एनएसएल : दुई संस्करणमा लय समात्न नसकेको चितवन पोखरासँग भिड्दै

बिजमाण्डू
२०८१ चैत्र १८ गते १३:३३ | Mar 31, 2025
एनएसएल : दुई संस्करणमा लय समात्न नसकेको चितवन पोखरासँग भिड्दै


काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज एफसी चितवन र पोखरा थण्डर्स आमनेसामने हुँदैछन्। लिगको तेस्रो खेलमा आज चितवन र पोखरा आमनेसामने हुन लागेका हुन्।

Tata
GBIME

चितवन र पोखरा हालसम्म दुईपटक आमनेसामने भएका छन् जसमा पोखराले दुवै पटक बाजी मारेको छ। आजको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ। खेलको टिकट शुल्क साधारणतर्फ ३०० र भीआईपीएतर्फ ६०० रुपैयाँ तोकिएको छ।

एनएसएलको सुरुवाती दुई संस्करणमा प्रभावशाली प्रदर्शन गर्न नसकेको चितवनले यसपाला प्रशिक्षकदेखि मार्की खेलाडीसम्म परिवर्तन गरेको छ। अघिल्लो संस्करण खेलेका घानाका टोरिक जेब्रिनलाई फेरि अनुबन्धित गरेको चितवनले एसियादेखि अमेरिकासम्मका खेलाडीलाई ल्याएको छ।

उज्बेकिस्तानका युवा खेलाडी नोदिरबेक माभलोनोभ यसपाला चितवनबाट एनएसएल खेल्दैछन्। उनले एसियाका शीर्ष डिभिजनहरुमा खेलिसकेका छन्। त्यस्तै, अमेरिकी डिफेन्डर जोनाथन क्याम्पबेल पनि चितवनमा अनुबन्धित भएका छन्।

गोलकिपरमा जमैकाका अमल नाइट अनुबन्धित भएका छन्। राष्ट्रिय टोलीको समेत अनुभव बटुलेका उनको जमैका र अमेरिकाका लिगमा अनुभव छ। राष्ट्रिय स्तरमा भरपर्दा गोलकिपर विशाल श्रेष्ठ पनि चितवनसँग छन्।

अक्सनमा चितवनले २१ लाख ५० हजार खर्चिएको थियो।

अक्सनअघि चितवनले ‘ए’ क्याटागोरीका विशाल श्रेष्ठ तथा ‘बी’ क्याटागोरीका छिरिङ गुरुङ र रोशन रानामगरलाई रिटेन गरेको थियो।

विशालसँगै ‘ए’ क्याटागोरीका अभिषेक लिम्बू र सुमित श्रेष्ठ तथा ‘बी’ क्याटागोरीका छिरिङ र रोशनसँगै निरज चौधरी, मिलन राई, शिशिर लेखी र जय गुरुङ चितवनसँग छन्। ‘सी’ क्याटागोरीबाट चितवनले विवेक गुरुङ, शिशिर चौधरी, विशाल स्याङतान र प्रदीप भण्डारीलाई अनुबन्ध गरेको थियो।

अर्कोतर्फ एनपीएल अक्सनमा बुटवलपछि कम खर्च गर्ने टोली हो पोखरा थण्डर्स। उसले १७ लाख ७५ हजार रुपैयाँ खर्चँदा ४ लाख २५ हजार रुपैयाँ उबार्‍यो।

पोखराले ‘ए’ समूहमा आयुष घलान,  सुरज सिंह ठकुरी र एनआरएनका खेलाडीलाई लिने निर्णय गर्‍यो। त्यस्तै ‘बी’ समूहका पदम भट्टराई, राम थापा, चन्दन दास, विशाल तामाङ, कृसल मोक्तान र एकराज बुढाथोकी पोखरा पुगेका थिए। अक्सनमा अनसोल्ड भएक नवयुग श्रेष्ठले ‘बी’ श्रेणीका राम थापालाई ‘रिप्लेस’ गर्दै कप्तान बनेका छन्।

‘सी’ समूहबाट नरेन चौधरीलाई पोखराले रिटेन गर्दा गौरव श्रेष्ठ, सकल रेग्मी र प्रवीणकुमार सुनार पोखरामा ड्राफ्ट भए। विदेशी खेलाडीमा पोखरासँग स्टेफेन बिनोङ, जो ऐडू, गोलकिपर प्रिसो, सइदोस्तन जाफरोभ र बिआस्सी न्याकवे छन्।