आईपीएल : दुई हारपछि राजस्थानको पहिलो जित, धोनीको चेन्नइ फेरि पराजित

बिजमाण्डू
२०८१ चैत्र १७ गते २३:५० | Mar 30, 2025
आईपीएल : दुई हारपछि राजस्थानको पहिलो जित, धोनीको चेन्नइ फेरि पराजित
चेन्नइका महेन्द्रसिंह धोनी। तस्बिर: आईपीएल


राजस्थान रोयल्सले जारी संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो जित निकालेको छ। लगातार सुरुवाती दुई खेलमा पराजय ब्यहोरेको राजस्थानले आज सम्पन्न खेलमा चेन्नइ सुपर किंग्सलाई हराउँदै जितको खाता खोलेको हो।

Tata
GBIME
NLIC

गुवाहटीस्थित वर्षापारा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८२ रन बनाएको थियो। राजस्थानका लागि नितिश रानाले सर्वाधिक ८१ रन बनाउँदा कप्तान रियान परागले ३७, सञ्जु सामसनले २० तथा शिमरन हिटमायरले १९ रन बनाए।

बलिङतर्फ चेन्नइका खलिल अहमद, नूर अहमद र मथिसा पथिरानाले समान २ विकेट लिँदा रविचन्द्रन अश्विन र रवीन्द्र जडेजाले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको चेन्नइ ६ विकेट गुमाएर १७६ रनमा समेटियो। चेन्नइका लागि कप्तान रुतुराज गाइक्वडले सर्वाधिक ६३ रन बनाउँदा रवीन्द्र जडेजाले अविजित ३२, राहुल त्रिपाठीले २३ र शिवम दुबेले १८ रनको योगदान दिए। त्यस्तै महेन्द्रसिंह धोनीले १६ रन बनाए।

बलिङतर्फ राजस्थानका वानिन्दु हषरंगाले सर्वाधिक ४ विकेट लिँदा जोफ्रा आर्चर र सन्दीप शर्माले समान १ विकेट लिए।

योसँगै तीन खेल खेलेको राजस्थान रोयल्सले पहिलो जित निकालेको छ। यसअघि राजस्थान सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो। अर्कोतर्फ चेन्नइले पनि तीन खेल खेल्दा यो दोस्रो हार हो। यसअघि रोयल च्यालेन्जर्स बेङ्ग्लुरुसँग पराजित चेन्नइले मुम्बई इण्डियन्सलाई हराएको थियो।

सोमबार हुने खेलमा मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स आमनेसामने हुनेछन्।