आन्तरिक राजस्व ३० अर्ब बढेपछि सरकार उत्साही, कर्पोरेट आयकरमा संकुचनले चाहिं के संकेत गर्छ?

मस्त केसी
२०८१ चैत्र १९ गते १२:३० | Apr 1, 2025
आन्तरिक राजस्व ३० अर्ब बढेपछि सरकार उत्साही, कर्पोरेट आयकरमा संकुचनले चाहिं के संकेत गर्छ?


काठमाडौं। सरकारले ८ महिनामा संकलन भएको आन्तरिक राजस्वलाई देखाएर अर्थतन्त्र चलायमान हुँदै गएको बताएको छ। तर, जानकारहरुले खासगरी कर्पोरेट आयकर घट्नुले अर्थतन्त्र समस्यामै रहेको स्पष्ट भएको भन्दै सरकार उत्साही हुनुको अर्थ नभएको जवाफ दिएका छन्।

Tata
GBIME
NLIC

आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष फागुनसम्म पोहोरको सोही अवधिको तुलनामा ३० अर्ब बढी राजस्व उठाएको छ। विभागले गत आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा ३ खर्ब १६ अर्ब ४१ करोड रूपैयाँ संकलन गरेकामा यस वर्ष फागुनसम्म ३ खर्ब ४६ अर्ब ९२ करोड रुपैयाँ संकलन गरेको हो।

सरकारले आन्तरिकतर्फ चालु आर्थिक वर्ष ४ खर्ब ८ अर्ब ६५ करोड राजस्व उठाउने लक्ष्य राखेकामा फागुनसम्म वार्षिक लक्ष्यको ८४ प्रतिशत संकलन भएको छ। ८ महिनाको संकलनबाट विभाग लक्ष्यभन्दा बढी आन्तरिक राजस्व संकलन हुनेमा आशावादी छ।

विभागका महानिर्देशक मदन दहालले वर्षको अन्तिम चौमासमा आर्थिक गतिविधि बढ्ने भएकाले लक्ष्यभन्दा बढी आन्तरिक राजस्व संकलन हुने बताए।

‘आवको अन्तिम चौमासिकमा अर्थतन्त्र बढी चलायमान हुने, सरकारी खर्च बढी हुने लगायत कारण चालु आवमा लक्ष्यभन्दा बढी आन्तरिक राजस्व संकलन हुन्छ,’ उनले भने।

कर्पोरेट आयकरमा संकुचन

तर, आयकरतर्फको वृद्धि भने उत्साहजनक छैन। विभागका अनुसार यो वर्ष फागुनसम्म १ खर्ब ४५ अर्ब ३४ करोड आयकर संकलन भएको छ। जुन वार्षिक लक्ष्यको ७८ प्रतिशत हो।

गत वर्ष फागुनसम्म १ खर्ब ३७ अर्ब ७३ करोड अर्थात् लक्ष्यको ९० प्रतिशत आयकर संकलन भएको थियो। रकमका हिसाबले ८ अर्ब बढी संकलन भए पनि लक्ष्यमा गत आवको तुलनामा आयकर संकलन १२ प्रतिशत कम हो।

कर्पोरेट आयकर ११.१९ प्रतिशतले घटेको छ। चालु आवको फागुनसम्म कर्पोरेट आयकर ६६ अर्ब ७० करोड ९० लाख संकलन भएको छ।

वस्तु व्यापारबाट सर्वाधिक आयकर तिरेबापत भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङलाई सम्मान गर्दै अर्थमन्त्री विष्णु पौडेल। फाइल तस्वीर

व्यक्तिगत आयकर १८.५२ र लगानी आयकर ३.८२ प्रतिशतले बढेको विभागको तथ्यांक छ। त्यस्तै व्यक्तिगत आयकर ६६ अर्ब ३८ करोड १२ लाख र लगानीबाट ३६ अर्ब ५५ करोड रुपैयाँ संकलन भएको छ।

फागुन महिनामा मात्रै विभागले १४ अर्ब ४२ करोड आयकर उठाउने लक्ष्य राखेको थियो। तर, ११ अर्ब ७० करोड मात्रै संकलन भएको छ।

