आईपीयूमा निर्वाचित भएकामा सांसद गौतम र शाक्यले सभामुख र उपसभामुखसामु साटे खुशी

बिजमाण्डू
२०८२ बैशाख २ गते १६:०७ | Apr 15, 2025
आईपीयूमा निर्वाचित भएकामा सांसद गौतम र शाक्यले सभामुख र उपसभामुखसामु साटे खुशी


काठमाडौं। सांसद सोविता गौतम र डा अन्जान शाक्यले अन्तर–व्यवस्थापिका संघ (आईपीयू)को १५०औं महासभामा नेपालको प्रभावकारी सहभागिता रहेको भन्दै खुशी व्यक्त गरेका छन्।

Tata
GBIME
NLIC

आईपीयूको १५०औं महासभाबाट निर्वाचित सांसदहरु गौतम र डा. शाक्यले मंगलबार सिंहदरबारमा सभामुख र उपसभामुखसामु खुशी साटेका हुन्।

उज्ज्वेकिस्तानको राजधानी ताश्केन्टमा भएको सम्मेलनमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय सभा सदस्य डा. शाक्य आईपीयूको दिगो विकास स्थायी समिति सदस्यमा निर्वाचित भएकी थिइन्।

एसिया–प्रशान्त क्षेत्रबाट ३६ देशको प्रतिनिधित्व भए पनि निर्वाचनमा भने १५ वटा देशको मात्रै प्रतिनिधित्व थियो।

शाक्यले स्थायी समिति आईपीयूको महत्वपूर्ण अङ्ग भएकाले निर्वाचित हुँदा खुशी लागेको बताइन्।

स्थायी समितिको सञ्चालक समिति अन्तर्गत स्वास्थ्य समितिको सदस्यमा गौतम निर्वाचित भएकी थिइन्। गौतमले विभिन्न अन्योलका बीचमा प्राप्त गरेको सफलताले खुशी लागेको बताइन्।

शान्ति, प्रजातन्त्र, दिगो विकास र न्यायका लागि व्यवस्थापकीय कुटनीति तथा कार्ययोजना प्रवर्धन गर्ने उद्देश्यले सन् १८८९ मा स्थापना भएको आईपीयूमा नेपाल १९६७ देखि सदस्य छ।

कार्यक्रममा सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले गौमत र शाक्यलाई कार्यकालको सफलताको शुभकामना दिए।