विद्युत् प्रसारणलाइन निर्माणमा नेपाल–भारतबीच ऐतिहासिक सहमतिः संयुक्त कम्पनीको सेयर संरचना र मोडालिटी टुंगियो

बिजमाण्डू
२०८१ माघ २९ गते २१:१७ | Feb 11, 2025
विद्युत् प्रसारणलाइन निर्माणमा नेपाल–भारतबीच ऐतिहासिक सहमतिः संयुक्त कम्पनीको सेयर संरचना र मोडालिटी टुंगियो

काठमाडौं। नेपाल र भारतबीच संयुक्त कम्पनी स्थापना गरेर दुई वटा प्रसारणलाइन बनाउने सहमति भएको छ। दुई देशका ऊर्जा सचिव स्तरीय बैठकले संयुक्त कम्पनी स्थापना, सेयर संरचना र निर्माण मोडालिटीमा सहमति गरेको छ। दुई देशको विद्युत् व्यापार सहजीकरणका लागि नयाँ सहमति भएको हो।

Tata
GBIME
NLIC

मंगलबार सम्पन्न सचिव स्तरीय बैठकले संयुक्त कम्पनी स्थापना गरी लम्की–बरेली र इनरुवा–पूर्णिया प्रसारणलाइन बनाउने सहमति गरेको छ।

प्रसारणलाइन निर्माणमा स्थापना हुने कम्पनीको सेयर मोडालिटी पनि टुंगिएको छ। जसअनुसार भारतमा स्थापना हुने कम्पनीमा भारतको पावर ग्रीड इन्डियाको ५१ र नेपाल विद्युत् प्राधिकरणको ४९ प्रतिशत सेयर स्वामित्व रहने छ। यस्तै, नेपालमा स्थापना हुने कम्पनीमा प्राधिकरणको ५१ र पावर ग्रीडको ४९ प्रतिशत स्वामित्व हुने छ।

सचिव स्तरीय बैठकले लम्की-बरेली प्रसारणलाइन सन् २०२८ देखि २०२९ सम्म निर्माण सम्पन्न गर्ने सहमति गरेको छ। यस्तै, इनरुवा–पूर्णिया प्रसारणलाइन सन् २०२९ देखि २०३० सम्म निर्माण सम्पन्नको लक्ष्य राखेको छ।

सचिव स्तरीय बैठकले चमेलिया-जोलजिबी प्रसारणलाइन सन् २०२७ को डिसेम्बरसम्म निर्माण सक्नेगरी सहमति गरेको छ। दुवै तर्फको संरचना आ–आफ्नो क्षेत्रभित्र आफैंले निर्माण सक्ने सहमति भएको छ। निर्माण सम्पन्नपछि चमेलियाका सम्पूर्ण आयोजनाको विद्युत् बिक्री यही प्रसारणलाइनबाट हुने छ। अहिले टकनपुर प्रसारणलाइनबाट बिक्री भइरहेको छ।

यस्तै, निजगढ-मोतिहारी र कोहलपुर-लखनऊ आयोजना सन् २०३५ मा निर्माण सक्नेगरी अध्ययन प्रक्रिया अघि बढाउने सहमति भएको छ।

बैठकले ढल्केबर मुजफ्फरपुर प्रसारणलाइनको कन्डक्टर फेरेर उच्च क्षमता विस्तारको सहमति भएको छ। सन् २०३५ सम्म दुवै देशबाट १५ देखि २० हजार मेगावाट विद्युत् आदानप्रदानको क्षमता विस्तार हुने जनाइएको छ।

यस्तै, बुटवल गोरखपुर प्रसारणलाइन अन्तर्गतको २२० केभीको क्षमता विस्तार नहुँदासम्म नेपालले गोरखपुरमा चार्ज गरेर विद्युत् निर्यातको अनुमति पाउने भएको छ।