कर मामिलाका जानकार पूर्वअर्थसचिव विद्याधर मल्लिक आयकरको वृद्धिदर २० र समग्र राजस्व ३० प्रतिशतभन्दा बढी भए मात्रै नेपालजस्तो मुलुकको अर्थतन्त्र सही दिशामा भएको मान्न सकिने बताउँछन्। ‘आयकरको रकम थोरै बढे पनि वृद्धिदर उत्साहजनक होइन। यसमा झन् कर्पोरेट आयकर घट्नु चिन्ताको विषय हो।’

मल्लिक कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिका अध्यक्ष समेत हुन्। उनले एक वर्ष पहिले तत्कालीन अर्थमन्त्री वर्षमान पुनलाई प्रतिवेदन बुझाएका थिए।

वर्षमान पुनलाई प्रतिवेदन बुझाउँदै समितिका अध्यक्ष विद्याधर मल्लिक लगायत। फाइल तस्वीर

फागुन महिनामा कर्पोरेट आयकर २ अर्ब ८८ करोड संकलन भएको छ। त्यस्तै व्यक्तिगत आयकर ७ अर्ब ७८ करोड र लगानीबाट प्राप्त हुने आयकर २ अर्ब १८ करोड २१ लाख संकलन भएको विभागको तथ्यांक छ।

फागुनमा मात्रै कर्पोरेट आयकरतर्फ सरकारी संस्थानबाट प्राप्त हुने आयकर नै ५३ प्रतिशत कम संकलन भएको छ। पब्लिक लिमिटेड कम्पनीको ६८, अन्य कम्पनीको १३ र इन्टिटितर्फबाट प्राप्त हुने आयकर ६० प्रतिशतले घटेको छ।

‘आयकरको वृद्धिदर लक्ष्यअनुसार नहुनु वा कम संकलन हुनु भनेको साना व्यवसाय, फर्म वा व्यक्तिहरूले कम आम्दानी गरिरहेका छन् वा नयाँ साना व्यवसाय खुलेका छैनन् भन्ने हो,’ मल्लिकले भने।

अन्तःशुल्कमा बियरको योगदान धेरै

आन्तरिक उत्पादनतर्फ मदिरा, बियर, सूर्तिजन्य पदार्थ र केही औद्योगिक उत्पादनमा अन्तःशुल्क लाग्दै आएको छ। चालु आवको फागुनसम्म अन्तःशुल्क समग्रमा २० प्रतिशतले बढेको छ। गत आवको फागुनसम्म ६२ अर्ब ८१ करोड ८५ लाख अन्तःशुल्क संकलन गरेको विभागले यो वर्ष ८ महिनामा ७५ अर्ब ५७ करोड ७६ लाख उठाएको छ।

विभागका अनुसार बियरबाट प्राप्त हुने अन्तःशुल्क ३२, मदिराबाट प्राप्त हुने २७ र अन्य औद्योगिक उत्पादनबाट संकलन हुने अन्तःशुल्क १५.४९ प्रतिशतले बढेको छ। सूर्तिजन्य पदार्थबाट प्राप्त हुने अन्तःशुल्क ४ प्रतिशतले बढेको छ।

फागुनसम्म ७५ अर्ब ५७ करोड ६२ लाख अन्तःशुल्क संकलन गरेर विभागले वार्षिक लक्ष्यको ९५ प्रतिशत पूरा गरिसकेको छ। फागुनमा मात्रै ९ अर्ब ९६ करोड अन्तःशुल्क संकलन भएको हो।

अन्तःशुल्कमा सबैभन्दा बढी योगदान बियरको छ। ८ महिनामा बियरबाट २३ अर्ब ३० करोड ८५ लाख अन्तःशुल्क संकलन भएको छ। त्यस्तै मदिराबाट २० अर्ब ३२ करोड ४१ लाख, सूर्तिजन्य पदार्थबाट १७ अर्ब ८४ करोड ७२ लाख र औद्योगिक उत्पादनबाट १४ अर्ब ९ करोड रुपैयाँ संकलन भएको छ।

अन्तःशुल्कका शीर्षक र यसको दर हरेक वर्ष थपिने भएकाले वृद्धिले उत्साहित हुनुपर्ने अवस्था नरहेको मल्लिक बताउँछन्। ‘नयाँ उद्योगधन्दा वा उत्पादन थपिएर वृद्धि भएको भए राजस्वका हिसाबले सही मानिन्थ्यो। अन्तःशुल्क वृद्धि हुनुको एउटै कारण हरेक वर्ष यसको दर बढ्नु नै हो,’ उनले भने।

