प्रहरी हेडक्वाटरमा तीनवटै सुरक्षा निकायका प्रमुख सहितको बैठक, के भयो छलफल ?

बिजमाण्डू
२०८१ चैत्र २६ गते ०७:५३ | Apr 8, 2025
प्रहरी हेडक्वाटरमा तीनवटै सुरक्षा निकायका प्रमुख सहितको बैठक, के भयो छलफल ?


काठमाडौं । सोमबार प्रहरी प्रधान कार्यालय नक्सालमा तीन सुरक्षा निकायका अधिकारीहरुको बैठक बस्यो। आज बल्खुमा हुन लागेको राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोधसभा र पछिल्ला घटना क्रममा सो बैठक केन्द्रित थियो।

Tata
GBIME
NLIC

छलफलमा नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज पाण्डे सहित काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी टेकबहादुर तामाङ, काठमाडौं उपत्यकाभित्रका सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए।

सो बैठकमा तीनवटै निकायले चैत १५ गते तीनकुनेमा भएको घटनाको बारेमा समेत ब्रिफिङ गरेका थिए। बैठकमा सुरक्षा निकायमा भएका कमिकमजोरीलाई पनि केलाइएको थियो।

तीनवटा निकायको समन्वयमा समेत प्रश्न उठेकाले यस्ता विषयमा संयुक्तरुपमा कसरी अगाडी बढ्ने भन्ने विषयमा बैठकमा छलफल भएको प्रहरी अधिकृतले जानकारी दिए।

‘प्रहरीको मनोबल घट्न नदिनको लागि पनि त्यही अनुसार जानुपर्ने हुन्छ। भएको स्रोत साधनमा रहेर कसरी काम गर्ने भन्नेमा नै छलफल भयो,’ ती प्रहरी अधिकृतले भने।

बैठकमा प्रर्दशनलाई शान्तिपूर्ण बनाउन प्रहरीले पनि थप संयमता अपनाउनुपर्ने राय प्रहरी अधिकृतहरुले दिएका थिए।

पछिल्लो समय देशभर बढेको प्रर्दशन र जनताको आक्रोशले हिंसात्मक घटना बढ्न सक्ने भन्दै प्रहरी सतर्क रहनुपर्ने निष्कर्ष बैठकले निकालेको थियो।

आज हुने राप्रपाको प्रर्दशनलाई हेरेर करिब २५ सय हाराहारीमा प्रहरी परिचालन हुने भएको छ। जसमा बल्खु क्षेत्रमा सकेसक्म सर्भिसलेनमा भएपछि सवारी संचालनमा राख्ने र भिड बढेको खण्ड सवारी डाइभर्सन गर्ने नीति लिइएको छ। बल्खु क्षेत्रमा मात्र ५०० भन्दाबढी ट्राफिक खटाइने भएको छ।