रशारण लाइन बनाएर डाडाखेत सबस्टेशनमा लगेर राष्ट्रिय प्रशारण प्रणालीमा आवद्ध गराइनेछ। सम्भाव्यता अध्ययन, प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन, विद्युत् खरिद बिक्री सम्झौता, जग्गा खरिद र वित्तीय स्रोत व्यवस्थापनको काम सकेर पूर्वाधार निर्माण थालिएको हो।

विसं २०८३ को फागुनभित्र विद्युत् उत्पादन गर्ने कार्यतालिका छ। रन अफ द रिभर (नदी प्रवाहमा आधारित) प्रकृतिको यो आयोजना निर्माणमा करिब १ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ। रासस