
काठमाडौं। नेपाल र भारतबीच ४०० केभी क्षमताका दुई अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि सम्झौता भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र भारतका विद्युत् तथा आवासमन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो।
गत माघमा दुई देशका ऊर्जा सचिव स्तरीय बैठकको सहमति अनुसार सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका निर्देशक कमल आचार्य र भारतका पावर ग्रीड लिमिटेडका निर्देशक डा. यतिन्द्र दुवेदीले हस्ताक्षर गरे।

सम्झौता अनुसार इनरुवा–न्यू पूर्णिया र दोधारा (लम्की) –बरेली प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी गठन गरिने छ। जसमा नेपालको ५१ र भारतको ४९ प्रतिशत सेयर स्वामित्व हुने छ।
सहकार्यको नयाँ अध्याय
कार्यक्रममा ऊर्जामन्त्री खड्काले नेपाल–भारत ऊर्जा सहकार्यलाई साझा समृद्धिको प्रतीकका रूपमा व्याख्या गरे। प्रसारण लाइन केवल संरचना मात्र नभई आपसी विश्वास र दिगो विकासको साझा यात्रा भएको उल्लेख गरे।
खड्काले अरुण–३, लोअर अरुण, अरुण–४, फुकट कर्णाली, अपर कर्णाली, एसआर–६, र वेस्ट सेतीजस्ता ठूला जलविद्युत् परियोजनामा भारतको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे।

यस्तै मन्त्री खट्टरले ऊर्जा क्षेत्रमा भएको प्रगति भारत र नेपालको गहिरिँदो सम्बन्धको सेतु भएको उल्लेख गरे। उनले सन् २०२२ मा नेपाल–भारतबीच जारी गरिएको संयुक्त दृष्टिकोण पत्रको स्मरण गर्दै संयुक्त उत्पादन, सीमापार पूर्वाधार र विद्युत् व्यापारमा उल्लेखनीय प्रगति भएको बताए।
उनले गोरखपुर–बुटवल प्रसारण लाइन निर्माण सुरु भएसँगै नयाँ परियोजनाहरूले द्विपक्षीय ऊर्जा सुरक्षालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे। साथै, खट्टरले नेपाली विद्युत् भारत हुँदै बङ्गलादेश निर्यात हुनु ऐतिहासिक उपलब्धि भएको बताए।

इनरुवा–न्यु पूर्णिया प्रसारण लाइन नेपालतर्फ २५ र भारततर्फ १०० किलोमिटर दूरी रहने छ। दोधारा–बरेली प्रसारण लाइन नेपालतर्फ करिब ३५ र भारततर्फ १५० किलोमिटर रहने बताइएको छ। यी प्रसारण संरचनाले भारत–नेपाल विद्युत् कारोबारलाई सहज बनाउँदै ऊर्जा प्रवाहलाई भरपर्दो बनाउने छ।
संयुक्त कम्पनीमार्फत अगाडि बढाइने परियोजनाहरूले दुई देशबीचको परस्पर ऊर्जा निर्भरता सुदृढ पार्ने विश्वास गरिएको छ।