
काठमाडौं। नारायणघाट-बुटवल सडक विस्तारको कामलाई तीव्रता दिइएको छ। यो सडकमा पछिल्लो महिना लक्ष्यभन्दा धेरै काम भएको छ।
अप्रिल महिनामा ३.२६ प्रतिशत काम गर्ने लक्ष्य लिएकामा ३.६३ प्रतिशत काम भएको आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार यो मासिक प्रगतिदर ७५ महिनायताकै धेरै हो। यसअघि यो आयोजनामा मासिक २ प्रतिशतभन्दा बढीका दरले काम हुन सकेको थिएन।
आयोजनामा अहिलेसम्म ६४ प्रतिशत काम भएको छ। ११३ किलोमिटर लामो सडकको करिब ८२ प्रतिशत भागमा एकतर्फी कालोपत्रे गरिएको छ। सबैभन्दा जटिल मानिएको दाउन्नेमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरेर काम भइरहेको छ।
अरुणखोला-दुम्कीबास खण्डमा कालोपत्रे सकिएको छ। दुम्कीबासको विनयी खोला पुलमा २० वटा ग्रिडर इरेक्सनको काम भइरहेको आयोजनाले जनाएको छ। विनयी खोला पुल वर्षा अगावै सञ्चालनमा ल्याउने आयोजनाको तयारी छ।
मे महिनामा अप्रिलको तुलनामा अज बढी काम हुने आयोजनाका इन्जिनियरहरुले बताएका छन्।