
काठमाडौं। बिपी राजमार्ग पुर्ननिर्माणका लागि काभ्रेतर्फ एउटा खण्डको ठेक्का लागेको छ।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार चारसयबेसीदेखि डालाबेसीसम्म ८.५ किलोमिटर खण्ड सडक पुनर्निर्माणका लागि थानी/एवान/कमलजित जेभीले ठेक्का पाएको हो।
कार्यालयले गत चैतमा टेण्डर आह्वान गरेकामा थानी/एवान/कमलजित जेभीले सबैभन्दा कम अर्थात १ अर्ब ४२ करोड रुपैयाँमा काम गर्न कबोल गरेको थियो।
अन्य कम्पनीले भन्दा कम रकममा काम गर्न प्रस्ताव गरेकाले थानी/एवान/कमलजित जेभी छानिएको कार्यालयले जनाएको छ। कार्यालयले यो खण्ड पुनर्निर्माणका लागि २ अर्ब रुपैयाँको लागत अनुमान गरेकामा थानी/एवान/कमलजित जेभीले २९ प्रतिशत कम रकम प्रस्ताव गरेर ठेक्का पाएको हो। यो खण्ड पुनर्निर्माणका लागि ११ वटा कम्पनीले प्रतिस्पर्धा गरेका थिए।
गत असोज दोस्रो साता रोशी खोलामा आएको बाढीका कारण बिपी राजमार्गको भकुण्डेबेसी-नेपालथोक खण्ड क्षतिग्रस्त भएकाले ३ वटा प्याकेजमा ठेक्का आह्वान गरिएको थियो।
काभ्रेतर्फ भकुण्डेबेसीदेखि चारसयबेसीसम्म ११.८ किलोमिटर, चारसयबेसीदेखि डालाबेसीसम्म ८.५ किलोमिटर र सिन्धुलीतर्फ बर्खेखोलादेखि नेपालथोकसम्म ४ किलोमिटर सडक पुनर्निर्माण गर्न लागिएको छ। दुई खण्ड पुनर्निर्माणका लागि परेकोआवेदनमाथि सडक विभागले अध्ययन गरिरहेको छ।
बर्खेखोलादेखि नेपालथोकसम्म ४ किलोमिटर सडक पुनर्निर्माणका लागि पनि ११ कम्पनीले भाग लिएका छन्।
अप्ठ्यारो रहेको डालाबेसीदेखि बर्खेखोलासम्मको ५.५ किलोमिटर सडक पुननिर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पैसा दिनेछ।