गोदावरीमा अन्तरपालिका फुटबल : आयोजना लागत १ करोड ९ लाख, पुरस्कारको राशि कति?

बिजमाण्डू
२०८२ बैशाख १४ गते १५:१२ | Apr 27, 2025
गोदावरीमा अन्तरपालिका फुटबल : आयोजना लागत १ करोड ९ लाख, पुरस्कारको राशि कति?


काठमाडौं। उपत्यकाव्यापी अन्तरपालिका खुल्ला गोदावरी मेयर कप वैशाख २० गतेबाट सुरु हुने भएको छ। काठमाडौं उपत्यकाका स्थानीय तहहरुको सहभागिता रहने प्रतियोगिताका लागि १ करोडभन्दा बढीको लागत लाग्ने गोदावरी नगरपालिकाको आकलन छ।

Tata
GBIME

यो प्रतियोगितामा स्थानीय तहका टोलीहरु हुनेछ। यसमा राष्ट्रिय खेलाडीले पनि सहभागिता जनाउन पाउनेछन् तर उनीहरु सोही स्थानीय तहका बासिन्दा हुनुपर्ने गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बताए।

प्रतियोगिताका लागि हालसम्म ११ वटा टोलीले दर्ता गराइसकेका छन्। खेलको ढाँचा कस्तो हुने भन्ने सहभागी टोलीको संख्याले निर्धारण गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको सहभागिता शुल्क २५ हजार रुपैयाँ छ। २१ वटा स्थानीय तहलाई आह्वान गरेको आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ।

गोदावरी नगरका मेयर गजेन्द्र महर्जनले प्रतियोगिताको लागत १ करोड ९ लाख रुपैयाँ भएको बताए। उनका अनुसार यसमा गोदावरी नगरपालिकाको २५ लाख रुपैयाँ लागत रहने छ भने बाँकी रकम प्रायोजक खोजेर जुटाइने छ।

खेलहरु गोदावरी बहुद्देश्यीय रंगशालामा हुनेछन्। तर, मौसम प्रतिकूल रहेको खण्डमा केही खेल च्यासल रंगशालामा पनि हुन सक्नेछ। गएको पुसमा सरकारले गोदावरी रंगशाला निर्माणका लागि ३.४५ हेक्टर वनको जग्गा प्रयोग गर्न अनुमति दिएको थियो।

यो रंगशाला निर्माणका लागि गोदावरी नगरपालिकाले ३ करोड रुपैयाँ छुट्याएको छ भने अखिल नेपाल फुटबल संघ (एन्फा)ले १ लाख ३६ हजार अमेरिकी डलर छुट्याएको छ। १५ हजार क्षमताको रंगशाला निर्माणका लागि प्रदेश र केन्द्र सरकारसँग पनि बजेट माग्ने तयारी छ।