कोशीमा लगानी सम्मेलन : पौने २ खर्बका परियोजना सोकेसमा, ‘ढुक्क भएर लगानी गरे हुन्छ’

बिजमाण्डू
२०८२ बैशाख १८ गते १५:०६ | May 1, 2025
कोशीमा लगानी सम्मेलन : पौने २ खर्बका परियोजना सोकेसमा, ‘ढुक्क भएर लगानी गरे हुन्छ’


विराटनगर। कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा लगानी सम्मेलन सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले २ दिने लगानी सम्मेलन बिहीबार उद्घाटन गरे।

Tata
GBIME
NLIC

कोशी सरकारले १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ लागतका उत्पादनमूलक उद्योग, जलविद्युत्, पर्यटन लगायत विभिन्न ८ क्षेत्रका ७१ वटा परियोजनालाई सोकेसमा राखि लगानी सम्मेलन गरेको हो।

सोकेसमा राखिएका परियोजनामध्ये सबैभन्दा धेरै औद्योगिक क्षेत्रका छन्। यो क्षेत्रमा ७० अर्बका ९ वटा परियोजना सोकेसमा राखिएका हुन्। जसमध्ये ३२ अर्बको उदयपुर क्लिंकर प्रोजेक्ट सबैभन्दा ठूलो हो।

सुनसरी र उदयपुरलाई छुने गरी २६ अर्बको ग्रिन हाइड्रोजन एन्ड फर्टिलाइजर प्रोजेक्ट पनि सोकेसमा राखिएको छ।

पर्यटन क्षेत्रका ३६ अर्ब बराबरका १५ वटा परियोजना सोकेसमा राखिएका छन्। यो क्षेत्रमा सबैभन्दा ठूलो परियोजना ताप्लेृजुङ–इलाम पोड–वे हो जसको लागत २५ अर्ब अनुमान गरिएको छ।

त्यस्तै ३२ अर्बका १४ वटा परियोजना पूर्वाधार क्षेत्रसँग सम्बन्धित छन्। कृषि क्षेत्रमा ३ अर्ब ८ करोडका ९ वटा र ऊर्जा क्षेत्रमा ३ अर्बका २ वटा योजना छन्।

हिक्मतकुमार कार्की

प्रदेश सरकारले ती परियोजनामा लगानीकर्तालाई आकर्षित गर्न विभिन्न ८ वटा ऐनमा संशोधन गरिएको जानकारी दिएको छ। वन, पर्यटन, औद्योगिक व्यवस्था, यातायात, लगानी प्राधिकरण लगायत ऐनमा संशोधन गरिएको हो।

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसअघि केन्द्र सरकारले अध्यादेशमार्फत् गरेको ऐन संशोधनले पनि लगानीको वातावरण बनेको बताए।

प्रधानमन्त्री ओलीले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेको भन्दै ढुक्क भएर लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरे।

‘वर्तमान समयमा सडक, पुललगायत पूर्वाधार निर्माण भइसकेकाले सबै लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्नुहुन्छ। सरकारका तर्फबाट कुनै समस्या पर्न दिने छैनौं। आवश्यक समन्वय गर्न सरकार तयार छ,’ उनले भने, ‘हामी अब कच्चा पदार्थ पनि ल्याएर गुणस्तरीय वस्तु उत्पादनमा केन्द्रित हुनु जरुरी छ।’

केपी शर्मा ओली

ओलीले उत्पादित सामग्री कोशी प्रदेशका विभिन्न कोरिडोर र नाकामा लैजान सक्नेगरी सडक पूर्वाधार निर्माण भइसकेकाले बजारीकरणमा समस्या नहुने बताए।

उनले युवाहरुलाई रोजगारीको खोजीमा भौंतारिनुको साटो उद्यमशीलतातर्फ लाग्न आग्रह गर्दै त्यसका लागि सरकारले सहयोग गर्ने आश्वासन दिए।

‘म युवाहरूलाई भन्न चाहान्छु, रोजगारीको खोजीमा नभौँतारिनुस्। उद्यमशीलतामा लाग्नुस्। त्यसका लागि सोच, तालिम र सीप विकासमा सरकारले सहयोग गर्नेछ,’ उनले भने।