स्पाइस जेटको दिल्ली-काठमाडौं उडान ६ वर्षपछि पुनः नियमित, शनिबार १४० यात्रु आए १७२ गए

बिजमाण्डू
२०८२ बैशाख २७ गते १३:३२ | May 10, 2025
स्पाइस जेटको दिल्ली-काठमाडौं उडान ६ वर्षपछि पुनः नियमित, शनिबार १४० यात्रु आए १७२ गए


काठमाडौं। भारतीय लो कस्ट वायुसेवा कम्पनी स्पाइस जेटले ६ वर्षपछि दिल्ली-काठमाडौं-दिल्ली नियमित उडान पुनः सुरु गरेको छ। शनिबार बिहान १४० यात्रुसहित स्पाइसको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको आधिकारिक जीएसए हिमालय ग्लोबल ट्राभल सर्भिसेसकी कमर्सियल डाइरेक्टर बन्नी श्रेष्ठले बताइन।

Tata
GBIME
NLIC

उनका अनुसार काठमाडौं-दिल्ली उडानतर्फ १७२ यात्रुले सेवा लिएका छन्। कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग साताको १४ वटा उडान अनुमति मागेको थियो। कम्पनीले सुरुमा साताको साताको ७ वटा व्यावसायिक उडान गर्ने उनले जानकारी दिइन।

स्पाइस जेटको जीएसए यसअघि जेनिथ ट्राभल थियो। स्पाइस जेटले नियमित व्यावसायिक उडान थालेपछि काठमाडौं-दिल्ली उडानमा वायुसेवाबीच प्रतिस्पर्धा बढेर हवाई भाडादर सस्तिने आकलन भइरहेको छ।

यो गन्तव्यमा हाल नेपाल वायुसेवा निगम, एयर इण्डिया र एयर इण्डिगोले नियमित व्यावसायिक उडान गर्दै आएका छन्। एयर इण्डियाले दैनिक ४, इण्डिगोले २ र नेपाल वायुसेवा निगमले एउटा उडान गर्ने गरेका छन्।

स्पाइस जेटले १८९ सिट क्षमताको बोइङ ७३७-८०० सिरिजको जहाजमार्फत उडान गर्नेछ।

सन् १९८४ मा स्थापना भएको स्पाइस जेट २०२४ मा भारतकै छैटौं ठूलो वायुसेवा कम्पनीमा सूचीकृत लो कस्ट वायुसेवा हो। कम्पनीले ६० वटा आन्तरिक र १३ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित व्यावसायिक उडान गर्दै आएको छ।