भ्याट उत्पादनमूलक उद्योगको १२ प्रतिशतले बढ्दा ठेक्का र परामर्शको स्थिर

आन्तरिक उत्पादनतर्फ मूल्य अभिवृद्धि कर (भ्याट) सामान्य वृद्धि भएको छ। विभागका अनुसार फागुनसम्म ८७ अर्ब ५७ करोड भ्याट संकलन भएको छ। यो वार्षिक लक्ष्यको ८७ प्रतिशत हो।

गत आवको फागुनसम्म लक्ष्यको ८० प्रतिशत अर्थात् ७५ अर्ब ३७ करोड भ्याट संकलन भएको थियो। फागुनमा मात्रै ११ अर्ब ३५ करोड २९ लाख भ्याट संकलन भएको छ।

८ महिनामा भ्याट पर्यटन क्षेत्रतर्फ ३१, उत्पादनमूलक क्षेत्रतर्फ १२, वस्तु बिक्री तथा वितरणतर्फ १२.६८ र परामर्श तथा ठेक्कातर्फ ०.६७ प्रतिशतले बढेको छ।

सञ्चार, बीमा, नागरिक उड्डयन लगायत क्षेत्रबाट प्राप्त हुने भ्याट ४९.५६ प्रतिशत बढेको छ भने रिभर्स चार्जमा लाग्ने भ्याट भने १.२२ प्रतिशतले बढेको छ। समग्रमा ८ महिनामा भ्याट संकलन १६ प्रतिशतले बढेको छ।

घट्यो टेलिफोन राजस्व

अन्य शीर्षकबाट प्राप्त हुने राजस्व समग्रमा ३९ प्रतिशतले बढेको छ। यसअन्तर्गत सबै शीर्षकको कर बढेको भए पनि टेलिफोन शुल्कबाट प्राप्त हुने कर भने २७ प्रतिशतले घटेको छ। गत आवको ८ महिनामा १ अर्ब १ करोड उठेको टेलिफोन कर यो वर्ष सोही अवधिमा ७४ करोडमा सीमित भएको छ।

यो फागुनसम्म विभागले अन्य शीर्षकबाट ७ अर्ब ६५ करोड ६६ लाख कर उठाएको छ। यो शीर्षकमा गत आवको ८ महिनामा ५ अर्ब ४९ करोड ८५ लाख कर उठेको थियो।

अन्य क्षेत्रको शीर्षकअन्तर्गत सरकारले डिजिटल सेवा कर, लक्जरी कर, बाह्य पर्यटक शुल्क, वैदेशिक रोजगार शुल्क, दूरसञ्चार सेवा कर उठाउने गरेको छ। डिजिटल सेवा कर ८५० प्रतिशतले बढेको छ। गत आवको फागुनसम्म यो शीर्षकबाट ५१ लाख ५५ हजार कर उठेकामा चालु आवको सोही अवधिमा ४ करोड ९० लाख संकलन भएको छ।

विदेशी पर्यटकबाट यसपालि ८ महिनामा ४ करोड २० लाख उठेको छ। जुन गत आवको सोही अवधिको तुलनामा २०० प्रतिशत बढी हो। विभागका अनुसार वैदेशिक रोजगार सेवाबाट प्राप्त हुने कर १६५ र दूरसञ्चार सेवा कर ७ प्रतिशतले बढेको छ।

विभिन्न शीर्षकमा संकलन भएकोकरलाई देखाएर विभागका महानिर्देशक दहाल आन्तरिक बजार सुधारोन्मुख र चलायमान हुँदै गएको बताउँछन्।

तर, पूर्वअर्थसचिव मल्लिक त्यसमा सहमत छैनन्। मल्लिक आन्तरिकतर्फको कर संकलन लक्ष्यअनुुसार प्राप्त हुँदैमा समग्र अर्थतन्त्र चलायमान भयो भन्न नमिल्ने बताउँछन्।

‘कुन शीर्षकको अवस्था कस्तो छ भन्ने महत्त्वूर्ण हो। भ्याट र आयकरको वृद्धि खासै उत्साहजनक देखिँदैन। यो भनेको व्यवसाय गर्ने र आम्दानी गर्ने व्यक्ति बढेका छैनन् भन्ने संकेत हो। यो राम्रो होइन,’ उनले भने।